
दीननाथ बराल,
पोखरा ५, वैशाख,
टाइगर ग्रुप अफ पोखरा नेपालले गत माघमा पोखरामा आयोजना गरेको छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८२ बाट २२ लाख ६५ हजार १०६ रुपैयाँ बचत भएको छ । आज (शनिबार) पोखरा रङ्गशालामा आयोजना गरेको आय–व्यय सार्वजनिक कार्यक्रममा संस्थाका अध्यक्ष नारायणप्रसाद शर्माले उक्त प्रतियोगिताबाट आम्दानी हुने रकमबाट खर्च कटाई उक्त रकम बचत भएको उल्लेख गर्नु भएको हो ।
पोखरा रङ्गशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा गत माघ ९ देखि १७ गतेसम्म सञ्चालन भएको प्रतियोगिता सम्पन्न गर्न कुल १ करोड ३७ लाख ४२ हजार ६ सय १९ रुपैयाँ खर्च भएको थियो भने ९ दिन संचालन भएको प्रतियोगिताबाट १ करोड ६० लाख ७ हजार ७ सय २५ रुपैयाँ आम्दानी भएको संस्थाका कोषाध्यक्ष हरिबहादुर श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा सबै भन्दा धेरै आम्दानी प्रबेश टिकटबाट भएको छ भने खर्च तर्फ सहभागि टिम व्यबस्थापन तथा यातायात तर्फ रहेको छ । प्रवेश शुल्कबाट मात्रै ५९ लाख ४९ हजार २ सय ८२ रुपैयाँ संकलन भएको थियो भने स्वदेश तथा विदेशका संघसंस्था र व्यक्तिबाट ४८ लाख ४३ हजार ४ सय ४३ रुपैयाँ सहयोग प्राप्त भएको थियो । नेपाली टिमका लागि २४ लाख ४९ हजार २०० रुपैयाँ र विदेशी टिमका लागि २० लाख ८४ हजार ९८ रुपैयाँ खर्च भएको थियो ।
सुश्री मिडिया प्रालि, बानेश्वर काठमाडौँबाट ३० लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो। त्यसैगरी प्रदेश खेलकुद परिषद् गण्डकी र पोखरा महानगरपालिकाबाट समान १०÷१० लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो । टिम दर्ता शुल्कबाट १ लाख ३५ हजार, सिजनल टिकटबाट ८० हजार रुपैया सहयोग प्राप्त भएको संस्थाले जनाएको छ । त्यसैगरी पुरस्कार तथा प्रोत्साहनमा २६ लाख ७३ हजार रुपैयाँ खर्च गरिएको थियो। अस्थायी प्याराफिट, मञ्च, टेन्ट तथा साउन्ड सिस्टम तर्फ १९ लाख ३२ हजार ४ सय ७० रुपैयाँ, जुरी तथा रेफ्रीमा १० लाख १५ हजार ४ सय ६० रुपैयाँ र पूबद्र्धन, प्रचारप्रसार र विज्ञापनमा ४ लाख २५ हजार रुपैयाँ खर्च भएको थियो। अन्य शीर्षकहरूमा बीमा, प्राथमिक उपचार, ट्रफी, खेल सामग्री, स्वयंसेवक परिचालन, मैदान व्यवस्थापन तथा अतिथि सत्कारमा पनि रकम खर्च गरिएको थियो। प्रतियोगितामा महिलातर्फ ५ र पुरुषतर्फ ६ गरी कुल ११ टिमको सहभागिता रहेको थियो । महिलातर्फ न्यू डायमण्ड युथ स्पोट्र्स क्लब विजेता बन्यो भने पुरुषतर्फ गण्डकी प्रदेश भलिबल सङ्घले उपाधि जित्यो। दुवै विजेता टोलीले ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका थिए । संस्थाका अध्यक्ष शर्माले बचत भएको रकम शिक्षा, स्वास्थ्य, खेलकुद तथा सामाजिक क्षेत्रमा खर्च गरिने बताउनुभयो। साथै आगामी संस्करणहरू अझ व्यवस्थित र परिष्कृत बनाउँदै लैजाने संस्थाका सचिव डिबी नेपालीले बताउनु भयो । प्रतिगिताको अवधिमा दुई दिन जसो प्रतिकुल मौसमका कारण भलिवल खेल पोखरा रंगशालाको बहुउद्धेश्य भवनमा भएको थियो । भलिवल खेल अवलोकन गर्न दर्शकले फाइनल खेलमा एक हजारसम्म शुल्क तिर्नु भएको थियो ।



