
पोखरा/कीर्तिपुर
नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै च्याम्पियन बन्न सफल भयो ।

टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्स पाँच बल बाँकी छँदै ८५ रनमै अलआउट भयो । झिनो लक्ष्य पछ्याएको लुम्बिनीले मात्र ९ ओभरमै ४ विकेटको क्षतिमा ८६ रन बनाइ उपाधि हात पार्यो । यससँगै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको उपविजेतामै सीमित भएको छ । पहिलो संस्करणको फाइनलमा पनि सुदूरपश्चिम जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।
लुम्बिनीका लागि दिनेश अधिकारीले विस्फोटक ब्याटिङ गर्दै सर्वाधिक ४२ रन बनाए । उनले १३ बलमा चार छक्का प्रहार गर्दै खेलको गति नै बदलिदिए । कप्तान रोहित पौडेलले १६ रन, डार्सी सर्टले १४ रन र निरोसन डिकवेलाले १० रन जोड्दै टोलीलाई जिततर्फ डोहोर्याए ।यसअघि बलिङतर्फ लुम्बिनीका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए । कप्तान रोहित पौडेलले ह्याट्रिकसहित ३ विकेट लिँदै ४ ओभरमा मात्र १२ रन खर्चिए । शेर मल्लले ४ ओभरमा १८ रन दिएर ३ विकेट लिए भने नामिबियन पेस बलर रुबेन ट्रम्पलम्यानले २.१ ओभरमा ३ रन मात्र खर्चेर ३ विकेट लिँदै सुदूरपश्चिमको ब्याटिङ तहसनहस पारे ।
फाइनल खेलको प्लेयर अफ द म्याच रुबेन ट्रम्पलम्यान घोषित भए । प्रतियोगिताको उपाधिसँगै लुम्बिनी लायन्सले नगद १ करोड १० लाख रुपैयाँ प्राप्त गर्यो भने उपविजेता सुदूरपश्चिम रोयल्सले ५१ लाख रुपैयाँमा चित्त बुझायो । कुन खेलाडीले कुन पुरस्कार जिते ?
एनपीएल सिजन–२ का पुरस्कार विजेता (सूची):
सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुर्नामेन्ट) : रुबेन ट्रम्पलम्यान (लुम्बिनी लायन्स) – ५ लाख रुपैयाँ
- सर्वोत्कृष्ट नेपाली खेलाडी : रोहित पौडेल (लुम्बिनी लायन्स) – ओमोडा कार
- सर्वाधिक रन / उत्कृष्ट ब्याटर : रोहित पौडेल (लुम्बिनी लायन्स) – पल्सर बाइक
- (२७६ रन र १० विकेट समेत)
- सर्वोत्कृष्ट बलर : सन्दीप लामिछाने (विराटनगर) – पल्सर बाइक
- रेड बुल इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट : अविनाश बोहरा (सुदूरपश्चिम रोयल्स) – १७ विकेट
- इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट : तिलकराज भण्डारी (लुम्बिनी लायन्स)
- उत्कृष्ट इमर्जिङ खेलाडी : शेर मल्ल (लुम्बिनी लायन्स) – पल्सर बाइक
- फाइनलको प्लेयर अफ द म्याच : रुबेन ट्रम्पलम्यान (लुम्बिनी लायन्स)
दोस्रो संस्करणको एनपीएलमा बलिङ, ब्याटिङ र समग्र प्रदर्शनमा लुम्बिनी लायन्सको दबदबा देखियो । विस्फोटक सुरुआतदेखि सन्तुलित बलिङसम्म, फाइनल खेलमा लुम्बिनीले सुदूरपश्चिममाथि एकपक्षीय प्रदर्शन गर्दै एनपीएलको नयाँ च्याम्पियनका रूपमा आफूलाई स्थापित गर्यो ।




