
दीननाथ बराल,
पोखरा, २६ मंसिर,
पोखरा महानगरपालिकाले आफ्नो ६७ औं स्थापना दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाउने भएको छ । आज (शु्क्रबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा पोखराका मेयर धनराज आचार्यले पोखरा महानगरपालिकाको ६७ औं स्थापना दिवसको अवसरमा एक सातासम्म विविध कार्यक्रम सञ्चालन गरी मनाउने भएको बताउनु भएको हो ।
स्थापना दिवसको अवसरमा पोखराका विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान गरेका व्यक्तित्वलाई ‘पोखरेली नवरत्न’ सम्मान प्रदान गरिनेछ । यस वर्ष भाषा–साहित्य, कला–संगीत, शिक्षा, स्वास्थ्य, कृषि–उद्यम, सामाजिक सेवा, पर्यटन प्रवद्र्धन, वातावरण संरक्षण, विज्ञान तथा नवप्रवर्तन लगायत क्षेत्रबाट चयन भएका नौ जनालाई ताम्रपत्र, दोसल्ला, पदकसहित जनही २ लाख २ हजार २०२ रुपैयाँ राशि सहित सम्मान गरिने मेयर आचार्यले बताउनु भयो ।
त्यसैगरी महानगरमा कार्यरत ११ जना उत्कृष्ट कर्मचारी, एसइई तथा कक्षा ८ मा ४ जिपिए अंक प्राप्त गरेका विद्यार्थी, विषयगत रूपमा उत्कृष्ट उपलब्धि हासिल गर्ने ६० जना शिक्षक तथा उत्कृष्ट नतिजा ल्याउने विद्यालयहरूलाई पनि सम्मान गरिनेछ । ३३ वटा वडामध्ये सरसफाइमा उत्कृष्ट तीन वडालाई, महानगर मातहतका कार्यालयमध्ये सफाइमा उत्कृष्ट एक कार्यालयलाई र समयमै सबैभन्दा धेरै कर तिर्ने उत्कृष्ट करदातालाई पनि पदक र सम्मानपत्र प्रदान गरिनेछ ।
स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम, कृषि स्विच कार्यक्रम, सरसफाइ अभियान, सारङ्गी पार्क निर्माणका लागि शिलान्यास, मानवअधिकार चोकदेखि सभागृहसम्म सांस्कृतिक झाँकी सहित प्रभातफेरी, ज्येष्ठ नागरिक सम्मान तथा मानव सेवा आश्रममा न्यानो कपडा वितरण जस्ता सामाजिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गरिने जनाएको छ ।
मूल समारोह आगामी पुष २ गते पोखरा सभागृहमा आयोजना हुने महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मुत्तिराम अर्यालले बताउनु भयो । वि.सं. २०१६ मा स्थापना भएको पोखरा नगरपालिका क्रमिक विकासका चरण पार गर्दै २०७५ साउन २३ गते पोखरा महानगरपालिका नामाकरण भएको हो । करिब ४६४ वर्ग किमी क्षेत्रफलमा फैलिएको पोखरा भौगोलिक हिसाबले मुलुककै सबैभन्दा ठूलो महानगरपालिका मानिन्छ । ४० भन्दा बढी जातजातिको बसोबास, मौलिक संस्कृति, ताल–तलैया, धार्मिक स्थल तथा हिमश्रृङ्खलाको नजिकबाट अवलोकन गर्न सकिने विशेषताले पोखरा पर्यटन राजधानीको रूपमा परिचित छ ।




