एनसेल छैटौँ टाइगर कपमा विदेशी सहित महिला तर्फ ५ र पुरुष तर्फ ६ टिम सहभागि हुने, शुक्रबार हुने उद्घाटन खेलमा गण्डकी र एपिएफ भिड्ने (खेल तालिका सहित)

-


     पोखरा क्लिक     
     माघ ७ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, ७ माघ,

पोखरामा शुक्रबार देखि राष्ट्रिय खेल भलिवलको महाकुम्भ सुरु हुने भएको छ । विगत ५ बर्ष देखि निरन्तर रुपमा संचालन हुदै आएको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता २०८२ अन्र्तगत यस बर्षको छैठौं संस्करण शुक्रबार देखि पोखरामा सुरु हुने भएको हो ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनमा यही माघ १७ गतेसम्म पोखरा रंगशालाको भलिवल ट्रेनिङ सेन्टरमा संचालन हुने उक्त प्रतियोगितामा महिला तर्फ ५ र पुरुष तर्फ ६ टोली सहभागी हुने भएको आयोजक संस्थाले पोखराक्लिकलाई जनाएको छ । संस्थाले आज (बुधबार) सार्वजनिक गरेको खेल तालिका अनुसार महिला तर्फ थाइल्याण्डको थाइल्याण्ड क्विन्स सहित ५ टोलीले प्रतिस्पर्धा गर्नेछन् भने पुरुष तर्फ माल्दिभ्सको राष्ट्रिय भलिबल टोली सहित ६ टोली मैदानमा उत्रिने छन्।

प्रतियोगिताका संयोजक कुमार गुरुङका अनुसार उद्घाटन दिन माघ ९ गते महिला र पुरुष दुवै तर्फ का ३ खेल हुनेछन्। महिला तर्फ बिहान ९ बजे टिपटप न्यू डायमण्ड स्पोट्र्स क्लब र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ।
त्यसैदिन पुरुष तर्फ त्रिभुवन आर्मी क्लब र माल्दिभ्स तथा उद्घाटन खेल दिउसो २ः?०० बजे पछि घरेलु टिम गण्डकी प्रदेश भलिबल संघ र नेपाल एपीएफ क्लबबीच खेल हुने भएको संस्थाका सचिव डिबी नेपालीले पोखराक्लिकलाई जनाए ।
महिला तर्फ विभागीय टोली एपीएफ, पुलिस र आर्मीका साथै डायमण्ड र थाइल्याण्ड क्विन्स गरी पाँच टोली सहभागी छन्। पुरुष तर्फ भने माल्दिभ्ससहित एपीएफ, पुलिस, आर्मी, गण्डकी प्रदेश भलिबल संघ र पर्वत जिल्ला भलिबल संघ गरी छ टोलीले प्रतिस्पर्धा गर्नेछन्। महिला तर्फ एभरेष्ट भलिबल क्लब सहभागी हुने तयारी गरे पनि प्राविधिक कारण अन्तिम समयमा सहभागि नहुने जनाएको छ ।

आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायणप्रसाद शर्माका अनुसार प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । “मैदान व्यवस्थापनदेखि आवास, यातायात र खेल तालिकासम्मका सबै काम लगभग सम्पन्न भइसकेका छन् ।” उनले भने । प्रतियोगिता राउन्ड रोबिन लिग प्रणालीमा सञ्चालन हुनेछ। सबै टोलीले एक–आपसमा खेलेपछि शीर्ष स्थानमा रहने टोलीहरूबीच प्लेअफ खेलमार्फत विजेता, उपविजेता र तेस्रो स्थान निर्धारण गरिने संयोजक कुमार गुरुङले जानकारी दिए ।
प्रतियोगितालाई लक्षित गर्दै पोखरा रंगशालामा यस वर्ष १० हजार दर्शक अट्ने स्काई फोल्डिङसहितको अस्थायी प्यारापिट निर्माण गरिएको आयोजकको दाबी छ । सह–संयोजक डोलराज पोखरेलका अनुसार प्रतियोगिताको प्रचार–प्रसार देशव्यापी रूपमा भइरहेको छ र दर्शकको उत्साह उल्लेखनीय देखिएको छ ।

करिब १ करोड ८० लाख रुपैयाँ खर्च अनुमान गरिएको यस प्रतियोगिताबाट हुने बचत रकम स्वास्थ्य, शिक्षा, खेलकुद तथा सामाजिक क्षेत्रमा लगानी गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा विजेता टोलीले ६ लाख ६६ हजार ६ सय ६६, उपविजेताले ३ लाख ६६ हजार ६ सय ६६ र तेस्रो हुने टोलीले रु २ लाख ६६ हजार ६ सय ६६ प्राप्त गर्नेछन्। त्यसैगरी सर्वोत्कृष्ट खेलाडी र विधागत उत्कृष्ट खेलाडीहरूलाई नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । एनसेलको मुख्य प्रायोजनमा उक्त प्रतियोगिता हुने भएको हो ।