पोखरा ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले खुकुरी देखाउँदै स्थानीयलाई तर्साए पछि तवानको स्थितिमा प्रहरीले बचायो

-


     पोखरा क्लिक     
     पौष २५ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा २५, पुस,

पोखरा महानगरपालिका–३३ मा फोहोर व्यबस्थापनका लागि प्रस्तावित ल्याण्डफिल साइटलाई लिएर उत्पन्न विवादले उग्र रूप लिँदा वडाध्यक्ष रामचन्द्र अधिकारीले खुकुरी देखाउँदै स्थानीयलाई तर्साएको आरोप लागेको छ । घटनापछि वडाध्यक्ष अधिकारी प्रहरी नियन्त्रणमा रहनु भएको छ । तनावको स्थितिमा प्रहरीले उहाँलाई पक्राउ गरी बचाएको थियो । स्थानियले ढुंगा मुडा प्रहार गर्दै प्रहरी र वडाध्यक्षको गाडीमा समेत प्रहार गरेका थिए ।

पोखरा–३३ पुँडिटारमा ल्याण्डफिल साइट निर्माणको विरोधमा स्थानीयबासीले आज (शुक्रबार) वडा कार्यालय अगाडि शान्तिपूर्ण प्रदर्शन गर्दै कार्यालयमा तालावन्दी गरे पछि वडाध्यक्ष अधिकारीले अपशब्द प्रयोग गर्दै खुकुरी नचाएको प्रत्यक्षदर्शीले बताउनु भएको हो । वडाध्यक्षले हतियार देखाएपछि अवस्था झन तनावग्रस्त बनेको अर्जुन हिताङले बताउनु भयो । वडाध्यक्षले खुकुरी देखाउदै स्थानियको भिडलाई तर्साउन खोजे पछि वडाध्यक्ष अधिकारीलाइ प्रहरीले नियन्त्रणमा लिएको थियो। सो क्रममा आक्रोशित प्रदर्शनकारीले वडाध्यक्षको गाडी तोडफोड समेत गरेका छन् । गाडीमा आगो लगाउन खोजिएको तर प्रहरीले समयमै नियन्त्रणमा लिएको जनाइएको छ । उक्त घटनाको बिषयमा वडाध्यक्ष अधिकारीलाई मोवाइलमा सम्पर्क गर्दा घण्टी गए पनि उहाँले फोन उठाउनु भएन् ।

यस बिषयमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता (डिएसपी) हरिबहादुर बस्नेतले वडाध्यक्षलाई आवश्यक सुरक्षा दिन नियन्त्रणमा लिइएको जनाउनु भएको छ । वडाध्यक्षले स्थानियलाई खुकुरी देखाएर तर्साउन खोजेको बिषयमा खास कुरा हे हो भनेर प्रश्न सोध्दा प्रवक्ता बस्नेतले यस बिषयमा अनुसन्धान भइरहेको जनाउनु भयो । घटनापछि वडाध्यक्ष अधिकारीलाई छलफलका लागि जिल्ला प्रशासन कार्यालय लगिएको छ । प्रशासन कार्यालयभित्र छलफल चलिरहँदा बाहिर स्थानीयबासीले शान्ति सुरक्षा माग गर्दै प्रदर्शन गर्नु भएको छ । स्थानियले वडाध्यक्षलाई कडा कारबाही गर्नुपर्ने माग गर्नुु भएको छ ।

पोखरा महानगरपालिकाले पोखरा–३३ पुँडिटारमा ल्याण्डफिल साइट बनाउने उद्देश्यले मंसिर २ गते टेरासोल्भ रिन्युवल नेपाल प्रालिसँग सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा सम्झौता गरेको थियो। सम्झौताअनुसार कम्पनीले ८० करोड रुपैयाँ लगानी गरी २१ वर्षसम्म ल्याण्डफिल साइट व्यवस्थापन तथा प्रशोधन केन्द्र निर्माण गर्ने भएको छ । २६ महिनाभित्र प्रशोधन केन्द्र निर्माण गरिसक्ने र महानगरले ३० दिनभित्र जग्गा उपलब्ध गराउने सर्त उल्लेख गरेको थियो ।

परियोजनाअन्तर्गत स्थानीय १७ परिवारको नाममा लालपूर्जा भएको करिब ९६ रोपनी जग्गा महानगरले रोक्का गरेको छ । तर स्थानीयबासीले आफूहरूसँग कुनै सरसल्लाह नगरी परियोजना अघि बढाइएको आरोप लगाउँदै आउनु भएको छ । स्थानीयको भनाइमा ल्याण्डफिल साइट बनेमा स्वास्थ्यमा गम्भीर असर पर्ने, खोलाको पानी दूषित हुने र कृषि उत्पादनमा ह्रास आउने लगायतका जोखिम हुने तर्क गर्नु भएको छ । यसअघि पनि स्थानीयले महानगरपालिका, प्रशासन तथा जनप्रतिनिधिलाई भेटेर उक्त स्थानमा ल्याण्डफिल साइट उपयुक्त नभएको भन्दै ज्ञापनपत्र बुझाइसकेका छन्। २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्ष अधिकारी निर्वाचित हुनु भएको थियो ।