क्होला सोँप्रे ट्हो (क्होलासोंथर) अध्ययन भ्रमणका लागि यूकेको जम्बो टोली भुजुङ हुदै जाने तयारी (भिडियो सहित)

-


     पोखरा क्लिक     
     वैशाख ४ गते २०८३ मा प्रकाशित


पोखरा,

गुरुङ (तमु) समुदायको ऐतिहासिक तथा सांस्कृतिक उद्गमस्थल मानिने क्होला सोँप्रे ट्हो (क्होलासोंथर) को अध्ययन, संरक्षण र अन्तर्राष्ट्रिय पहिचानका लागि यूकेबाट जम्बो टोली आइतबार भुजुङ तफृ प्रस्थान गर्ने भएको छ । तमु प्ये ल्हु संघ यूकेको संयोजकत्वमा गठन गरिएको करिब ५०/५५ सदस्यीय टोली २०८३ वैशाख ६ गते (अप्रिल १९, २०२६० देखि अध्ययन तथा अवलोकन भ्रमणमा निस्कने जानकारी शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत दिइएको हो। टोलीमा ६ जना महिला, चिकित्सक, प्राविधिक र सञ्चारकर्मीहरू समेत सहभागी रहनेछन्।

संघका अध्यक्ष क्या. डेम बहादुर गुरुङको नेतृत्वमा हुने उक्त भ्रमण वैशाख ११ गते (अप्रिल २४) सम्म सञ्चालन हुनेछ। भ्रमणको व्यवस्थापनमा द्धितीय उपाध्यक्ष अमर थोरजे संलग्न रहेका छन्। भ्रमणअघि वैशाख ५ गते शनिबार साईतको छ्योप पूजा गरिनेछ। यसमा सहभागी सबै सदस्यहरूको उपस्थिति रहनेछ भने पूजा सम्पन्नपछि विभिन्न विषयमा छलफल गर्न बैठक समेत आयोजना गरिने जनाइएको छ।

टोलीले पोखराको रानिपौवाबाट यात्रा सुरु गर्दै बेशीशहर, घलेगाउँ,भुजुङ लगायतका स्थान हुँदै क्होला सोँप्रे ट्हो पुग्ने योजना बनाएको छ। यात्राको क्रममा विभिन्न क्होँईवोँ (धार्मिक संरचना) को अवलोकन गर्नुका साथै होजोँ र ङ्हसिखोँमा बास बस्ने कार्यक्रम तय गरिएको छ। कठिन पदयात्रापछि क्होला सोँप्रे ट्हो पुगेर टोलीले छ्योप पूजा र थासोँ पूजा गर्नेछ तथा स्थलगत अध्ययन र अवलोकन गर्नेछ। त्यसपछि टोली सिक्लेस गाउँतर्फ प्रस्थान गर्नेछ, जहाँ स्थानीय समुदायसँग अन्तरक्रिया र संरचनाहरूको अवलोकन गर्ने कार्यक्रम छ।

भ्रमण सम्पन्नपछि पोखरामा विशेष समारोह आयोजना गरिनेछ। उक्त कार्यक्रममा देशका विभिन्न जिल्लामा निर्माण भएका तथा निर्माणाधीन क्होँईवोँ तथा अन्य संरचनाहरूका लागि आर्थिक सहयोग हस्तान्तरण गरिनेछ। साथै सांस्कृतिक कार्यक्रममार्फत तमु समुदायको परम्परा प्रस्तुत गरिनेछ। यस अभियानमा तमु प्ये ल्हु संघका केन्द्रीय, महिला, युवा तथा जिल्ला समितिहरूका साथै कास्की, लमजुङ, भुजुङ र सिक्लेसका स्थानीयवासीहरूको सक्रिय भूमिका रहने बताइएको छ।

यसअघि केही दिनअघि हङकङ बाट आएको टोलीले पनि क्होलासोंथर क्षेत्रमा अध्ययन भ्रमण सम्पन्न गर्दै उक्त क्षेत्रलाई राष्ट्रिय सम्पदा सूचीमा सूचीकृत गर्न माग गरेको थियो। उनीहरूले क्होलासोंथर तमु समुदायको धार्मिक, सांस्कृतिक र ऐतिहासिक पहिचानको केन्द्र भएको उल्लेख गर्दै यसको संरक्षण र प्रवर्द्धनमा राज्यको ध्यानाकर्षण गराएका थिए। संघका अगुवाहरूका अनुसार क्होला सोँप्रे ट्हो केवल भौगोलिक गन्तव्य मात्र नभई तमु समुदायको पहिचान, इतिहास र संस्कृतिसँग गहिरो रूपमा जोडिएको स्थल हो। त्यसैले यसको संरक्षण, पूर्वाधार विकास तथा विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल आवश्यक रहेको उनीहरूको जोड छ।

उक्त भ्रमणमार्फत विश्वभर रहेका तमु समुदायलाई आफ्नो मौलिक जरा र पहिचानसँग जोड्ने तथा क्होला सोँप्रे ट्होलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य लिइएको तमु प्प्यू संघका केन्द्रिय अध्यक्ष ओम बहादुर गुरुङले बताए । जति टोलीले अध्ययन गरे पनि त्यसको निष्कर्ष सहित सम्बन्धित ठाँउमा मुख्य मागहरु पेश गर्ने योजना रहेको उनले पोखराक्लिकलाई सुनाए ।गुरुङ समुदायको कला संस्कृति र आफ्नो परम्परालाई संरक्षण गर्न सके नेपालको पर्यटन समेत प्रबद्र्धन हुने तमु प्यु संघका महासचिव हर्क गुरुङले बताए ।