
पोखरा,
पत्रकारद्धय त्रिभुवन पौडेल र अनिल शाहीको स्मृतिमा पोखरामा दिप प्रज्वलन गरिएको छ । २०७९ माघ १ गते पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परी पत्रकार त्रिभुवन र अनिल सहित ७२ जनाको निधन भएको थियो भने तेश्रो बर्षको स्मृतिमा पोखराको शहिदचोकमा दिप प्रज्वलन गरिएको हो ।

पोखरामा विहिबारबार साँझ शहिदचोकमा दीप प्रज्वलन गरिएको प्रेस सेन्टर नेपाल कास्कीका सचिव सरोज अधिकारीले बताउनु भयो । उक्त कार्यक्रममा पत्रकार सहित नेताहरुको समेत सहभागिता रहेको थियो । दुबै पत्रकारको स्मृतिमा पुष्प अपर्ण सहित दिप प्रज्जवलन गरी उहाँहरुको स्मरण गरिएको थियो ।

पत्रकार पौडेल नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य, पत्रकार महासंघ गण्डकीको संस्थापक अध्यक्ष तथा प्रेस सेन्टर नेपालको केन्द्रीय उपाध्यक्ष र गण्डकी प्रदेशको इन्चार्ज हुनुहुन्थ्यो भने शाही प्रेस सेन्टर नेपाल पोखरा महानगर कमिटीको सदस्य हुनुहुन्थ्यो । प्रेस सेन्टर नेपाल गण्डकी, कास्की, महानगर कमिटि तथा समाजवादी प्रेस संगठन नेपालको संयुक्त आयोजनामा विहिबार पोखरामा उक्त कार्यक्रम भएको हो ।

उक्त सभामा सम्बोधन गर्दै नेकपाका कास्की संयोजक विश्वप्रकाश लामिछानेले त्रिभुवन पौडेल भौतिक रुपमा नभए पनि उहाँले देखाएको बाटोमा हामीहरु हिड्नुपर्ने बताउनु भयो । पत्रकार पौडेल पत्रकारिता क्षेत्रमा मात्र नभई समानका हरेक क्षेत्रसंग नजिक भई प्रभाव पार्ने व्यक्तिको रुपमा आफुलाई स्थापित गराउन सफल भएको उहाँले दाबी गर्नु भयो । समाजबादी प्रेस संगठनका सल्लाहकार नवराज सुवेदीले त्रिभुवनले पत्रकार सहित समाजमा पारेको सकरात्मक प्रभावका कारण सधै उहाँ सबैको स्मरणमा रहने जनाउनु भयो ।
प्रेस सेन्टर नेपाल कास्की शाखाका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रेस सेन्टर नेपाल गण्डकीका उपाध्यक्ष सविना राना, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य कृष्ण थापा, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, प्रेस सेन्टर कास्कीका सहसचिव अर्जुन हिताङ लगायतले पौडेल र शाहीको निधनले पत्रकारिता क्षेत्रलाई अपूर्णक्षति भएको उल्लेख गर्दै उहाँहरुले देखाएको बाटो अपलम्बन गर्नुपर्नेमा जोड दिनु भयो ।
यति एयरलाइन्स विमान दुर्घटनामा परी निधन भएका ७२ जनाको स्मरणमा दुर्घटनास्थलमा बिहान मृतकका आफन्तले घटना स्थलमा पुगेर स्मरण समेत गर्नु भएको थियो । स्मृति सभा तथा दिप प्रज्वलन कार्यक्रममा साविक नेकपा माओबादीका केन्द्रिय सदस्य किरण थापा (अमोद) प्र्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य द्धय कृष्ण दवाडी र घनश्याम पाण्डे, स्व.पौडेलका धर्मपत्नी प्रतिभा अधिकारी, दाजु उत्तम पौडेल, ससुरा बाबा सुवास अधिकारी, प्रेस क्लव गण्डकीका अध्यक्ष एकराज गिरी, फोनिज कास्कीका अध्यक्ष विनु मर्सानी, समाजवादी प्रेस संगठन कास्कीका सचिव भिम थापा, प्रेस सेन्टर पोखरा महानगरका संस्थापक अध्यक्ष शिवराज वस्ताकोटी (शिवदाई), फोटो पत्रकार कृष्णमणि बराल लगायतको सहभागिता रहेको थियो ।





