पोखरा क्लिक अनलाइनको निःशुल्क स्वास्थ्य शिविर, नेपाल कै एक मात्र वरिष्ठ प्रतिरक्षा तथा बाल बाथरोग विशेषज्ञ पहिलो पटक पोखरामा

-


     पोखरा क्लिक     
     वैशाख ६ गते २०८२ मा प्रकाशित


पोखरा ६, वैशाख

नेपाल कै एकमात्र वरिष्ठ प्रतिरक्षा तथा बाल बाथरोग विशेषज्ञ (MBBS, MD, DM, FESID) धर्मागत भट्टराईबाट गण्डकी प्रदेशमै पहिलो पटक पोखरा आउने भएका छन् । उनलाई पोखरासम्म ल्याउने जाँचोपाँजो पोखरा क्लिक अनलाइन सञ्चार गृहले जुराएको हो ।

पोखरा क्लिकको आयोजना, पोखरा नयाँबजारमा सञ्चालनमा आउँदै रहेको म्याक्स सुपर स्पेसियालिटी हस्पिटलको प्राविधिक सहयोग र पोखरा ९ वडा कार्यालयको समन्वयमा सञ्चालन हुने निःशुल्क स्वास्थ्य शिविर तथा परामर्शका लागि भट्टराई पोखरा आउन लागेका हुन् ।

प्रतिरक्षा तथा बाल बाथरोगको पहिचान गर्नमा समस्या, पहिचान पछि निदानमा उस्तै समस्या रहेकाले गण्डकी प्रदेशका जनसमुदायलाई यो रोगका बारेमा केही सुसूचित गर्न सकियो भने आगामी दिनमा यस्ता रोगका बिरामीले समयमै उपचार पाउँदा परिवार र समुदायलाई आर्थिक तथा मानसिक हिसाबले सहज होस् भन्ने अभिप्रायले भट्टराईलाई पोखरामा ल्याएर शिविर सञ्चालन गरिएको सञ्चार गृहका अध्यक्ष दीननाथ बरालले जानकारी दिए ।

शिविर पोखरा नयाँबजारमा अवस्थित बृहस्पति पेट्रोल पम्पको ठीक अगाडि हस्पिटल परिसरमा २०८२ वैशाख १३ गते शनिबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने भएको हो ।

१६ वर्ष भन्दा कम उमेरका बालबालिकालाई सहभागी गराउन आह्वान गरिएको उक्त शिविरमा आउने अन्य सेवाग्राहीलाई हस्पिटलको प्रयोगशालामा मधुमेह र पिसाब निःशुल्क परीक्षणको सुविधासमेत अस्पतालले उपलब्ध गराएको छ ।

उक्त शिविरमा अन्य परीक्षण गराउने सेवाग्राहीलाई अस्पतालले ५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.डोलेन्द्र आचार्यले जानकारी दिए ।

आचार्यले थपे– “हस्पिटल सञ्चालनको पूर्व सन्ध्यामै सञ्चार संस्थासँगको सहकार्यमा शिविर सञ्चालन गर्न पाउँदा निकै गौरवबोध भएको छ, आगामी दिनमा विभिन्न संघसंस्थासँगको समन्वयमा निरन्तर सेवामूलक सचेतना र शिविर सञ्चालन गर्दै अगाडि बढ्ने कार्ययोजना हस्पिटलको रहेको छ ।”



This will close in 20 seconds