कोरी डाँडामा अस्थायी संरचना निरीक्षण, तत्काल भौतिक संरचना निर्माणमा रोक

-


     पोखरा क्लिक     
     मंसिर २१ गते २०८२ मा प्रकाशित


दीननाथ बराल

पोखरा २१, मंसिर,

कास्कीको मादी गाउँपालिका–१ स्थित कोरी पद मार्गमा पर्ने सार्वजनिक जग्गामा निर्माण भएका अस्थायी संरचनाहरूको स्थलगत निरीक्षण गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप, जनप्रतिनिधि तथा स्थानीय प्रतिनिधिहरूको संयुक्त टोलीले हालै कोरी पद मार्ग क्षेत्रको निरिक्षण गरेको हो ।

निरीक्षण टोलीमा एक्याप कार्यालयका आयोजना प्रमुख डा. रविन कडरिया, मादी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष देबीजंग गुरुङ, एक्याप सिक्लेस प्रमुख संग्राम कार्की, एक्यापका प्राविधिक रामजी आचार्य तथा स्थानीय पर्यटन व्यवसायीहरू सहभागी हुनु भएको थियो । टोली कोरी डाँडासम्म पुगेर अवलोकन तथा छलफल गरी केही निर्णयहरु समेत गरेको मादी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष देबीजंग गुरुङले पोखराक्लिकलाई बताउनु भयो ।

नयाँ संरचना निर्माणका लागि जारी गरिएको निर्देशिका लागू नहुँदासम्म अस्थायी संरचना थप नगर्ने, जोखिमयुक्त संरचनाहरूको व्यवस्थापन तथा आवश्यक सुधार गर्ने, स्थापनलाई कडाइ गर्नेसहित सिसाको बोतल र प्लास्टिक सामग्री पूर्ण रूपमा निषेध गर्ने, वातावरणमैत्री सेवा–सुविधा प्रवद्र्धन गर्ने, पर्यटन व्यवसायीहरूबीच स्वस्थ प्रतिस्पर्धा सुनिश्चित गर्ने बिषयमा निरिक्षण पश्चात उक्त निर्णय भएको आयोजना प्रमुख डा. रविन कडरियाले बताउनु भयो ।

सिक्लेस पर्यटन केन्द्रका रूपमा तीव्र रूपमा विकसित हुँदै गएपछि यसको महत्वपूर्ण गन्तव्य—कोरी डाँडा—संरक्षण र व्यवस्थापनमा सबैको ध्यान केन्द्रित हुनुपर्ने बताउनु भयो । सिक्लेसबाट दुई दिनको पदमार्ग यात्रा गरी पुगिने कोरी डाँडा समुद्री सतहदेखि ३,९५० मिटर उचाइमा रहेर अत्यन्त मनमोहक दृश्यावली प्रदान गर्ने स्थानका रूपमा परिचित रहेको उहाँले जनाउनु भयो ।

कोरी डाँडाबाट माछापुच्छ्रे, अन्नपूर्ण, लमजुङ हिमालसहितका हिमशृङ्खलाको आकर्षक दृश्यावलोकन गर्न सकिन्छ । त्यहाँबाट लमजुङका प्रमुख गन्तव्यहरू—दुधपोखरीदेखि भुजुङ—र मनाङको चामेसम्म पनि पदमार्ग हुँदै पुग्न सकिन्छ ।

हाल मोटरबाटो विस्तारसँगै धेरै पदमार्गहरू विस्थापित भइरहेका परिस्थितिमा पनि सिक्लेस–कोरी डाँडा मार्ग अझै सुरक्षित र मौलिक पदयात्रा मार्गको रूपमा सुरक्षित रहेको डा. कडेरियाले बताउनुभयो । विज्ञहरूले पनि नेपाल आउने पर्यटकलाई गाउँघर डुल्ने दिनसंख्या बढाउन सकिने खालका पदमार्गलाई संरक्षण गर्न सके पर्यटनबाट मुलुकले ठूलो आर्थिक फाइदा लिन सकिने धारणा राख्दै आउनु भएको छ । पोखराबाट छोटो ६ दिनको कोरी डाँडा ट्रेक लोकप्रिय, नयाँ गन्तव्यका रूपमा आकर्षण बढ्दै गएको मार्दी गाउँपालिका १ का वडा अध्यक्ष देविजंग गुरुङले बताउनु भयो ।

अन्नपूर्ण क्षेत्रको नयाँ र सुन्दर पदयात्रा गन्तव्यका रूपमा परिचित कोरी डाँडा ट्रेक हालका दिनमा पर्यटकबीच आकर्षणको केन्द्र बनेको उहाँले जनाउनु भयो । पोखराबाट सुरु हुने ६ दिनको यो पदयात्रालाई “नयाँ रूपमा खुलेको ट्रेल” भनेर प्रचार गरिए पनि, सिक्लेस क्षेत्रमार्ग दशकौँदेखि पदयात्रीहरूको लोकप्रिय गन्तव्यको रूपमा रहिआएको छ ।

पोखराबाट करिब ४७ किलोमिटर जीपमार्गको यात्रा गरेर पुगिने सिक्लेस–नेपालका सबैभन्दा ठूला गुरुङ गाउँमध्ये एक–बाट यो पदयात्रा सुरु हुन्छ । पहिलो दिन गुरुङ परम्परागत घर–परिवारमा होमस्टे अनुभव प्राप्त हुन्छ भने त्यसपछि लज र क्याम्पमा बस्ने व्यवस्था हुन्छ । गुरुङ संस्कृतिको गहिरो परिचय, पहाडी बस्तीहरूको जीवनशैली र प्राकृतिक सौन्दर्यले यो यात्रा स्मरणीय बनाउने अध्यक्ष गुरुङले जनाउनु भयो । कोरी डाँडाबाट न्याम्ला पास हुँदै मनाङसम्म जाने पुरानो पदमार्ग पनि भेटिन्छ, जसले यो क्षेत्रलाई अर्को वैकल्पिक ट्रेकिङ हबका रूपमा विकास गर्ने सम्भावना देखाएको छ ।