खेलकुदमा हुने अनावश्यक राजनीति र लामो भाषणलाई रोक्न गण्डकी प्रदेश खेलकुद परिषदद्वारा आचारसंहिता लागू

-


     पोखरा क्लिक     
     मंसिर २५ गते २०८२ मा प्रकाशित


दीननाथ बराल
पोखरा ,

गण्डकी प्रदेशमा खेलकुद कार्यक्रमहरूमा वर्षौंदेखि दोहोरिएको लामो आसन ग्रहण, अतिथिको भीड, माला–खदा वितरण र अन्तहीन भाषणको संस्कार अन्त्य गर्न प्रदेश खेलकुद परिषद गण्डकीले औपचारिक रूपमा आचारसंहिता २०८२ लागू गरेको छ।

प्रदेश खेलकुद विकास ऐन २०७७ को दफा ४५(१) बमोजिम तयार पारिएको ‘गण्डकी प्रदेश खेलकुद प्रतियोगितामा आसन ग्रहणको प्राथमिकता क्रम निर्धारण तथा पालना गर्नुपर्ने आचारसंहिता–२०८२’ आज (बिहीबार) बाट लागू भएको सदस्य–सचिव श्रीधर शर्माले पोेखराक्लिकलाई जानकारी दिनुभयो।

राजनीतिलाई भन्दा खेलकर्मीलाई प्राथमिकता

सदस्य–सचिव शर्माका अनुसार अब खेलकुद कार्यक्रमको केन्द्रमा खेलाडी, प्रशिक्षक, टिम तथा खेलकुद सरोकारवाला रहनेछन्। विगतमा विभिन्न राजनीतिक दलका नेताहरूलाई अनावश्यक रूपमा भाउ दिनु, उद्घाटन–समापनमा लामो–लामो भाषण गर्नु र औपचारिकता मात्र बढाउनु खेलकुदको आत्मालाई नै कमजोर बनाउने व्यवहार भएको भन्दै निर्माण गरिएको आचारसंहिताले यो परम्परालाई तोड्ने प्रयास गरेको उहाँले बताउनुभयो। “खेल विज्ञ र खेल क्षेत्रमा लागेकालाई प्राथमिकता दिने हो, खेलाडी खेल मैदानमा उभिन नसक्नु अनि भनिरहेका नेताको भाषण घण्टौसम्म चलिरहनु अब बन्द हुन्छ,” शर्मा भन्नुहुन्छ।

कार्यक्रम सञ्चालनको स्पष्ट ढाँचा

नवीन आचारसंहिताले खेलकुद कार्यक्रममा हुने आसन ग्रहणको मर्यादाक्रमदेखि लिएर भाषणको समयसीमासम्म स्पष्ट व्यवस्था गरेको छ। उद्घाटन तथा समापन समारोहमा ५ जनाभन्दा धेरैले मन्तव्य राख्न पाउने छैनन्। प्रमुख अतिथि बाहेक अन्य ४ जनाको समयसीमा १० मिनेट मात्र हुनेछ। कार्यक्रम छिटो, सरल र खेलमैत्री हुने व्यवस्था गरिएको छ। शर्माका अनुसार खेलाडी र दर्शक दुवैले ‘लामो प्रसंग र प्रतीक्षा’ भन्दा ‘खेल हेर्न र खेल खेल्न’ चाहने भएकाले यसपटक आचारसंहिताले त्यसलाई प्राथमिकता दिएको छ।

सबै संघ–संस्था र ८५ पालिकामा लागू

आचारसंहिता गण्डकी प्रदेशका सबै ८५ पालिका, जिल्ला खेलकुद समिति, विभिन्न खेलकुद संघ–संस्था तथा खेलकुद गतिविधि गर्ने सबै इकाइमा अनिवार्य रूपमा लागू हुने छ। पालना नगर्ने संघ–संस्था तथा कार्यक्रम आयोजकमाथि कारबाहीको व्यवस्था समेत परिषदले राखेको छ।

लागु हुनुपर्ने तर लागेन भन्ने पुराना आलोचना समेत

गण्डकी प्रदेश खेलकुद परिषदले यसअघि पनि विभिन्न नियमावली र आचारसंहिता सार्वजनिक गरे पनि तिनको पालना सुनिश्चिततामा कमजोरी भएको आलोचना थियो। यसपटक भने परिषदले ‘अनिवार्य लागू गर्नु पर्ने’ भन्दै स्पष्ट र कडाइका साथ नयाँ आचारसंहिता ल्याएको हो। शर्माले भने, “यो खेलकुदको अनुशासन, मर्यादा र पेशागत सम्मान जोगाउने कागजात हो। अब कार्यक्रम कसरी सञ्चालन गर्ने भन्ने अन्योल हटेको छ।”

लागू कति सफल हुनेछ — अब हेर्न बाँकी,

आचारसंहिता खेलकुद कार्यक्रमलाई मर्यादित, छरितो र खेलाडी–केन्द्रित बनाउन महत्त्वपूर्ण कदम मानिएको छ। तर, यसको कडाइका साथ पालना गराउने जिम्मा परिषदकै भएकाले व्यवहारमा कति प्रभावकारी हुन्छ भन्नेचाहिँ अबका कार्यक्रमहरूले देखाउनेछन्।