पोखराको व्यवसायमा फैलिँदै गरेका थापा परिवारमा जेनजी आन्दोलनले पुर्‍यायो ठुलो आघात, एक निजी व्यक्तिको सम्पत्तिमा आगजनी हुँदा सयौँ जनाको चुलो कसले बाल्छ ?

-


     पोखरा क्लिक     
     भाद्र २८ गते २०८२ मा प्रकाशित


पोखरा,

पोखरामा व्यवसायी समुदायभित्र अहिलेसम्मकै सबै भन्दा ठूलो मानवीय तथा भौतिक क्षतिको घटनामध्ये एक घटना भदौ २३ र २४ गतेका दिन पोखरामा घट्यो। गण्डकी प्रदेशका मन्त्री तथा सफल व्यवसायी बिन्दुकुमार थापाको दशकौँको पसिना र संघर्षबाट बनेको सम्पूर्ण व्यवसायिक साम्राज्य नियोजित रुपमा गरिएको आगजनी र लुटपाटका कारण क्षणभरमै खरानीमा परिणत भयो।

यो घटनाले न केवल थापा परिवार, तर उनीमाथि भर परेका सयौँ परिवारहरूको रोजगारी, भविष्य र मनोबललाई समेत गम्भीर चोट पुर्‍याएको छ।

दशकौँको संघर्ष एक क्षणमै खरानी

बिन्दुकुमार थापा सामान्य पारिवारिक पृष्ठभूमिबाट व्यवसायिक यात्रामा होमिएका व्यक्ति हुन्। राष्ट्रबैंकको जागिरबाट अवकाश लिएपछि २०६० सालतिर मोटरसाइकल वर्कसपको सानो कोठाबाट सुरु भएको उनको व्यवसायिक यात्रा ३० वर्षको कठिन श्रमपछि अटोमोबाइल, आवास, पर्यटन, होटल, रेस्टुरेन्ट, वित्तीय संस्था जस्ता क्षेत्रमा फैलिएको थियो। थापाले सञ्चालन गर्दै आएका पोखरा ट्रेड मल, बगैचा रिसोर्ट, अंशुभरा स्क्वायर, मन्त्र थकाली किचन लगायतका व्यवसायिक प्रतिष्ठानमा प्रत्यक्षरअप्रत्यक्ष रुपमा सयौँ युवाहरू रोजगारीमा संलग्न थिए।

तर जेनजी आन्दोलनको क्रममा प्रवेश गरेका केही स्वार्थी समूहले आन्दोलनको आडमा उनीहरूको घरदेखि व्यवसायिक संरचनासम्ममा आगो लगाउँदै लुटपाट गरेपछि, दशकौँको मेहनत एकै झड्कामा खरानीमा परिणत भयो। यस घटनामा अंशुभरा स्क्वायरमा कार्यरत एक महिला कर्मचारी र थापाका भाइ ध्रुव थापाको निवासमा बसेकी एक महिलाको ज्यान समेत गएको पुष्टि भएको छ।

“जीवनभर पसिना बगाएको सम्पत्ति नियोजित रूपमा खरानी पारियो” — थापा

घटनापछि मन्त्री थापाले आफ्ना घर र व्यावसायिक प्रतिष्ठान जल्दै गरेको दृश्यसहित भावुक स्टाटस लेख्दै भनेका छन् । “जीवनभर पसिना बगाएर, दिनरात नभनी संघर्ष गर्दै, आफ्नै परिवारको सुख–दुःख बिर्सेर व्यवसायमा खट्दा मेरो एउटै सपना थियो—यसको फलले मेरो परिवार मात्र होइन, सयौँ युवाको भविष्य उज्यालो होस्। ।।। तर आज दशकौँको घाम–पानी, आँसु र मिहिनेतले सिर्जना गरेको सम्पत्ति नियोजित रूपमा खरानी पारिँदा हृदय भक्कानिन्छ।”

