
दीननाथ बराल,
पोखरा १, वैशाख ,
नेपाली नयाँ वर्ष २०८३ को अवसरमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि अमरसिंह चोकसम्म निःशुल्क इलेक्ट्रिक सटल बस सेवा सञ्चालनमा आएको छ । पोखरा महानगरपालिकाको पहलमा विभिन्न वित्तीय संस्था तथा यातायात व्यवसायीहरूको सहकार्यमा मंगलबारदेखि उक्त सेवा सुरु भएको महानगरले जनाएको छ ।
उक्त बस सेवाको एक कार्यक्रमका बिच उद्घाटन गर्दै पोखरा महानगरका मेयर धनराज आचार्यले पाइलट परियोजनाका रूपमा आगामी असार मसान्तसम्म सेवा पूर्ण रूपमा निःशुल्क उपलब्ध गराइने भएको बताउनु भयो । यसपछि भने न्यूनतम शुल्कमा सेवा निरन्तर सञ्चालन गर्ने योजना रहेको उहाँले जनाउनु भयो । काठमाडौंदेखि पोखरा आउँदा वा विमानस्थलबाट लेकसाइडसम्म पुग्दा महँगो ट्याक्सी भाडाबारे गुनासो बढेपछि त्यसको विकल्पका रूपमा यो सेवा ल्याइएको मेयर आचार्यको भनाई छ । अत्याधुनिक सुविधा सहितका ३२ सिटे इलेक्ट्रिक बसमा यात्रुका लागि आरामदायी सिटसँगै लगेज व्यवस्थापनको सुविधा पनि उपलब्ध रहेको छ । बिहान ६ बजेदेखि राति १०ः०० बजेसम्म दैनिक दुई वटा बसले निरन्तर सटल सेवा दिने व्यवस्था मिलाइएको छ । उक्त बसको मुल्य १ करोड २५ लाख रुपैयाँ रहेको छ ।
यसैबीच, मेयर धनराज आचार्यले पोखरामा वातावरणमैत्री यातायात विस्तार गर्न व्यवसायीहरूलाई इलेक्ट्रिक बस सञ्चालनमा ल्याउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो“ महानगरले सुरु गरेको सटल बस सेवा केवल यात्रु सुविधा मात्र नभई पोखरामा इलेक्ट्रिक सवारी प्रवद्र्धन गर्ने सन्देश पनि हो, अब हामीले इलेक्ट्रिक सवारी साधनलाई प्रमोशन गर्नुपर्छ ।” यातायात क्षेत्रका सरोकारवालासँग छलफल गरेर निर्णय गरिएको यस परियोजनाले पोखरालाई स्वच्छ र दिगो शहर बनाउने अभियानमा सहयोग पुग्ने महानगरले विश्वास गरेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले यातायात क्षेत्र मानव जीवनको रंक्तसंचार जस्तै रहेको उल्लेख गर्दै उक्त अभियानको सुरुवात हुनु निकै राम्रो भएको बताउनु भयो । आत्मनिर्भरता बढाउन र वातावरणमैत्रि अभियानमा उक्त बस सेवाले थप टेवा पुग्ने उहाँले जनाउनु भयो ।
पोखरा अन्तराष्ट्रिय विमानस्थलका प्रमुख जसोदा रेग्मीले निकै चाप हुदा दैनिक ५ हजार अन्य समयमा दैनिक ३ हजार जना ओहोर दोहोर हुने उहाँले जनाउनु भयो । विमानस्थल देखि अम्मरसिंहचोकसम्म भन्दा पृथ्बीचोकसम्म उक्त सेवा दिन उहाँले सुझाव दिनुभयो । महानगरका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालका अनुसार नयाँ वर्षकै दिन विमानस्थलमा एक समारोहका बीच सेवाको औपचारिक उद्घाटनसंगै सिटिमा परिक्षण समेत गरिएको छ । उक्त अभियानका साझेदारी संस्था महानगर यातायाता प्रा.लि.का अध्यक्ष सन्तोष खतिवडाले देशकै उर्जामा आत्मनिर्भर हुनु पर्छ पानी बाट उत्पादन भएको विश्वकै सबै भन्दा सस्तो बिद्युतको खपत गर्न पनि पोखरा जस्ता शहरमा इभि सवारी आवश्यक भएको बताउनु भयो । नेपालको सबै विमानस्थलबाट एभिका सटल बसहरु संचालन गर्नुपर्छ भन्ने सन्देस दिन पनि पोखराबाट उक्त सुरुवात गरिएको उहाँको भनाई छ ।
पोखरा भ्रमण बर्ष २०२५÷०२६ का संयोजक गोपी बहादुर भट्टराईले पोखरामा राम्रो सुरुवात भएकोले यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । उक्त अभियानले पोखरालाई क्लिन सिटि ग्रिन सिटि अभियानलाई थप टेवा पुग्ने महानगरका प्रवक्ता मोतीराम तिम्सिनाले बताउनु भयो । महानगरको उक्त अभियानमा नीजि क्षेत्र र यातायात व्यवसायीहरुले समेत साथ दिनुपर्ने महानगरका सूचना अधिकारी कृष्णप्रसाद तिवारीले बताउनु भयो ।





