पोखरामा साफ यु–१९ महिला च्याम्पियनसिप माघ दोश्रो साता हुने

-


     पोखरा क्लिक     
     मंसिर २३ गते २०८२ मा प्रकाशित


पोखरा २३, मंसिर,

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा पोखरामा आउँदो माघ दोश्रो साता देखि साफ यु–१९ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता हुने भएको छ । पोखरामा पहिलो पटक आगामी माघ १५ (जनवरी २९) देखि उक्त प्रतियोगिता हुने तयारी गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलबार पोखराका पत्रकारसंग बताउनु भएको हो ।

सोहि प्रतियोगिताका लागि दक्षिण एसियाली फुटबल महासंघ (साफ) को महासचिव पुरुषोत्तम कट्टेल र एन्फा महासचिव राईसहितको टोलीले मंगलबार पोखरा रंगशालाको फुटवल मैदान अवलोकन समेत गर्नु भएको छ । अवलोकनपछि महासचिव राईले लामो समय देखि अन्तर्राष्ट्रिय प्रतियोगिता प्रत्यक्ष हेर्नबाट बञ्चित पोखरेलीहरुले अब त्यो अवसरमा पाउने बताउनु भयो । एन्फाले पोखरामा पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजन गर्न लागेको उहाँले बताउनु भयो ।

पोखरा रंगशालाको फुटबल स्टेडियममा १३औं दक्षिण एसियाली खेलकुद (साग) पछि पहिलो पटक साफ यू१९ महिला फुटबल च्याम्पियनसिप गर्ने तयारी भएको हो । रंगशाला निर्माण सम्पन्न भए पछिको यो दोस्रो ठूलो प्रतियोगिता समेत हो । सन २०१९ मा पोखरा रंगशाला निर्माणकै क्रममा १३ औं साग अन्तर्गतको महिला फुटबल आयोजना भएको थियो ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष एवं एन्फा गण्डकी प्रदेशका बरिष्ठ उपाध्यक्ष मिलन गुरूङले उक्त प्रतियोगिता पोखरामा हुनुले यस क्षेत्रको खेल पर्यटनको प्रबद्र्धन हुने विश्वास व्यक्त गर्नुभयो । काठमाण्डौंमा हुने तयारी गर्दा गर्दै एन्फाले देशकै ठूलो र दर्शक १६ हजार ५ सय सबे भन्दा बढी दर्शक सिट क्षमता रहेको पोखरा रंगशालामा उक्त प्रतियोगिता हुने मिति घोषणा हुनुले यस क्षेत्रको फुटबल विकासका लागि महत्वपूर्ण हुने उहाँले जनाउनचभयो । उक्त प्रतियोगितालाई पोखरेलीको साथ समर्थन हुने भएको अखिल नेपाल फुटवल संघ एनफा कास्कीका अध्यक्ष उज्वल रञ्जितले बताउनु भयो ।