थापाको अनुसार, उनी सुरुबाटै इमानदारी, पारदर्शिता र श्रमलाई धर्म ठानी अघि बढेका थिए। उनले भ्रष्टाचार नगरेको, कुनै प्रलोभनमा नपरेको र आफ्नो राजनीतिक जीवन पनि व्यक्तिगत स्वार्थका लागि नभई युवाको भविष्य निर्माणको दृष्टिकोणले सुरु गरेको स्पष्ट पारे। उनले भने “यदि मैले भ्रष्टाचार गरेको प्रमाणित हुन्छ भने, म जस्तोसुकै कठोर सजाय भोग्न तयार छु। तर निर्दोष हुँदा पनि यसरी अपमानित हुनु र सम्पूर्ण उपलब्धि खरानी पारिनु अमानवीय मात्र होइन, घोर अपमान हो, अन्याय हो।”

व्यवसाय मात्र होइन, सयौँ युवाको रोजगारी पनि गुम्यो

थापाका व्यवसायहरूमा प्रत्यक्ष रूपमा कार्यरत सयौँ कर्मचारी अहिले रोजगारी विहीन भएका छन्। व्यापारिक प्रतिष्ठान जल्दा त्यहाँ कार्यरत कर्मचारीहरूकै जीवन अस्तव्यस्त बनेको छ। कसैले पढाइ खर्च तिर्ने, कसैले परिवारको भरणपोषण गर्ने, कसैले ऋण तिर्ने आधार गुमाएका छन्।

एक कर्मचारीले आँसु झार्दै भने “हामीजस्ता तल्लो तहका कामदारहरूका लागि थापा सरले सिर्जना गर्नुभएको रोजगारी जीवनरेखा जस्तै थियो। आज हाम्रो चुलो कसले बाल्छ”यही प्रश्न अहिले पोखराका व्यवसायी समुदायमा गुञ्जिएको छ।

व्यवसायीहरू त्रसित, लगानीकर्तामा निराशा

पोखराको व्यवसायिक क्षेत्रलाई थापा जस्ता उद्यमशील व्यक्तिहरूले दशकौँदेखि अगाडि बढाउँदै ल्याएका थिए। उनीहरूले सिर्जना गरेको रोजगार र कर राजस्वले प्रदेशको अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याएको थियो। तर थापामाथि भएको योजनाबद्ध आक्रमणले अहिले व्यवसायी र लगानीकर्ताहरूलाई गहिरो त्रासमा पारेको छ। कतिपयले नयाँ लगानी स्थगित गरेका छन् भने कतिपयले विदेश पलायनको योजना बनाउँदैछन् ।

यति मेहनत गरेर कमाएको सम्पत्ति एकै रातमा खरानी हुन्छ भने हामीले अब यहाँ गर्ने लगानीको बिषयमा सोच्नु पर्ने समय आएको पोखराका एक व्यवसायीले बताए ।

आन्दोलन र अपराधबीचको सीमारेखा

जेनजी आन्दोलनले पारदर्शिता, असमानता र भ्रष्टाचारविरुद्धको आवाज उठाएको थियो। थापाले पनि सुरुमा यसको नैतिक समर्थन गरेका थिए। तर उनी भन्छन् “भदौ २३ गतेको आन्दोलन शान्तिपूर्ण थियो, जसले देशको इतिहासमा उज्यालो दिन बन्न सक्थ्यो। तर भोलिपल्ट आन्दोलनमा आपराधिक समूहहरूको घुसपैठ भयो, जसले आन्दोलनलाई अपहरण गरेर लुटपाट, तोडफोड र आगजनी गरे।” थापाको भनाइमा, यो कुनै आन्दोलन नभई नियोजित आपराधिक गतिविधि हो जसले देशकै अर्थतन्त्रलाई दशकौँ पछाडि धकेलेको छ ।

