पोखरा सडक महोत्सवमा दर्शक एवं पर्यटकको सहभागिता बढ्दो, विभिन्न खेलका कार्यक्रममा दर्शकको भिड (भिडियो सहित)

-


     पोखरा क्लिक     
     पौष १५ गते २०८२ मा प्रकाशित


पुष १५,पोखरा,

पर्यटनको राजधानि पोखरामा हाल पोखरा सडक महोत्सव जारी रहेको छ । पुस १३ देखि सुरु भएको २७ औं पोखरा सडक महोत्सवको तेश्रो दिनसम्म आउँदा दर्शक एवं पर्यटकहरुको निकै उत्साहजनक सहभागिता रहेको रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले पोखराक्लिकलाई बताउनु भयो । मंगलबार पुस पन्ध्र तमु ल्होसार सार्वजनिक दिन भएको बिहानै देखि बेलुकी सम्म दर्शक एवं पर्यटकहरुको अत्याधिक भिडभाड भएको उहाँले जनाउनु भयो । सडक महोत्सवको अवसरमा विभिन्न कर्पोरेट तथा व्यावसायी प्रतिष्ठानहरुले विभिन्न खेलका कार्यक्रम समेत आयोजना गरेकाछन जहाँ दर्शक तथा पर्यटकहरुको भिडभाड भएको रेवान पोखराका महासचिव बिरेन्द्र शेरचनले बताउनु भयो ।

रेवान पोखराको आयोजनामा जारी २७ औं पोखरा सडक महोत्सव अन्तर्गत मङ्गलबार डुङ्गा दौड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा खुला र संस्थागत गरी दुई इभेन्टमा प्रतिस्पर्धा गराइएको थियो । खुलातर्फ हेमन्त राई, विवश भण्डारी र अनिश परियारको टोलीले प्रथम स्थान हासिल गर्नुभयो । त्यसैगरी सजेस कंसाजु, राज तामाङ र राजकुमार तामाङको टोलीले द्वितीय स्थान हासिल गर्यो भने कुमार जलारी, गणेश जलारी र कृष्ण जलारीको टोलीले तृतीय स्थान हासिल गर्नुभयो । संस्थागततर्फ रुद्र भुजेल, धनबहादुर परियार र विपिन गुरुङ सम्मिलित फेवा डुङ्गा व्यवसायी संगठनको टोलीले प्रथम, कृष्ण आचार्य, हरि भुजेल र तीर्थराज सुवेदी सम्मिलित टान गण्डकीको टोलीले द्वितीय तथा विकास कडेल, रवि प्रसाद आचार्य र श्याम लामिछाने सम्मिलित नेपाल पर्यटन यातायात व्यवसायी संघको टोलीले तृतीय स्थान हासिल गर्नुभयो ।

प्रतियोगितामा विजयी हुने टोलीले खसी, द्वितीय स्थान हासिल गर्नेले बोका तथा तृतीय स्थान हाँसिल गर्ने टोलीले भाले पुरस्कार प्राप्त गर्नुभयो । महिलाहरू सम्मिलित टेवानको टोलीलाई विशेष पुरस्कारका रुपमा टोकला चियाको तर्फबाट नगद रु ५ हजार प्रदान गरिएको थियो । उहाँहरूलाई नेपाल पर्यटन बोर्ड गण्डकीका बरिष्ठ अधिकृत एवं प्रमुख मणिराज लामिछाने, पोखरा महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष विष्णु भट्टराई, आयोजक रेवान पोखराका अध्यक्ष विश्वराज पौडेल, महोत्सव संयोजक बसन्त गौतम, खेलकुद कार्यक्रम संयोजक सुमन भट्टराई लगायतले एक समारोहका बीच पुरस्कार वितरण गर्नुभयो । महोत्सवमा मंगलबारदेखि रस्साकसी प्रतियोगिता भएको पूर्व अध्यक्ष सुर्य भुजेलले बताउनु भयो ।

यसैबिच, यही पुस १७ गतेसम्म सञ्चालन हुने पोखरा सडक महोत्सवलाई सभ्य, सुरक्षित र प्रभावकारी ढंगले सम्पन्न गर्न महोत्सव आयोजक, सुरक्षा निकाय र स्थानीय सरोकारवालाहरूले संयुक्त रूपमा १२ बुँदे निर्देशना जारी गर्दै सम्पूर्ण सहभागी, व्यवसायी तथा आगन्तुकप्रति अनुरोध गरिएको छ । पर्यटन प्रवद्र्धन, सांस्कृतिक विविधताको संरक्षण र आन्तरिक–बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्य सहित सञ्चालन भइरहेको महोत्सवलाई मर्यादित र व्यवस्थित रूपमा मनाउन आह्वान गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताउनु भयो । कुनै आपराधिक वा विपदजन्य तथा दुर्घटना भएमा नजिकै रहेका सुरक्षाकमी र प्रहरी ईकाई र सुरक्षा निकाय जस्तैः नेपाल प्रहरी १०० (प्रहरी कन्ट्रोल) ९८५६०३९५९९ डियूटी अफिस, ट्राफिक प्रहरीः १०३, सशस्त्र प्रहरी बल नेपालः ०६१—५४४०८८, ९८५१२७२०८० डियूटी अफिसरलाई सम्पर्क गर्न सकिने व्यबस्था गरिएको छ ।

