
दीननाथ बराल,
पोखरा, ५ साउन,
पोखरामा कोरोना भाइरस संक्रमणका कारण एक ७४ वर्षीया वृद्धाको ज्यान गएको छ। पोखरा–११ फुलवारीकी ती वृद्धाको चरक अस्पतालमा उपचारको क्रममा आइतबार निधन भएको गण्डकी प्रादेशिक स्वास्थ्य निर्देशनालयका महानिर्देशक डा. खिमबहादुर खड्काले जानकारी दिनुभयो। उहाँका अनुसार ती वृद्धामा अन्य दीर्घरोग—मधुमेह (सुगर) र उच्च रक्तचापको समस्या समेत देखिएको थियो।
वृद्धामा असार २५ गते गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो । महानिर्देशक डा.खड्काका अनुसार गत वर्षदेखि कोरोना विरुद्धको खोप अभियान बजेटको अभावका कारण प्रभावकारी रूपमा अघि बढ्न सकेको छैन।
हाल कास्कीमा ३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सूचना अधिकारी प्रशान्तराज शर्माले जानकारी दिनुभयो। उहाँले गण्डकी प्रदेशमा सन् २०२४ मा हालसम्म १० जनामा र सन् २०२३ मा ८० जनामा कोरोना संक्रमण देखिएको पोखराक्लिकलाई जनाउनु भयो ।