राजनीति व्यक्तिगत स्वार्थका लागि होइन

थापा दुई पटक प्रदेशसभा सदस्य र एकपटक कानुन मन्त्री भइसकेका छन्। अहिले उनी सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारीमा छन्। तर उनी भन्छन् “मैले राजनीति व्यक्तिगत स्वार्थका लागि रोजेको होइन। राजनीति भनेको जनताको पीडा कम गर्ने बाटो हो भन्ने विश्वासले नै व्यवसायबाट राजनीतिमा प्रवेश गरेको हुँ।” उनले सांसद तथा मन्त्री भएर पाएको तलब, भत्ता र सुविधाहरू पनि समाजसेवामा खर्च गर्दै आएको उल्लेख गर्दै भने “म सांसद र मन्त्री भएर पाउने सुविधा, पारिश्रमिकलाई व्यक्तिगत लाभका लागि प्रयोग गर्नुपर्ने कुनै आवश्यकता थिएन। बरु त्यसमा व्यक्तिगत रकम थपेर असहाय, विपद्मा परेकाहरूका लागि खर्च गर्दै आएको छु।”

पीडाभन्दा ठूलो आत्मबल

थापा भन्छन् “भौतिक सम्पत्तिहरू जलेर नष्ट भए, संरचना खण्डहर बने पनि मेरो आत्मबल, इमानदारी र प्रतिबद्धता जल्न सक्दैन। मेरो सबैभन्दा ठुलो सम्पत्ति मेरो आत्मबल, ईमान र निष्ठा हो, जसलाई कुनै आगोले जलाउन सक्दैन।” उनका अनुसार अहिले उनी र उनको परिवार गहिरो पीडामा छन्, तर शुभचिन्तकहरूबाट प्राप्त माया र सहानुभूतिले उनलाई फेरि उठ्ने दृढसंकल्प दिएको छ।

जिम्मेवारी कसले लिन्छ

थापा र उनका भाइको सम्पत्ति मात्र होइन, दुई निर्दोष महिलाको ज्यान गएको यो घटनाको जिम्मेवारी अझै अस्पष्ट छ। थापा जोड दिएर भन्छन् “सत्य–तथ्य छानबिन भई दोषीमाथि कठोर कारबाही होस्।” साथै, उनी चेतावनी पनि दिन्छन् “यदि निजी व्यक्तिको सम्पत्ति जलाईदिने संस्कृति बढ्दै गयो भने, यसले युवा रोजगारी, राष्ट्रिय लगानी र अर्थतन्त्रलाई ठुलो संकटतर्फ धकेल्छ।”

अबको बाटो — आगो होइन, आशा

थापा भन्छन् “यो खरानीभित्रै नयाँ आशाको बीउ रोपेर फेरि उठ्ने दृढसंकल्प मिलेको छ।” यस घटनाले सम्पूर्ण व्यवसायी समुदायलाई गहिरो चेतावनी दिएको छ कि, कुनै पनि असन्तोष वा आन्दोलनको स्वरूप आपराधिक बन्ने हो भने त्यसले देशकै भविष्य नष्ट गर्न सक्छ। थापाको कथाले सन्देश दिन्छ निजी सम्पत्तिमा आगजनी गर्नु कुनै समाधान होइन, यसले युवाको रोजगारी र भविष्य खरानी बनाउँछ, व्यवसायीलाई त्रासमा पारेर देश विकास हुँदैन, हामी सबैको प्रश्न स् एक निजी व्यक्तिको सम्पत्तिमा आगजनी गर्दा सयौँ जनाको चुलो कसले बाल्छरु के यसरी युवा बेरोजगार बनाउनु नै समाधान हो । यो प्रश्न अब हरेक आक्रोशित युवाको मनमा तीनपटक घन्किन जरुरी छ, ताकि फेरि कुनै थापा जस्ता उद्यमीको पसिना र सपना खरानी नहोस्।