
दीननाथ बराल,
पोखरा, २२ असोज,
जेनजी आन्दोलनको क्रममा पोखरामा भएको तोडफोड र आगजनीका कारण निजी क्षेत्रमा ठूलो क्षति पुगेको भन्दै व्यवसायीहरूले त्यो क्षति दोषीबाटै उपर गर्न माग गरेका छन् । उनीहरूले संकटलाई संकल्पमा बदल्दै पुनः उठ्ने प्रतिबद्धता जनाए पनि राज्य संयन्त्रले दोषीलाई कारबाही गरेर क्षतिपूर्ति गराउने ठोस कदम चाल्नुपर्नेमा जोड दिएका छन् ।

पोखरा उद्योग वाणिज्य संघले बुधबार आयोजना गरेको अन्तक्र्रियामा प्रभावित व्यवसायीहरूदेखि व्यापारी संगठनका पदाधिकारीहरूले एउटै स्वरमा भनाइ राख्दै शान्तिपूर्ण आन्दोलनलाई अधिकारका रूपमा स्वीकारे पनि त्यसकै नाममा भएको तोडफोड, आगजनी र लुटपाटलाई अपराधको संज्ञा दिँदै बिनाशर्त कारबाहीको माग गरे । उनीहरूले व्यवसायीहरू अपराधी नभई रोजगारी सिर्जनाकर्ता भएको भन्दै उच्च मनोबलका साथ पुनः उठ्ने प्रयासमा राज्यले सुरक्षाको पूर्ण प्रत्याभूति दिनुपर्ने अपेक्षा व्यक्त गरे ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले उद्योगी–व्यवसायीमाथि भएको आक्रमण लोकतान्त्रिक संस्कृतिविपरीत भएको टिप्पणी गर्दै लुटपाट र आगजनीमा संलग्नलाई कारबाही नगरेसम्म दण्डहीनता बढ्ने बताए । उनका अनुसार व्यवसाय रोजगारी दिने क्षेत्र हो, अपराध गर्ने होइन भन्ने सन्देश दिनुपर्ने बेला आएको छ । होटल सरोवरका सञ्चालक युवा व्यवसायी प्रतीक पहारीले आफ्नै होटल जलाइएपछि भोगेको पीडा सुनाउँदै विदेश नगई स्वदेशमै केही गर्छु भन्ने सपना जेनजी आन्दोलनका नाममा जलाइए पनि अझै आत्मबल बाँकी रहेको बताए । उनले संकटलाई संकल्पमा बदल्दै चाँडै पुनः उठ्ने अठोट सार्वजनिक गरे ।
पोखरा पर्यटन परिषदका वरिष्ठ उपाध्यक्ष हरि भुजेलले पर्यटन क्षेत्रमा प्रत्यक्ष नकारात्मक असर परेको उल्लेख गर्दै होटल जल्दा टुलुटुलु हेर्न बाध्य भए पनि त्यसले सम्पूर्ण क्षेत्रलाई जलाएको बताए । अन्तर्राष्ट्रिय जगतमा नकारात्मक सन्देश पुगेकाले सरकारले तत्काल राहत प्याकेज घोषणा गर्नुपर्ने उनको माग थियो । होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जेनजी अगुवाले तोडफोड र आगजनीको जिम्मा नलिने भनिसकेकाले त्यसमा संलग्नलाई कारबाही हुनुपर्ने माग गरे । भ्रष्टाचारीको आरोप लगाएर होटल जलाउनेलाई आरोप प्रमाणित गर्न चुनौती दिँदै उनले जेनजीको नाममा उद्योगी–व्यवसायीमाथि अपराध भएको टिप्पणी गरे । होटलमा आगो लगाउनेहरू अपराधी र लुटेरा भएको भन्दै उनीहरुलाई कानूनी दायरामा ल्याउनुपर्नेमा उनले जोड दिए ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुली लगायतले पनि दोषी पहिचान गरी कारबाही गर्ने मात्र नभई क्षतिपूर्ति त्यही व्यक्तिबाट उपर गर्नुपर्ने माग गरे । त्यसैगरी नेकपा (माओवादी केन्द्र) कास्कीका संयोजक विश्वप्रकाश लामिछानेले पनि निजी क्षेत्रको मागलाई समर्थन जनाउँदै जेनजी आन्दोलनलाई लत्माएर विध्वंस मच्चाउनेलाई कानूनी कारबाही हुनुपर्ने माग गरे । संघकी महासचिव शोभा गौतमले संकटलाई संकल्पमा बदल्ने पीडित व्यवसायीको अठोटमा आफूहरूको साथ र सहयोग रहने प्रतिबद्धता जनाइन् ।




