पोखरामा फागुन ३ गते ‘धन बहादुर गुरुङ सांगीतिक साँझ’ हुने (भिडियो सहित)

-


     पोखरा क्लिक     
     पौष ३ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा ३, पुष,

नेपाली गीत–संगीत क्षेत्रमा गायक, संगीतकार तथा संगीत संयोजकका रूपमा उल्लेखनीय योगदान पु¥याएका कलाकार धन बहादुर गुरुङको सम्मानमा आगामी फागुन ३ गते पोखरामा विशेष सांगीतिक साँझ आयोजना हुने भएको छ । तमु (गुरुङ) कलाकार संघ नेपाल, गण्डकी प्रदेश समितिको आयोजनामा हुन लागेको उक्त कार्यक्रम पोखरा रंगशालास्थित भलिवल ट्रेनिङ सेन्टरमा आयोजना गरिने संघले विहिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।

कार्यक्रम मार्फत तमु कलाकार कल्याणकारी कोष स्थापना गर्ने उद्देश्य लिइएको संघ गण्डकीका अध्यक्ष बिक्रम गुरुङले बताउनु भयो । उक्त कार्यक्रमबाट करिब १७ लाख ५० हजार रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएको छ भने कार्यक्रमबाट ११ लाख ७५ हजार रुपैयाँ बचत गर्ने लक्ष्य रहेको राखिएको उहाँले जनाउनु भयो । प्रवेश शुल्क ३०० रुपैयाँ तोकिएको छ ।आयोजकका अनुसार कार्यक्रममा करिब ८ हजार दर्शकको सहभागिता रहने अपेक्षा गरिएको छ । दर्शकहरूको आवतजावतलाई सहज बनाउन पोखराका मुख्य चोक क्षेत्रहरूबाट बस सेवाको व्यवस्था गरिने अग्रज कलाकार गोरे गुरुङले जानकारी दिनुभयो ।

कलाकार धन बहादुर गुरुङ युरोपसहित १० देशमा एक महिनासम्म सांगीतिक कार्यक्रमका लागि प्रस्थान गर्नुअघि विहीबार पोखरामा फूलमाला र खादा ओढाई सम्मान सहित बिदाइ गरिएको छ । आयोजक समितिले यो कार्यक्रमले केवल एक कलाकारको सम्मान मात्र नभई तमु (गुरुङ) समुदायको मौलिक कला, संस्कृति, भाषा तथा संगीतको प्रवद्र्धन गर्दै समग्र नेपाली सांगीतिक क्षेत्रको गरिमा अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेको छ ।