कोन सहकारीको २७ औं साधारण सभा सम्पन्न

-


     पोखरा क्लिक     
     मंसिर २७ गते २०८२ मा प्रकाशित


पोखरा, २७ मंसिर,

पोखरा महानगरपालिका वडा नं. १३ स्थित कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.को २७ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै संस्थाका मानार्थ संरक्षक तथा पूर्व अध्यक्ष शरदकान्त सिग्देलले संस्थाको हितका लागि आँफू सधैं सहकार्य गर्न तत्पर रहेको बताए । 

उनले साधारण सभाले सदस्यहरूलाई आफ्ना जिज्ञासा राख्न सहज वातावरण सिर्जना गर्ने धारणा राखे । शेयर सदस्यहरूको सक्रिय सहभागिताले मात्र सहकारीको योजना अगाडि बढाउन सहज हुने संरक्षक सिग्देलको भनाइ थियो । कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष तीर्थबहादुर बस्नेतले वि.सं. २०५६ सालमा स्थापना भएदेखि हालसम्मको सहकारीको अवस्थाबारे चर्चा गरे । कर्मचारीहरूको निष्ठा, पारदर्शिता र सेवाभावले नै संस्थालाई विश्वासको केन्द्र बनाएकोमा बस्नेतले जोड दिए । बस्नेतले सहकारीको माध्यमबाट सदस्यहरूको आर्थिक र सामाजिक स्तर उकास्न सकिने विचार व्यक्त गरे । 

सो अवसरमा लामो समयसम्म नियमित कारोबार गर्ने नानीमाया श्रेष्ठलाई ’उत्कृष्ट सदस्य सम्मान’ प्रदान गरियो । त्यस्तै, १५ वर्ष अघिदेखि सहकारीको उन्नतिमा उल्लेखनीय योगदान पु¥याउँदै आएकी अधिकृत हेमा गुरुङलाई सम्मानपत्रसहित सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष माधवप्रसाद सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालक समितिका सचिव सुरेन्द्र प्रसाद सिग्देल, कोषाध्यक्ष जयप्रसाद सापकोटा, लेखा सुपरिवेक्षण समितिका संयोजक ज्ञानेन्द्रप्रसाद सिग्देल, शेयर सदस्यका तर्फबाट पुरनकुमार श्रेष्ठ र महिला शेयर सदस्यका तर्फबाट विष्णु सापकोटा लगायतले मन्तव्य राखेका थिए । उक्त साधारण सभामा स्वागत सहित कार्यक्रमको संचालन भने उपाध्यक्ष शान्त कुमार श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रममा सञ्चालक समिति सदस्य शारदा सिग्देल पराजुलीले सहकारीका सात सिद्धान्त वाचन गरेकी थिइन् ।