
काठमाडौं २७, मंसिर,
काठमाडौंमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको फाइनल खेल आज हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ३ः३० बजे सुरु हुने उपाधि भिडन्तमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आमनेसामने हुनेछन्।
सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो। लुम्बिनीले दोस्रो क्वालिफायरमा विराटनगरलाई नै ४० रनले हराउँदै पहिलो पटक फाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित विराटनगरले दोस्रो क्वालिफायर खेल्ने अवसर पाएको थियो। दिपेन्द्रसिंह ऐेरीको कप्तानीमा रहेको सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनल खेल्दैछ। गत संस्करणमा जनकपुर बोल्ट्ससँग ५ विकेटले पराजित हुँदै उपविजेता बनेको टोली यसपटक जसरी भए पनि उपाधि उचाल्ने लक्ष्यमा छ। लिग चरणमा यी दुईबीचको भेटमा सुदूरपश्चिमले ७ विकेटको जित निकालेको थियो।
उता, रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी लायन्स गत संस्करणमा लिग चरणबाटै बाहिरिएको थियो। तर यसपटक उत्कृष्ट पुनरागमन गर्दै लगातार जित निकाल्दै पहिलो पटक फाइनल पुगेको लुम्बिनी इतिहास रच्ने दाउमा मैदान उत्रनेछ। आजको फाइनलसँगै एनपीएलले नयाँ च्याम्पियन पाउने पक्का भएको छ। प्रतियोगिताको विजेताले १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ५१ लाख रुपैयाँ पाउनेछ। तेस्रो हुने टोलीले २५ लाख र चौथो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ। नेपाल क्रिकेट सङ्घ ९क्यान० को आयोजनामा मङ्सिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली सहभागी छन्। क्रिकेटप्रेमीको उत्साहबीच आजको फाइनल खेललाई लिएर कीर्तिपुर क्रिकेट मैदानमा विशेष चहलपहल देखिएको छ।