निर्देशनामा महोत्सवका क्रममा सवारी साधन तोकिएको स्थानमै पार्किङ्ग गर्न, मादक पदार्थ सेवन गरी सवारी नचलाउन, अनुचित भाडा नलिन, सडकमा असभ्य व्यवहार नगर्न तथा सामाजिक सद्भाव विथोल्ने क्रियाकलापबाट टाढा रहन आग्रह गरिएको छ । साथै महँगा गरगहना नलगाउन, व्यवसायिक मर्यादाभित्र रहेर सेवा प्रदान गर्न, चर्को मूल्य नलागाउन, स्वच्छ खानेकुरा उपलब्ध गराउन तथा पर्यटकमैत्री व्यवहार गर्न विशेष ध्यानाकर्षण गराइएको छ । त्यस्तै, गुनासा भएमा अनलाइन उपभोक्ता अधिकार प्रणालीमार्फत उजुरी गर्न सकिने उल्लेख गर्दै, कुनै दुर्घटना, विपद् वा आपराधिक घटना देखापरेमा नजिकको प्रहरी एकाई वा देहायका नम्बरमा जानकारी दिन सहभागीहरूलाई सुझाइएको छ । रात्रि कालिन बस सेवाको रुटहरु समेत सार्वजनिक गरिएको छ ।

पोखरा सडक महोत्सवमा बुधबार न्यू ईयर ईभ विशेष ः एक्स नेपथ्यदेखि डिमर्चासम्म गुञ्जिने

पोखरा सडक महोत्सव अन्तर्गत कोमागाने पार्कमा चलिरहेको सांगीतिक उत्सवमा भोलि बुधबार भोलि न्यू ईयर ईभ विशेष कार्यक्रम आयोजना हुँदैछ । जहाँ एक्स नेपथ्यदेखि डिमर्चासम्म मध्यरातसम्म गुञ्जिनेछ । अल टेक नेपालको संयोजनमा चलिरहेको सांगीतिक उत्सव अन्तर्गत हुने न्यू ईयर ईभ विशेष कार्यक्रममा बुधबार बेलुका एक्स नेपथ्य तीन दशकपछि गुञ्जिदैछ । कार्यक्रममा एक्स नेपथ्यका गायक रविन श्रेष्ठले छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले, आँगनै भरी, नक्कली कान्छीलगायतका गीतहरु तथा अर्का गायक गौतम गुरुङले जोमसोमै बजार, गण्डकीको तिरैमा, झरीले रुझेको आकास, यार्लिङ कहाँ खस्यो ?लगायतका चर्चित गीतहरुमा ओरिजिनल आवाज प्रस्तुत गर्नु हुने भएको छ । त्यस्तै, न्यू ईयर ईभ विशेषमा उज्जन शाक्यले पनि लाईभ व्याण्ड प्रस्तुती दिनुहुने भएको छ । जहाँ उहँको बेबी, राजमती चा, लुमन्ती, कुमारी, मतिनाया स्वाः, लिक्कलिक्कलगायतका गीतहरु गुञ्जाउने सांगीतिक कार्यक्रमको संयोजन गरिरहेको अल टेक नेपालका सञ्चालक शेरबहादुर गुरुङले बताउनु भयो ।

त्यस्तै, न्यू ईयर ईभमा भोलि डिमर्चा, लेकाली, देउराली व्याण्डले पनि लाईभ प्रस्तुती दिने भएको छ । न्यू ईयर ईभ स्पेसलका रुपमा यस वर्ष कार्टुन क्रुजकी भाइरल डान्सर आस्मा विश्वकर्मा र सरोज अधिकारीले छिकिरी, छिकिरीलगायतका गीतहरुमा प्रस्तुती हुने भएको छ । त्यस्तै, दीवा कार्यक्रममा बुधबार प्रिती आले, लोकदोहोरी गायकहरु पुरुषोत्तम न्यौपाने, जीवन दाहाल, चोलेन्द्र पौडेल लगायतको प्रस्तुती रहनेछ ।