विश्व शान्ति स्तुपाः नजिक विश्वकर्मा संग्रहालय सञ्चालनमा

-


     पोखरा क्लिक     
     वैशाख १ गते २०८३ मा प्रकाशित


पोखरा,

पोखराको विश्व शान्ति स्तूप क्षेत्रमा नयाँ पर्यटन आकर्षणका रूपमा “विश्वकर्मा संग्रहालय” सञ्चालनमा आएको छ। नेपाली समाजमा विश्वकर्मा समुदायको इतिहास, सीप, कला र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको उक्त संग्रहालय आज (मंगलबार) देखि औपचारिक रूपमा खुला गरिएको हो।

विशाल महादेवको मूर्ति र विश्व शान्ति स्तूप बीचमा अवस्थित यो संग्रहालयमा विश्वकर्मा समुदायद्वारा निर्माण गरिएका हातहतियार, कृषि औजार, धातुकला, काष्ठकला, चित्रकला, मूर्तिकला लगायतका महत्वपूर्ण सामग्रीहरू प्रदर्शन गरिएका छन्। साथै कला, वास्तुकला र ऐतिहासिक तथा सांस्कृतिक सम्पदासम्बन्धी लेख–रचनाहरू पनि समावेश गरिएका छन्।
नयाँ वर्ष २०८३ साल वैशाख १ गते संग्रहालयको उद्घाटन राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा ले गर्नुभएको थियो। कार्यक्रममा गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री रामजी बराल, वडा जनप्रतिनिधि कृष्ण कुमारी देवकोटा लगायत अतिथिहरूको उपस्थिति रहेको थियो।

यसैगरी, टोल विकास संस्था, आमा समूह, क्लबका प्रतिनिधि तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागितामा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन महासचिव कृष्ण बरालले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष सुदीप बिकले राख्नुभएको थियो। संग्रहालयका परिकल्पनाकार तथा अध्यक्ष गणेश बराइलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

संग्रहालयको व्यवस्थापनका केही काम अझै बाँकी रहेको र यसको प्रभावकारी सञ्चालनका लागि समुदायको निरन्तर सहयोग आवश्यक रहेको अध्यक्ष बराइलीले जानकारी दिनुभएको छ। नयाँ संग्रहालयले पोखरामा पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।