मदरल्याण्ड साहित्य महोत्सव पुस्तक किन पढ्ने ?

-


     पोखरा क्लिक     
     मंसिर २८ गते २०८२ मा प्रकाशित


पोखरा, मंसिर २८,

विद्यार्थीमा पठन तथा लेखन शैलीमा क्षमता अभिवृद्धि गर्नका लागि पोखरा–७, मासवारस्थित मदरल्याण्ड माविमा आइबारदेखि दुईदिने साहित्य महोत्सव सुरु भएको छ । दुईदिनको महोत्सवमा पठन तथा देखन शैलीसँगै साहित्यिक बहस संचालन गरिने विद्यालयले बताएको छ ।

विद्यालयका प्राचार्य डा. नारायण बरालका अनुसार विद्यार्थीमा पाठ्यपुस्तकसँगै अरु विधाका पुस्तक पढ्न प्रेरित गर्ने तथा रचनात्मक र सिर्जनात्मक लेखनशैलीको विकास गर्न साहित्य महोत्सव आयोजना गरिएको बताए । उनका अनुसार पहिलो दिन आइतबार आन्तरिक रुपमा विद्यार्थीहरुले पठन तथा लेखनशैलीबारे छलफल गरेका थिए । ‘पाठ्यपुस्तकमा आधारित पढाई त नियमित चलिरहन्छ । विद्यार्थीमा किताबी बाहेकको ज्ञान दिलाउन बाह्य विधाका पुस्तक अध्ययन गराउने प्रयास थालेका हौ,’ बरालले भने, ‘पठनसँगै लेखनशैलीको पनि विकास गर्न जरुरी छ । गृहकार्य मात्र लेखन होइन । सिर्जनात्मक लेखनमा पनि विद्यार्थीको चाँसो बढाउन सकिन्छ ।’

महोत्सवको पहिलो दिन विद्यार्थीहरुबीच सिर्जनात्मक लेखन, पुस्कसँगैको वृत्तिविकास, प्रविधिले पारेको प्रभाव लगायतबारे छलफल गरेका थिए । विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्यका अनुसार सोमबार पोखराका साहित्यकारलाई भेला गराएर विद्यार्थीसँग साहित्यिक बहस संचालन गरिनेछ । ‘विद्यार्थीमा पाठ्यपुस्तक भन्दा बाहिरको पढाई पनि जरुरी छ । कक्षाकोठाको ज्ञानले मात्र त्यो सबै माग पुृरा हुन सक्दैन, पुस्तक पढ्दाको अनुभव साटासाट गर्न पाउँदा साना बालबालिकामा पनि पठन चाँसो बढ्नेछ,’ उनले भने । पोखराका साहित्यकारहरु तीर्थ श्रेष्ठ, सरुभक्त लगायतका साहित्यकारलाई बोलाएर साहित्यिक बहस सोमबार संचालन हुने उनले बताए ।

विद्यालयका निर्देशक डा. त्रिभुवन शर्माले विद्यार्थीमा पठन शैलीको खाँचो रहेको बताए । ‘अहिलेको पुस्ता विद्यालयमा निर्धारित पाठयपुस्तक भन्दा बाहिर चाँसो राख्दैन । इन्टरनेटमा रमाउने पुस्ताको पठनशैली कमजोर बन्दै गएको छ । अब पनि हामीले विद्यार्थीमा पठन र लेखनशैलीको चाँसो नबढाउने हो भने भाषामा निकै नै कमजोर भईनेछ,’ शर्माले भने, ‘पाठ्यपुस्तक पढ्दा र नपढ्दाको प्रभाव के हुन्छ भनेर विद्यार्थीबीच नै अनुभव साटासाट गर्न पाउँदा विद्यार्थीमा पढाईप्रतिको जागरुकता बढ्नेछ ।’
महोत्सव संयोजक बामनप्रसाद घिमिरेका अनुसार विद्यार्थीमा व्यावसायिकताको सोच वृद्धि गराउन यही महोत्सव दौरान सोमबार व्यवासायिक छलफल पनि गराइनेछ । नवप्रवेशी व्यवासायीलाई उक्त अवसरमा विद्यार्थीसँग व्यावसायिक छलफल गराउँदा विद्यार्थीमा व्यावसायिकता वृद्धि हुने अपेक्षा रहेको उनले बताए । व्यावसाय गर्न सहज कि अप्ठेरो भनेर विद्यार्थीले उक्त बहसबाट थाहा पाउने उनले बताए ।

आइतबारको पहिलो दिनको सेसनमा विद्यार्थीले कथा र कविता सुनाउने मात्र नभई चित्रकलासँगै पठनपाठनलाई कसरी अघि बढाउन सकिन्छ भनेर छलफल गरेका थिए । चित्रकलामा पोख्त छात्रा श्रेया तामाङसँग छात्र प्रज्वल भण्डारी गफिएका थिए । त्यस्तै विद्यालयस्तरमै अध्ययन गरिरहँदा नयाँनयाँ पाठ्यपुस्तक पढिरहेका छात्राहरुले पुस्तक किन पढ्ने भनेर अनुभव सुनाएका थिए । पुस्तक पढ्दा र नपढ्दाको प्रभावबारे उनीहरुले अरु विद्यार्थीमाझ अनुभव बाँडेका थिए । विद्यालयले अघिल्लो वर्ष पनि विद्यालयमा साहित्य महोत्सव गरेको थियो । पोखराको मासवारस्थित मदरल्याण्ड माविमा आइतबार सुरु भएको साहित्य महोत्सवमा पठनशैली र संस्कृतिबारे अनुभव बाढ्दै छात्राहरु ।