
दीननाथ बराल,
पोखरा, ३ पौष,
लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा विहिबार देखि पोखरा २७ को डाँडाकोनाक (तालचोक) मा २१ औं संस्करणको लेखनाथ महोत्सव सुरु भएको छ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मूल नाराका साथ यही पुष १४ गतेसम्म संचालन हुने उक्त महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले पर्यटनलाई प्रदेश विकासको पहिलो आधारका रूपमा अघि बढाइएको बताउँदै यस्ता मेला–महोत्सवले पोखरा र गण्डकी प्रदेशको आर्थिक गतिविधि चलायमान बनाउने विश्वास व्यक्त गरे । लेखनाथ महोत्सव धार्मिक–सांस्कृतिक मात्र नभई पर्यटन, व्यापार, उद्यम र रोजगारीसँग जोडिएको आर्थिक उत्सवको रूपमा स्थापित हुँदै गएको उनको भनाइ थियो ।
जेन–जी आन्दोलनपछि प्रभावित बनेको उद्योग तथा व्यवसायलाई पुनः चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष तथा महोत्सव संयोजक जानुका अधिकारी पराजुलीले बताइन् । महोत्सवलाई क्रेता, विक्रेता र उपभोक्ताबीचको साझा थलो तथा ‘अनौपचारिक विश्वविद्यालय’को रूपमा विकास गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।
गृह लक्ष्मी ग्यास कम्पनीको मुख्य प्रायोजनामा सुरु भएको महोत्सवमा उद्योग, व्यापार, सेवा तथा सूचनामूलक गरी ३३५ स्टल छन् । औद्योगिक तथा व्यापारिक प्रदर्शनी, कृषि तथा दुग्धजन्य उत्पादन, हस्तकला, फुड फेस्टिभल, अटोमोबाइल प्रदर्शनीसँगै सांस्कृतिक कार्यक्रम, लोकदोहोरी, पप तथा सुगम सङ्गीत कन्सर्ट, टिकटक तथा आर्ट प्रतियोगिता, टक शो लगायतका कार्यक्रम समावेश छन् । आयोजकका अनुसार करिब २ लाख ५० हजार दर्शक सहभागिता र करिब ९ करोड रुपैयाँ कारोबार हुने लक्ष्य लिइएको छ ।
यसैबीच, उद्घाटनको अवसरमा आयोजित र्यालीमा अपेक्षाभन्दा धेरै दर्शक सहभागि हुँदा व्यवस्थापन फितलो बनेको गुनासो आएको छ । र्यालीमा सहभागि हुन आएका महिलासहित ज्येष्ठ नागरिकहरु करिब दुई घण्टासम्म लाइनमा बस्न बाध्य भएको उनीहरुको गुनासो छ । रुपा गाउँपालिकाबाट आएको ८० जनाको समूहका तर्फबाट गोमा अधिकारीले आयोजकले व्यवस्थापनमा ध्यान नदिँदा अत्यधिक दुःख भएको बताइन् । “हामीलाई बोलाएर आफैँ मञ्चमा बस्ने र मान्छे माथि मान्छे भिडाउने काम भयो, अब अर्को पटक र्यालीमा सहभागि हुने कि नहुने सोच्नुपर्ने अवस्था आयो,” उनले भनिन् । अत्यधिक भीडका कारण केही दर्शक महोत्सव स्थल प्रवेश नगरी फर्किएका थिए । उद्घाटनमै देखिएको भीड र व्यवस्थापनको कमजोरीप्रति आयोजकले आगामी दिनमा सुधार गर्ने अपेक्षा गरिएको छ ।



