
पोखरा, २४ मङ्सिर,
नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेशले आजबाट पोखरादेखि ढोरपाटनसम्मलाई लक्षित गरी पर्यटन प्रवद्र्धन कार्यक्रम सुरु गरेको छ । आन्तरिक पर्यटनको प्रवद्र्धनको उद्दे्श्यका साथ बाग्लुङ, बुर्तिबाङ र ढोरपाटनसम्मका विभिन्न पर्यटकीय गन्तव्यलाई लक्षित गरी पर्यटन प्रवद्र्धन कार्यक्रम आयोजना गरिएको एनटिभिए गण्डकी प्रदेशका अध्यक्ष दुुर्गादत्त दहालले जानकारी दिनुुभयो ।
कार्यक्रममा संघ आवद्ध सदस्यसँगै पोखरामा कृयाशिल विभिन्न पर्यटनसम्बद्ध संस्थाका पदाधिकारी, सञ्चारकर्मी सहित ४५ जनाको सहभागिता रहेको छ । प्रवद्र्धन टोलीललाई पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पदान समितिका संयोजक गोपिबहादुर भट्टराई, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका बरिष्ठ निर्देशक एवं प्रमुख मणिराज लामिछाने लगायतले पोखराबाट औपचारिक विदाई गर्नुभएको थियो ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहयोगमा आज बाग्लुङमा अभिमुखीकरण तालिम सञ्चालन हुने भएएको छ। तालिम कास्कीको घान्द्रुक, बाग्लुङ, म्याग्दी र पर्वतका यातायात व्यवसायी, चालक तथा सहचालकलाई लक्षित गरिने भएको प्रमुख लाछिमानेले बताउनु भयो । नेपाल पर्यटन बोर्डको प्रबद्र्धनमा हुने उक्त कार्यक्रम सहित बोर्डले यस अघि पनि विभिन्न पर्यटनमा हस्पिटालिटि सम्बन्धि कार्यक्रमहरु गर्दै आएको छ । पोखरा देखि पश्चिम उत्तर तर्फका पर्यटकहरुलाई समेत पोखरा सहित गण्डकी प्रदेशको पर्यटन प्रबद्र्धन गर्न बोर्डले विभिन्न पर्यटन प्रबद्र्धनका गतिविधिहरु गर्दै आएको छ ।
ढोरपाटनमा शुक्रबार त्यहाँका पर्यटन व्यवसायीसँग पर्यटकीय साझेदारीका साथै आन्तरिक पर्यटनको विकास सम्बन्धमा छलफल एवम् अन्तरक्रिया हुने संघका प्रथम उपाध्यक्ष एवम् कार्यक्रम संयोजक रविप्रसाद अचार्यले जानकारी दिनुुभयो । प्रवद्र्धन टोली २६ गते पोखरा फर्कने आयोजकले जनाइएको छ ।



