पोखरामा रोटरीको १८ औं डिष्ट्रिक्ट कन्फरेन्स हुने, १५ सय रोटरीयन पोाखरामा भेला हुदै

-


     पोखरा क्लिक     
     वैशाख ३ गते २०८३ मा प्रकाशित


पोखरा, ३ वैशाख,

पर्यटकीय राजधानी पोखरामा शुक्रबारदेखि रोटरी डिष्ट्रिक्ट ३२९२ को १८ औं डिष्ट्रिक्ट कन्फरेन्स सुरु हुँदैछ । पोखराकै इतिहासमा रोटरीको यो तेस्रो सम्मेलन हो । बुलौदीस्थित पोखरा इभेन्ट सेन्टरमा वैशाख ४ देखि ६ गतेसम्म संचालन हुने सम्मेलनले पोखरेलीहरु उत्साहित छन् ।

नेपाल र भुटानका गरी १५ सय रोटरियनले भाग लिने सम्मेलनले यहाँको आन्तरिक एवं वाह्य पर्यटन व्यवसायमा टेवा पुग्ने अपेक्षा गरिएको छ । बिहीबार पत्रकार सम्मेलनमा डिष्ट्रिक्ट गभर्नर विनोद कोइरालाले आफू पोखराबाटै प्रतिनिधित्व गर्दै गभर्नर भएकाले पनि गृहनगरीमा ऐतिहासिक सम्मेलन गर्न पाउनु सुखद पक्ष भएको बताए । सम्मेलनमा नेपाल, भुटान, अमेरिका, भारत, अष्ट्रेलियाबाट समेत रोटरियन आउने हुँदा पोखराको पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने अपेक्षा गरे । उनका अनुसार रोटरीले एक देशमा मात्र सीमित नभइकन ओभर अल नेटवर्कलाई विश्वास गर्छ । रोटरीले सामाजिक सेवाअन्तर्गत विद्यालय भवन तथा कम्प्युटर ल्याब निर्माण, खानेपानीका आयोजना, छात्रवृत्ति प्रदान, विपत् व्यवस्थापन एवं राहत समेतमा निःशुल्क सहयोग गर्दै आएको उनले जानकारी दिए ।

डिष्ट्रिक्ट गभर्नर कोइरालाले भने, ‘रोटरी फाउण्डेसनमा नेपालबाट साढे ५ लाख डलर योगदान गर्ने र त्यसवापत १० गुना बढी ल्याएर नेपालमा काम गर्ने हो । हामीहरुले गर्ने प्रोजेक्टमा रोटरियनहरुले नै सहयोग गर्नुहुन्छ । यहाँ आफ्नो विज्ञताको योगदान दिने हो ।’ सम्मेलन सफल पार्न लक्ष्मी थापा गिरीको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । विभिन्न २० उपसमितिले आ–आफ्नो जिम्मेवारीमा रहेर कार्यक्रम सभ्य र भव्य बनाउन लागिपरेको सम्मेलनका मूल समारोह समिति सचिव जयराम पौडेलले बताए । नयाँ वर्ष–२०८३ को सुरुवातसँगै हुने सम्मेलनमा विभिन्न विधामा नेपाल र विदेशका विज्ञहरुबाट रोटरीको सेवा क्षेत्रमा कार्यपत्र प्रस्तुत हुनेछन् । कार्यपत्रमाथि छलफल गरी आगामी दिनमा सेवा अझ विस्तारित बनाउने लक्ष्य छ । सम्मेलनको पहिलो दिन उद्घाटन सत्रसहित सामाजिक तथा विभिन्न पेसा व्यवसायमा उत्कृष्ट कार्य गर्ने व्यक्तिलाई भोकेसनल अवार्ड प्रदान गरिनेछ । सम्मेलनको प्रमुख अतिथि रोटरी इन्टरनेशनल प्रेसिडेन्टका प्रतिनिधि राजा गोविदासामी रहनेछन् ।
दोस्रो दिन रोटरीका विभिन्न कमिटीमार्फत संचालित कार्यक्रमबारे छुट्टाछुट्टै समूहमा छलफल हुनेछ भने अन्तिम दिन रोटा क्वीज एवं आगामी रोटरी बर्ष २०२८र२९ का लागि डिष्ट्रिक्ट गभर्नर निर्वाचन हुनेछ । तीन दिन नै प्यानल डिस्कसनका कार्यक्रम पनि हुनेछन् ।

मूल समारोह समिति संयोजक गिरीले पोखरामा हुने सम्मेलन सफल पार्न मिडियाबाट सकारात्क समाचार प्र्रकासन–प्रसारणको अपेक्षा गरिन् । उनको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको संचालन रोटरीका असिस्टेन्ट गभर्नर एवं सम्मेलन मिडिया को–अर्डिनेटर रवीन्द्र बास्तोलाले गरेका थिए । ‘स्वार्थभन्दा माथि उठेर’ सेवा गर्नु रोटरीको मूलनारा हो । गैरराजनीतिक र सेवामूलक अन्तर्राष्ट्रिय सामाजिक संस्था रोटरीको स्थापना सन् १९०५ मा अमेरिकाको शिकागोमा भएको हो । यसका प्रमुख संस्थापक पाउल हेरिस् हुन् । विश्वभर करिब २ सय देशमा सञ्जाल रहेको रोटरीका १२ लाखभन्दा बढी सदस्य छन् ।

भारतको कलकत्ताको रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९० मातहतमा सन् १९५७ देखि रोटरी क्लब अफ काठमाडौं स्थापनासँगै विधिवत् रुपमा नेपालमा रोटरीले प्रवेश पाएको थियो । पछि नेपाललाई रोटरीको छुट्टै स्वायत्त क्षेत्र बनाउने प्रयासमा सन् २००८ मा रोटरी डिष्ट्रिक्ट ३२९२ ले मान्यता पायो । हाल भुटानको एक क्लबसहित नेपालका १ सय ६१ क्लब आबद्ध रहेको रोटरी डिष्ट्रिक्ट ३२९२ मा ५ हजार ७ सय सदस्य आबद्ध छन् । युवा नेतृत्व विकासका लागि १ सय ८० रोट्रयाक्ट र १ सय ५० इन्ट्रयाक क्लब पनि क्रियाशील छन् । पोखरामा मात्रै ११ रोटरी क्लब छन् ।

पोखरामा सर्वप्रथम सन् २०१३र१४ मा तत्कालीन डिष्ट्रिक्ट गभर्नर दिलेन्द्रराज श्रेष्ठ र सन् २०१९र२० मा किरणलाल श्रेष्ठको पालामा यस्तैखालको डिष्ट्रिक्ट कन्फरेन्स भएको थियो । यसपालिको सम्मेलनमा भाग लिन १५ सय जना रोटरियनहरु पोखरा आउने क्रम जारी छ । सम्मेलनस्थल पोखरा इभेन्ट सेन्टर निकै सजाइएको छ । रोटरी विशेषगरी शिक्षा, खानेपानी, सरसफाइ, विपत् व्यवस्थापन, राहत, वातावरण र सामाजिक तथा आर्थिक विकासमा रोटरी क्रियाशील रहँदैआएको छ । नेपालमा विभिन्न रोटरी क्लबहरुले खानेपानी, अस्पतालमा उपकरण सहयोग, स्कुल भवन, कम्प्युटर ल्याब, एम्बुलेन्स लगायत मानवीय सेवामा समर्पित रहँदै आएको पाइन्छ ।