
दीननाथ बराल,
पोखरा, १३ मंसिर,
“पोखरा सबै मौसमका लागि आकर्षक गन्तव्य” भन्ने नारासहित पोखराको चुरुङ्गामा शनिबार दोस्रो दाँई महोत्सवमा विदेशी पर्यटक सहित उल्लेखनीय दर्शकहहरुको सहभागिता रह्यो । पोखरा पर्यटन परिषद् द्वारा आयोजित महोत्सवमा अपेक्षाभन्दा धेरै दर्शक उपस्थित भएको कार्यक्रम संयोजक हरिबहादुर भुजेलले पोखराक्लिकलाई बताए।
कृषिप्रधान समाजको परम्परागत कृषि पद्धति प्रवर्द्धन तथा नयाँ पुस्तामा मौलिक कृषि ज्ञान हस्तान्तरण गर्ने उद्देश्यसहित आयोजना गरिएको महोत्सव कृषि–पर्यटन प्रवर्द्धनका हिसाबले महत्वपूर्ण रहेको परिषद्का अध्यक्ष तारानाथ पहारीले बताए। कार्यक्रममा पोखरा–२३ का किसान फवेन्द्र कुमार गुरुङलाई २ सय रोपनीमा धान खेती गरी करिब ५ सय मुरी उत्पादन गरेको योगदानका लागि पोखराका मेयर धनराज आचार्यले १० हजार नगदसहित सम्मान गरे।
महोत्सवमा उत्कृष्ट गोरुपालक, धेरै धान उत्पादन गर्ने किसान, धान चुट्ने दँदेरा, गुन्द्री बुन्ने लगायतका प्रतियोगिताले विशेष रौनकता थपे। पर्यटक र आगन्तुक पाहुनालाई पञ्चेबाजासहित स्वागत गरिएको थियो। नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका वरिष्ठ निर्देशक मणि राज लामिछानेका अनुसार महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकलाई स्थानीय कृषि पहिचान नजिकबाट बुझ्न मद्दत गरेको छ। माछापुच्छ्रे–अन्नपूर्ण हिमशृंखलाको सुन्दर दृश्यसहित सम्पन्न दाँई महोत्सवले किसानलाई थप उत्साह मिलाएको स्थानीय माधव गौतमले पोखराक्लिकलाई बताए।



