श्रीमान बेपत्ता भएको १९ वर्षपछि तीन सन्तानले पाए आमाको नामबाट नागरिकता

-


     पोखरा क्लिक     
     पौष २० गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, २० पुस,

श्रीमान बेपत्ता भएको १९ वर्षपछि कास्कीकी एक महिलाका तीन छोराछोरीले आमाको नामबाट नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले दाङसिङ निवासी करिब ३८ वर्षीया निरुता नेपालीका दुई छोरा र एक छोरीलाई नागरिकता वितरण गरेको हो।

जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार निरुताका श्रीमान विगत १९ वर्षदेखि सम्पर्कविहीन रहेकाले उनका छोराछोरीले लामो समयदेखि नागरिकता नपाएर अनेक समस्या झेल्दै आएका थिए । त्यसैका आधारमा आमाको नामबाट सिफारिस गरी नागरिकता वितरण गरिएको हो ।जिल्ला प्रशासन कार्यालयले २९ वर्षका सुजन नेपाली, २६ वर्षका दिनेश नेपाली र २१ वर्षीया सुस्मिता नेपालीलाई नागरिकता दिएको प्रशासनले पोखराक्लिकलाई जनाएको छ ।

मजदुरी गर्ने क्रममा २०५३ सालमा खोटाङका विक्रम राईसँग निरुताको १४ वर्षकै उमेरमा विवाह भएको थियो । विवाह भएको एक वर्षमै जेठो छोराको जन्म भएको र छोरी सुस्मिता डेढ वर्षकी हुँदादेखि नै श्रीमान सम्पर्कविहीन भएको निरुताले बताइन् । त्यसयता उनले दुःख–सुख सहँदै एक्लै तीन सन्तान हुर्काएकी हुन् ।आर्थिक अभावका कारण छोराछोरीलाई चाहेजस्तो शिक्षा दिन नसके पनि राम्रो रोजगारका लागि विदेश पठाउने चाहना रहेको निरुताले बताइन् । त्यसका लागि नागरिकता अत्यावश्यक भएकाले बनाउने प्रयास थालेको उनको भनाइ छ ।

दुई महिनाको अथक प्रयासपछि अन्ततः छोराछोरीले नागरिकता पाएपछि निरुताले खुसी व्यक्त गरिन् । “अब मेरा छोराछोरीले आफ्नो भविष्यका लागि केही गर्न सक्ने बाटो खुलेको छ,” उनले भनिन् । नागरिकता नहुँदा घरमा पटक–पटक झैझगडा हुने गरेको स्मरण गर्दै निरुताले अब बैंक खाता खोल्न, काम गर्न र विदेश जान पासपोर्ट बनाउन सहज हुने बताइन् । “अब नागरिकता भएपछि काम गर्ने बाटो खुलेको छ, बैंक खाता पनि खोल्न सकिने भयो, पासपोर्ट पनि छिट्टै बनाउनेछौं,” उनले भनिन् ।

ज्याला मजदुरी गरेर चार सन्तान हुर्काएकी निरुतालाई उनका छोराछोरीले अब आमालाई दुःख नदिई पालनपोषण गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । उनकी जेठी छोरी भने भारतमा आफन्तसंग बस्दै आएकी छन् । उनको विवाह दर्ता समेन नभएको बताइन्छ ।