
दीननाथ बराल,
पोखरा ३१, वैशाख,
पोखरामा बुधबार इलेक्ट्रिक माइक्रो बस (इभि) गाडी दुर्घटनामा परी एक वालक सहित ३ जनाको मृत्यु भएको छ । इभि गाडीमा सवार धार्दिङ निलकण्ठ २ भुलभुलेका १५ बर्षिय वालक आगम गुरुङ, पोखरा २५ हेमजाकी ५१ बर्षीया झाङमाया गुरुङ र धार्दिङ खरी की ४५ बर्षीया तिलकुमारी आचार्यको उक्त गाडी दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी हरि बहादुर बस्नेतले पोखराक्लिकलाई बताए ।
धार्दिङ देखि पोखरा आउदै गरेको ग १ ज ८६३० नम्बरको इभि गाडी बुधबार करिब ३ः३० बजे पोखरा ३२ लामेआहालमा दुर्घटना भएको उनले जनाए । उक्त दुर्घटनामा परी १ जना गम्भिर घाइते भएका छन् । घाइते ४ जनालाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रिय अस्पताल) मा र ७ जनालाई पोखरा विश्वविद्यालय टिचिङ अस्पतालमा उपचारका लागि लगिएको थियो । घाइते मध्य ३ जनाको डिस्चार्ज भएको जिल्ला ट्राफिक कार्यालय कास्की प्रमुख प्रहरी निरिक्षक शोभा पाण्डेले जानकारी दिइन् । एक जनालाई सिटी स्क्यानका लागि मणिपाल शिक्षण अस्प्ताल लगिएको प्रहरीले जनाएको छ । चालक पोखरा १४ का ४६ बर्षीय रमेश ढुंगना समेत घाइते भएका छन् ।
चालकले आफ्नो नियन्त्रण गुमाउदा पृथ्बीराजमार्गको सडक देखि करिब ३५ मिटर तल्लो झाडी तथा बारीमा गाडी हुत्तिएको स्थानियले बताए । उक्त गाडी भने कुच्चीएको अबस्थामा रहेको छ । उक्त गाडीमा चालक सहित ११ जना सवार थिए ।





