
पोखरा, २६ पुस,
पोखरामा भोलि (आइतबार) ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइने भएको छ । नागरिक मूल समारोह समिति २०८२, कास्कीले (पुस २७ गते) कास्की जिल्लाका ५० भन्दा बढी सामाजिक, धार्मिक, शैक्षिक तथा पेशा–व्यवसायगत संघ–संस्थाहरूको सहभागितामा विविध कार्यक्रम सहित पृथ्वी जयन्ती मनाउने भएको जनाएको छ ।
आइतबार बिहान पञ्चेबाजा, भजन–चुड्का, झाँकी तथा नाचगानसहितको शोभायात्रा मानवअधिकार चोक (चिप्लेढुंगा) बाट शोभायात्रा सुरु हुने भएको छ भने नगरका विभिन्न भागको परिक्रमा गर्दै पृथ्वीचोक पुगेर मूल समारोहमा परिणत हुने भएको कार्यक्रम संयोजक भोलाजंग सुवेदीले पोखराक्लिकलाई बताउनु भयो ।
राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गरिनुका साथै प्राज्ञिक व्यक्तित्वहरूबाट उहाँको योगदान, राष्ट्रिय एकता र राष्ट्र निर्माणमा निर्वाह गर्नुभएको भूमिकामाथि विचार–विमर्श गरिने उहाँले जनाउनु भयो । मौलिक रैथाने इतिहासका ज्ञाता तथा अन्तर्राष्ट्रिय विश्व हिन्दु महासंघ धर्मसभाका अध्यक्ष गुरु वलभद्रनाथ योगीको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिने भएको छ । मार्गनिर्देशक ठाकुरप्रसाद बरालले नेपालको एकीकरणमा पृथ्वीनारायण शाहले पु¥याएको योगदान कहिल्यै भुल्न नहुने स्मरण गराउँदै इतिहासप्रति सम्मान र राष्ट्रिय एकताको भावना सुदृढ गर्न यस्ता कार्यक्रम आवश्यक रहेको बताउनु भयो ।
नागरिक मूल समारोह समिति कास्कीले राष्ट्रिय एकता दिवसका अवसरमा पोखरामा आयोजना हुने कार्यक्रममा सर्वसाधारणलाई समेत सहभागी भई राष्ट्रिय एकताको सन्देश फैलाउन आग्रह गरेको सचिव भूपेन्दू गिरीले बताउनु भयो । पृथ्वीनारायण शाहले विश्वको राजनीतिक मानचित्रमा नेपाललाई स्वतन्त्र, सार्वभौम र एकीकृत राष्ट्रका रूपमा स्थापित गर्न पु¥याउनुभएको योगदान अतुलनीय रहेको उहाँले स्मरण गर्नुभयो । पछिल्लो समयमा सरकारले पुस २७ गते सार्वजनिक बिदा दिने गरेको छ ।




