
दीननाथ बराल,
पोखरा १५, वैशाख,
पोखरामा बुधबारदेखि सामुदायिक बिद्यालय संचालन गर्न पोखरा महानगरपालिकाले निर्देशन दिएको छ । यस अघि पनि वैशाख ११ गते देखि बिद्यालय संचालन गर्न निर्देशन जारी गरेको महानगरले अधिकांश बिद्यालयहरु हालसम्म संचालन हुन नसके पछि पुनः बिद्यालय संचालन गर्न निर्देशन दिएको हो ।
शिक्षकहरुको माग पूरा नभएकोले अधिकांश शिक्षक काठमाण्डौंमा आन्दोलनमा हुनुहुन्छ । पोखरा महानगरपालिकाले सामुदायिक विद्यालयहरुलाई यही वैशाख १७ गते( बुधबार) देखि नियमित रुपमा कक्षा संचालन गर्न निर्देशन दिएको हो ।
नेपाल शिक्षक महासंघको आन्दोलनले सामुदायिक विद्यालयको पठन पाठन प्रभावित भएकाले यही वैशाख १७ गते भित्र सामुदायिक विद्यालयहरुलाई संचालन गर्न महानगरले सूचना जारी गरेको हो ।
पोखरा महानगरपालिका, नगर शिक्षा समितिको यही वैशाख १४ गतेको निर्णयानुसार वैशाख १७ गतेसम्ममा पठन–पाठन नियमित रुपमा सञ्चालन गर्न सम्पूर्ण शिक्षक, विद्यार्थी, विद्यालय कर्मचारी, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ लगायत सम्पूर्ण सरोकारवालाहरुलाई महानगरले जारी गरेको सूचना मार्फत अनुरोध समेत गरेको छ । यस अघि वैशाख ८ गते देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने भने पनि भर्ना सहित शिक्षक आन्दोलनका कारण वैशाख ११ गतेबाट संचालन गर्न निर्देशन दिएको थियो ।
शिक्षक आन्दोलनले विद्यालयमा पढाइ अवरुद्ध हुँदा विद्यार्थीको शैक्षिक भविष्य अन्यौल हुने हुदाँ कक्षा संचालन गर्न आफुहरुले पत्रचार गरिएको महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख हेम प्रसाद आचार्यले बताए । नेपाल शिक्षक महासंघको आयोजनामा गत चैत २० गतेदेखि काठमाण्डौंमा शिक्षक आन्दोलन जारी रहेको छ ।




