फेवाताल किनार क्षेत्रमा पदयात्रा, योग र हाइकिङ जस्ता गतिविधि गर्दै मनाईयो अन्तर्राष्ट्रिय आरोग्य दिवस

-


     पोखरा क्लिक     
     वैशाख ३ गते २०८३ मा प्रकाशित


पोखरा,

पोखरामा “अन्तर्राष्ट्रिय आरोग्य दिवस २०२६” विविध कार्यक्रम सहित मनाइएको छ। गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालयको आयोजनामा, पोखरा पर्यटन परिषद्को समन्वय तथा टान गण्डकी प्रदेशको सह–आयोजनामा स्वास्थ्य, पर्यटन र वातावरणलाई जोड्ने उद्देश्यले पदयात्रा, सरसफाइ तथा सामूहिक ध्यान–योग कार्यक्रम सम्पन्न गरिएको हो।

नयाँ वर्ष २०८३ को सुरुवातसँगै मनाइएको दिवसमा “आरोग्य जीवनको आधारः पदयात्रा, प्रकृति र सकारात्मक विचार” भन्ने नाराका साथ ड्यामसाइडबाट सुरु भएको पदयात्रा भ्यू फेवा राउण्ड फेवा पदमार्ग हुँदै अनदुसम्म पुगेको थियो। पदयात्राका क्रममा सहभागीहरूले ट्रेल क्लिनिङ गर्दै पदमार्गमा रहेका फोहोर संकलन गरी वातावरण संरक्षणको सन्देश दिएका थिए।कार्यक्रमअन्तर्गत रानीवन तथा फेवाताल किनारस्थित खुला क्षेत्रमा करिब १०० जनाको सहभागितामा एक घण्टा लामो सामूहिक योग तथा ध्यान सत्र सञ्चालन गरिएको थियो। प्रकृतिसँग एकाकार हुँदै गरिएको ध्यान–योगले सहभागीहरूलाई मानसिक शान्ति र सकारात्मक ऊर्जा प्रदान गरेको उनीहरूको अनुभव थियो। कार्यक्रमपछिको औपचारिक समारोहमा गण्डकी प्रदेशका पर्यटन मन्त्री मित्रलाल बस्यालले आरोग्य नै समृद्ध जीवनको आधार भएको उल्लेख गर्दै पोखरालाई वेलनेस टुरिज्मको प्रमुख गन्तव्यका रूपमा विकास गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

टान गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्यले पोखरामा पहिलो पटक यस प्रकारको कार्यक्रम आयोजना हुनु महत्वपूर्ण उपलब्धि भएको बताउँदै फेवाताल किनार क्षेत्रमा पदयात्रा, योग र हाइकिङ जस्ता गतिविधि प्रवर्द्धनले पर्यटन क्षेत्रलाई नयाँ आयाम दिने धारणा राख्नुभयो। कार्यक्रममा प्रदेश सभा सदस्य सुदीप पौडेल, पोखरा महानगरपालिका वडा नं। २२ का अध्यक्ष हिमलाल बराल, पर्यटनसम्बद्ध विभिन्न संघ–संस्थाका प्रतिनिधि, सुरक्षाकर्मी, स्थानीय युवा क्लब तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको अन्त्यमा सहभागीहरू अनदुबाट डुंगा मार्फत फेवातालको अवलोकन गर्दै गौरीघाट पुगेका थिए, जहाँ सामूहिक दिवा भोजनको व्यवस्था गरिएको थियो। यस कार्यक्रममार्फत पोखरालाई आरोग्य पर्यटनको गन्तव्यका रूपमा स्थापित गर्ने अभियानको औपचारिक सुरुवात गरिएको आयोजकले जनाएको छ।