युआरएलको १२औँ वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर

-


     पोखरा क्लिक     
     मंसिर २८ गते २०८२ मा प्रकाशित


पोखरा, २८ मंसिर,

गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) ले आफ्नो १२औँ वार्षिकोत्सवको अवसरमा शनिबार पोखरास्थित युआरएल हस्पिटल चोकमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । शिविरमा २ सय ५ जनाले ल्याब परीक्षण सेवा लिएका छन् भने ५२ जनाले दन्त परीक्षण सेवा लिएका छन् । युआरएलका मार्केटिङ डाइरेक्टर मणि न्यौपानेका अनुसार शिविरमा सहभागीको थाइराइड तथा मधुमेह (सुगर) सम्बन्धी जाँच निःशुल्क गरिएको थियो ।

२०७० साल मंसिर २३ गते स्थापना भएको युआरएलले १२औँ वार्षिकोत्सवको अवसरमा मंसिर १५ गतेदेखि मंसिर मसान्तसम्म विभिन्न सेवामा विशेष छुटसमेत उपलब्ध गराउँदै आएको जनाएको छ । युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्थले वार्षिकोत्सवको उपलक्ष्यमा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्दै सर्वसाधारणलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँका अनुसार युआरएलले स्थापनाकालदेखि नै आफैं तथा विभिन्न संघ–संस्थासँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएको छ । हालसम्म आयोजना गरिएका २१२ वटा शिविरमार्फत करिब २ लाख १५ हजार जनाले निःशुल्क सेवा लिइसकेका छन् ।

शिविरका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कन्सल्टेन्ट फिजिसियन डा. कृष्णराज अधिकारीले कसरत नगर्ने बानी र अस्वस्थ खानपानले मधुमेहको जोखिम बढाउने बताउनुभयो । उहाँका अनुसार थाइराइडको समस्या हुँदा महिनावारी गडबडी, मोटोपनालगायतका स्वास्थ्य समस्या देखिन सक्छन् । डा. अधिकारीले वंशानुगत कारणले पनि मधुमेह हुन सक्ने उल्लेख गर्दै नियमित व्यायाम, सन्तुलित आहार र स्वस्थ जीवनशैली अपनाएमा यस्ता रोगबाट बच्न सकिने स्पष्ट पार्नुभयो । ‘सुगरका कारण आँखाको समस्या, दाँत बिग्रने तथा यौन दुर्बलतासमेत हुन सक्ने अध्ययनले देखाएको छ,’ उहाँले भन्नुभयो, ‘कम्तीमा वर्षमा एक पटक पूर्ण शरीर जाँच गरेमा रोग प्रारम्भिक चरणमै पत्ता लगाउन र समयमै उपचार गर्न सहयोग पुग्छ।’

कपडा व्यवसायीलाई युआरएलमा छुट

यसैबीच कपडा व्यवसायी एसोसिएसन कास्कीमा आबद्ध व्यवसायीले पोखरा–८ न्यूरोडस्थित युआरएलको प्रधान कार्यालय तथा यसका शाखाबाट ३० प्रतिशत छुट पाउने भएका छन् । संस्थामा आबद्ध कपडा व्यवसायी र उनीहरूका आश्रित परिवारका सदस्य (आमाबुवा, छोरा–छोरी, श्रीमान–श्रीमती तथा सासु–ससुरा) ले ल्याब परीक्षण सेवामा उक्त छुट सुविधा पाउने छन् ।उक्त सम्झौता पुस १ गतेदेखि २०८५ मंसिर मसान्तसम्म, अर्थात् तीन वर्षका लागि लागू हुने जनाइएको छ । आइतबार युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्थ र कपडा व्यवसायी एसोसिएसन कास्कीका अध्यक्ष लेखनाथ पौडेलबीच सम्झौतामा हस्ताक्षर भएको छ ।