पोखराको बसपार्कमा अनैतिक क्रियाकलाप गरेको आरोपमा १९ जना खाजाघर सञ्चालक पक्राउ

-


     पोखरा क्लिक     
     भाद्र १५ गते २०८२ मा प्रकाशित


पोखरा, १५ भदौ,

पोखराको बाग्लुङ बसपार्क क्षेत्रमा अनैतिक क्रियाकलापमा संलग्न भएको आरोपमा १९ जना खाजा घर संचालहरुलाई पक्राउ गरेको छ । अनैतिक कार्य भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले छापा मार्दा १९ जना खाजाघर सञ्चालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी टोलीले भदौ १३ गते दिउँसो २ बजेतिर बाग्लुङ बसपार्क क्षेत्रमा सञ्चालन भइरहेका विभिन्न खाजाघरमा छापा मारी उहाँहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकृत हरिबहादुर बस्नेतले पाखराक्लिकलाई बताउनु भयो । प्रहरीले पक्राउ परेकाहरू माथि लागुऔषध सेवन, यौनजन्य गतिविधि तथा क्षेत्रीय अशान्तिमा संलग्न रहेको आरोप लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीले सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूरमा उहाँहरुलाई पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको सूचना अधिकृत बस्नेतले बताउनु भयो । पक्राउ पर्नेहरुमा प्रकाश गुरुङ, निरु तामाङ, राधिका नेपाली, टिका माया तामाङ, विष्णु किसान, आशा मगर, माया कार्की, मन कुमारी किसान, मञ्जु लामा, लक्ष्मी बिक, आशा तामाङ, सुवास दर्जी, बिमला मगर, मनदेवी घर्ती, बेल कुमारी रानाभाट, मिना कुमारी गुरुङ, सरिता परियार, मिना सिर्पाली र सता परियार रहनु भएको छ ।

कास्कीका प्रहरी प्रमुख एसपी श्याँमबाबु ओलिया नेतृत्वको टोलीले हाल कास्कीमा समाज रुपान्तरणमा सुन चाँदीमा काम गर्ने कालीगढदेखि विभिन्न क्षेत्रमा हुने गरेको आर्थिक अनियमितता बिरुद्ध खरो रुपमा उत्रिनु भएको छ । तत्कालिन एसपी बसन्तकुमार लामा नेतृत्वको टोलीले करिब एक दशक अघि कडा अपरेशन चलाएपछि पोखरा बसपार्कबाट अनैतिक क्रियाकलाप गर्ने र गराउनेलाई त्यहाँबाट हटाउनु भएको थियो । पोखराका केही क्षेत्रमा खाजा घरको नामबाट अझै पनि अनैतिक क्रियाकलाप हुने गरेको स्थानियले बताउनु हुन्छ ।



This will close in 20 seconds