अवार्ड जित्ने अब्बल पुरुष खेलाडीहरू

-


     पोखरा क्लिक     
     पौष २० गते २०८२ मा प्रकाशित


काठमाडौं, पुस २०,

पछिल्लो तीन दशकको नेपाली खेलकुद इतिहास पल्टाउँदा कुन खेल हाबी रह्यो को–को खेलाडी चम्किए रु यसको एकमुस्ट उत्तर खोज्न अन्यत्र जानु पर्दैन, एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्डको इतिहास हेरे पुग्छ ।

वर्ष खेलाडी पुरस्कारका रूपमा २०५३ सालमा सुरु भएको यो अवार्ड २०८२ साल आइपुग्दा २२औँ संस्करणमा प्रवेश गरेको छ, जुन यसपालि पोखरामा आयोजना हुँदैछ । हरेक वर्ष उत्कृष्ट प्रदर्शन गर्ने खेल र खेलाडीलाई केन्द्रमा राख्दै आएको यस अवार्डले नेपाली खेलकुदको समग्र प्रवृत्ति देखाउँदै आएको छ ।

उत्कृष्ट पुरुष खेलाडी अवार्ड जित्ने खेलाडीहरूको सूची हेर्दा आफैंमा रोचक र सनसनीपूर्ण तथ्यहरू देखिन्छन् । खेलकुदमा तथ्यांकको कथा जहिल्यै बेजोड हुने गर्छ । अहिलेसम्म आयोजना भएका २१ संस्करणमध्ये २०७७ साल विशेष रह्यो, किनभने त्यस वर्ष दशककै उत्कृष्ट खेलाडीको अवार्ड प्रदान गरिएको थियो । त्यसलाई छाडेर प्रत्येक संस्करणमा नछुटेका दुई अवार्डमध्ये एक उत्कृष्ट पुरुष खेलाडी पनि रहेको छ ।

तथ्यांकका आधारमा हेर्दा हालसम्म १५ खेलाडीले यो अवार्ड जितेका छन् । तीमध्ये क्रिकेटका पारस खड्का एक्लैले चार पटक अवार्ड जित्दै सबैभन्दा अगाडि छन् । उनले पहिलो पटक २०६६ सालमा अवार्ड जिते । त्यसपछि २०६९ र २०७० सालमा लगातार जिते भने २०७४ सालमा अन्तिम पटक यो सम्मान प्राप्त गरे । यही कारण २०७७ सालमा उनलाई दशककै उत्कृष्ट खेलाडीको अवार्ड प्रदान गरिनु पूर्णतः न्यायोचित मानिन्छ । यसले पछिल्ला वर्षहरूमा नेपाली खेलकुदमा उनको वर्चस्व कति बलियो थियो भन्ने पनि प्रस्ट पार्छ ।

पारसपछि एथलेटिक्सका राजेन्द्र भण्डारी र तेक्वान्दोका दीपक विष्टले दुई–दुई पटक वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका छन् । दीपक विष्ट त नेपाली खेलकुद इतिहासकै सबैभन्दा सफल खेलाडीका रूपमा चिनिन्छन् । एक–एक पटक यो अवार्ड जित्नेमा फुटबलका देवनारायण चौधरी, जुमनु राई, नवयुग श्रेष्ठ, किरण लिम्बू र अञ्जन विष्ट छन् । क्रिकेटबाटै अर्को खेलाडी विनोद दासले पनि यो अवार्ड जितेका थिए । पछिल्लो संस्करणमा क्रिकेटकै रोहित पौडेल वर्षको उत्कृष्ट पुरुष खेलाडी बनेका थिए ।

राजेन्द्र भण्डारीपछि एथलेटिक्सबाट लामो समयको अन्तरालमा दीपक अधिकारी यो विधाको विजेता बने । यसबाहेक बक्सिङका दीपक महर्जन, गल्फका शिवराम श्रेष्ठ, प्याराग्लाइडिङका युकेश श्रेष्ठ र करातेका मन्डेकाजी श्रेष्ठले पनि एक–एक पटक यो अवार्ड हात पारेका छन् । खेलको आधारमा हेर्दा क्रिकेटले छ पटक र फुटबलले पाँच पटक यो अवार्ड जितेका छन् । एथलेटिक्सले तीन पटक, तेक्वान्दोले दुई पटक अवार्ड आफ्नो नाममा लेखाएको छ । बक्सिङ, गल्फ, प्याराग्लाइडिङ र करातेले भने एक–एक पटक मात्र यो सम्मान जित्न सकेका छन् ।

यसपालि अवार्ड गण्डकी प्रदेशमा आयोजना हुँदैछ । पोखरेली खेलाडी युकेश गुरुङ पोखराको विशेष खेलको पहिचान बोकेको प्याराग्लाइडिङबाट उत्कृष्ट खेलाडी बनेका हुन् । उनको टोलीले इन्डोनेसियामा आयोजित एसियाली खेलमा पदक जितेको थियो ।यसपालि वर्षको उत्कृष्ट पुरुष खेलाडीका लागि क्रिकेटका कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरी, टेबलटेनिसका स्यान्टु श्रेष्ठ, खो–खोका जनक चन्द र उसुका विजयसिंजाली दाबेदार रहेका छन् । अब हेर्न बाँकी छ, अन्ततः कसले बाजी मार्ला !