
दीननाथ बराल,
पोखरा १६, पुस,
अँधेरी रातसँगै पोखराको लेकसाइड आज झनै उज्यालो हुँदैछ। पोखरा सडक महोत्सवको माहोल भित्र आज मध्यरात १२ः०० बजे अंग्रेजी नयाँ वर्ष २०२६ भव्य रूपमा स्वागत गर्ने तयारी पूरा भएको छ।
महोत्सव आयोजक रेवान पोखराले नेपाली सेनाको प्रत्यक्ष अनुगमन र जिल्ला प्रशासन कार्यालय कास्कीको समन्वयमा सुरक्षा मापदण्ड पालना गर्दै लेकसाइड क्षेत्रमा आतिसबाजी प्रदर्शन गर्ने पोखराक्लिकलाई श्रोतले बताएको छ । सडक महोत्सवको मुख्य दिन आज नयाँ वर्षको काउन्टडाउनदेखि आतिसबाजी, संगीत र सांस्कृतिक प्रस्तुतीसम्म उत्सवकै रौनक हुने भएको छ। आयोजकका अनुसार भीडभाड अत्याधिक हुने भएकाले शान्ति सुरक्षा, ट्राफिक व्यवस्थापन र निगरानीलाई कडा बनाइएको छ। हुन पनि आज बिहानै देखि मौसम चिनो भएसंगै यो समाचार बिहान १०ः३० बजे तयार पार्दासम्म आकास राम्रोसंगै खुल्न सकेको छैन् ।

आवश्यक प्रक्रिया पूरा गरी नेपाली सेनाको प्रत्यक्ष अनुगमन र जिल्ला प्रशासन कार्यालय कास्कीको समन्वयमा आतिसबाजी हुने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले पोखराक्लिकलाई उल्लेख गरे । गृह मन्त्रालयबाटै रेवान पोखराले आतिसवाजी गर्ने अनुमति दिएसंगै प्रशासनले उच्च सतर्कता अपनाउन निर्देशन जारी गर्दै सुरक्षा व्यवस्था सुदृढ पारेको बताइन्छ । रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले महोत्सवमा सहभागी सबै पर्यटकलाई सभ्य र पर्यटनमैत्री व्यवहार अपनाउन आग्रह गर्दै, आवश्यक परेमा तत्काल आयोजक वा प्रहरीलाई जानकारी दिन अनुरोध गरेका छन्। “सीसी क्यामेरा निगरानीदेखि पैदल गस्ती, पार्किङ व्यवस्थासम्म सबै कडाइका साथ लागू गरिएको छ,” पौडेलले बताए। महोत्सव सुरु भएको पुस १३ गतेदेखि नै पोखरामा पर्यटकले भरिदैछन्।
महोत्सवको मुख्य दिन आज भएकोले सडकमा मानिसहरुको भिड हेरीकन त्यसलाई व्यबस्थापन गरिने भएको महोत्सव संयोजक बशन्त गौतमले बताए । महोत्सवको करिब साँढे ३ किलोमिटर क्षेत्रमा कृषि, सेवा मुलक, हस्तकलाका गरी विभिन्न कार्यक्रम सहित व्यपारीक स्टलहरु समेत रहेको उनले जनाए । त्यस्तै १२ बुँदे निर्देशन सार्वजनिक गरी मादक पदार्थ सेवन गरेर सवारी नचलाउन, तोकिएको स्थानमै पार्किङ्ग गर्न, अनुचित मूल्य नलिन–नदिन, असभ्य व्यवहार नगर्न र गुनासा भएमा अनलाइन ग्राहक अधिकार प्रणालीबाट उजुरी दिन मिल्ने व्यवस्था गरिएको छ। रात्रिकालीन बस सेवा समेत सञ्चालन भएकाले तिमीले सम्भव भएसम्म नीजि सवारीभन्दा ‘कालोप्लेट’ सवारी प्रयोग गर्न आग्रह गरिएको छ।
महोत्सवमा आज पनि सांस्कृतिक झाँकी, नृत्य, संगीत, स्वादिलो स्थानीय खानेकुरा, खेलकुद प्रतियोगिता तथा विभिन्न कला झल्किने प्रस्तुतिहरू रहेको रेवान पोखराका महासचिव बिरेन्द्र शेरचनले बताए । तमु ल्होसार सार्वजनिक दिन मङ्गलबार फेवाताल किनारमा दर्शक तथा पर्यटकहरुको अत्याधिक भिडभाड भएको उनलदे जनाए । महोत्सव पुस १७ गतेसम्म सञ्चालन हुनेछ। महोत्सवकै प्रभावसँगै पोखराका पर्यटकीय प्रायः होटलहरू भरिभराउ छन्। होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार मुख्य पर्यटक क्षेत्रका होटलमा अकुपेन्सी ७५–८० प्रतिशत पुगेको छ भने नयाँ वर्षको स्वागतसँगै यो संख्या अझ बढ्ने अनुमान गरिएको छ।
अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा आज सांगीतिक माहोल झनै तात्नेछ। ९० को दशकको लोकप्रिय व्यान्ड ‘डी–मर्च’ सहित उज्जन शाक्य, लेकाली, देउराली व्यान्डका प्रस्तुती हुने छन्। त्यस्तै चर्चित नृत्य जोडी आस्मा विश्वकर्मा र सरोज अधिकारीले लोकप्रिय गीत ‘छिकिरी–छिकिरी’ लगायतमा प्रस्तुति दिने तय भएको अल टेक नेपालका संचालक शेर बहादुर गुरुङले पोखराक्किलाई बताए । पर्यटन प्रवर्द्धनका उद्देश्यले आयोजना भएको महोत्सवलाई नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार, पोखरा भ्रमण वर्ष २०२५, पोखरा पर्यटन परिषद् लगायत संस्थाहरूले साथ दिएका छन्। त्यस्तै म पानी, गृहलक्ष्मी ग्याँस, अन्नपूर्ण केबल कार, रेड बुल सहयोगी संस्था रहेको रेवानले जनाएको छ ।
नेपाल पर्यटन बोर्ड गण्डकीका बरिष्ठ निर्देशक एवं प्रमुख मणिराज लामिछानेले यो अफ्सिजनको मौसममा सडक महोत्सवले लेकसाइड क्षेत्रको मात्र भई यस क्षेत्रको कृषि देखि यातायात व्यावसायीलाई समेत प्रत्यक्ष लाभ भएको बताए । यो सिजनमा पर्यटक आगमन न्यून हुने भएको भए पनि यस बर्ष भने पुस १० क्रिसमश डे देखि पोखरामा भारती पर्यटकको समेत उत्साहजनक सहभागिता रहेको जनाए । पोखरामा सडक महोत्सवका कारण एक साता पर्यटकको चहलपहल हुने उनले जनाए ।




