सेती नदीको माथि निर्माण हुदै गरेकोे पुलको काम ठप्प

-


     पोखरा क्लिक     
     चैत्र ३ गते २०८० मा प्रकाशित


दीननाथ बराल,

पृथ्बीराजमार्ग अन्र्तगत पर्ने पोखरा पृथ्बीचोक क्षेत्र (चाइनापुल) नजिक सेतीनदी माथि निर्माण हुदै गरेको दुई वटा पुलहरु मध्य माथिल्लो पट्टि निर्माण हुदै गरेको पुलको काम ठप्प भएको छ । हाल उक्त क्षेत्रमा बिद्युतका पोल सहित खानेपानीको पाइपहरु व्यबस्थापन गर्न नसक्दा चाहेर पनि आफुहरुले विगत ४ दिन देखि पुल निर्माणको काम अघि बढाउन नसकेको रसुवा कन्स्ट्रक्सन प्रा.ली.का प्रतिनिधि सुदर्शन देवकोटाले बताए ।

तल्लो पुलको जग हाल्ने कार्य सम्पन्न भएको ४ दिन अघि देखि माथिल्लो पुलको निर्माण कार्य गर्ने योजनामा रहे पनि हाल आफुहरु अन्यौलमा परेको उनले जनाए । खानेपानी र बिद्युत कार्यालयले समयमै उक्त क्षेत्रमा पर्ने पाइप तथा पोलहरु व्यबस्थापन गर्न नसक्दा आफुहरुको काम प्रभावित भएको उनले गुनासो गरे ।

तल्लो पुलको १३ प्रतिशत निर्माण काम सकिएको छ भने माथिल्लो पुलमा साइड क्लिरियर नहुदा कामदार र मेसिहरु थन्काउनु पर्ने अबस्था आएको प्रतिनिधि देवकोटाले जनाए । ८÷१० वटा पोल तत्काल व्यबस्थापन गर्नु पर्ने रहेको छ । सेतीको भाग जोखिम होला भनेर आफुहरुले भने १ सय ४० मिटर लामो क्षेत्रमा जग राखेर उक्त पुल निमार्ण कार्य अघि बढाएको देवकोटाले पोखराक्लिकलाई जनाए ।

रसुवा कन्स्ट्रक्सन कम्पनीले १ अर्ब ७ करोड २४ लाख २६ हजार ५ सय रुपैयाँ (भ्याट सहित) निर्माण गर्न लागेको उक्त पुलको नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले केही समय अघि शिलान्यास गरेका थिए ।