
जया पौडल,
पोखरा २, वैशाख,
कास्कीको रुपा गाउँपालिकाले स्थापना गरेको रुपा अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ । बिमा बोर्डसँगको सहकार्यमा रुपा अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले बताउनु भयो ।
यस अघि स्वास्थ्य बिमा कार्यक्रमको सेवा लिन पोखरासम्म आउनु पर्ने बाध्यता भए पनि उक्त अस्पतालमा बिमा सेवा सुरु भएसंगै स्थानियलाई राहत हुने भएको उहाँले जनाउनु भयो ।
अध्यक्ष ओझाले सेवाग्राही जानकी गुरुङलाई बिरामी पुर्जा हस्तान्तरण गर्दै स्वास्थ्य बिमा कार्यक्रम सोमबार सुरुवात गर्नुभएको हो । स्वास्थ्य सेवामा जनताको पहुँच बढाउन स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको उहाँले बताउनु भयो ।
स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत ५ जनाको परिवारको बिमा गर्दा लाग्ने ३ हजार ५ सय रुपियाँको पचास प्रतिशत गाउँपालिकाले सहयोग गर्ने भएको अध्यक्ष ओझाले जनाउनु भयो । पालिकाले १ हजार ७ सय ५० रुपैया बिमा स्वास्थ्य कार्यक्रम अन्र्तगत प्रति घर परिवारमा लगानी गर्ने भएको हो । बिमाको लागि अनुदान दिन पालिकाले चालु आर्थिक वर्षमा २० लाख रुपैया बजेट विनियोजन गरेको ओझाले उल्लेख गर्नुभयो ।
जनतालाई स्थानीय सरकारको अनुभूति दिलाउन नयाँ वर्षमा नयाँ कामको थालनी गरेको बताउदै अध्यक्ष ओझाले स्वास्थ्यलाई प्राथमिकतामा राखेर अस्पताल सहित ९ वटा स्वास्थ्य संस्थाबाट सेवा दिइरहेको उल्लेख गर्नुभयो । स्वास्थ्य सेवामा जनताको पहुँच बढाउन सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
२ जना चिकित्सक सहित २८ जना अस्पतालमा कार्यरत रहेको र आगामी वर्षदेखि दाँतको सेवा विस्तार गर्ने योजना ओझाले बताउनु भयो । अस्पताल र स्वास्थ्य संस्थामा पालिकाले ५० लाख खर्च गर्दै आएको छ । स्वास्थ्य सेवालाई सहज बनाउन ९ वटै स्वास्थ्य संस्थामा गरी ३७ जनालाई करार नियुक्त गरिएको पालिकाले जनाएको छ । ओझाका अनुसार अस्पतालमा सेवा लिन आएका मध्ये ३० प्रतिशतलाई मात्र अनेत्र रिफर गर्ने गरिएको छ । जनतालाई सहज हुने गरी बिहान ८ बजेबाट नै बहिरंग सेवा(ओपिडी) सुरु हुन उहाँले बताउनु भयो ।
जनतासँग प्रत्यक्ष जोडिएको सेवाको सुरुवात हुनु सुखद पक्ष भएको बताउँदै ५ महिनाको तयारीपछि सेवा आरम्भ भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी बरालले बताउनु भयो ।
रुपा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर सुवास सुवेदीले अस्पतालबाट २४ सै घण्टा इमर्जेन्सी सेवा, सार्वजनिक बिदाको दिन बाहेक ओपिडी सेवा, निशुल्क एम्बुलेन्स सुविधा, एक्स रे मेसिन, ल्याब, फार्मेसी, गर्भवती जाँच, गाउँघर स्वास्थ्य क्लिनिक, नियमित खोप सेवा उपलब्ध भएको जानकारी दिनुभयो । उहाँले स्वास्थ्य जनचेतना जगाउन विद्यालय कार्यक्रम अस्पतालले गर्दै आएको जानकारी दिनुभयो । रुपा गाउँमा करिब ३ हजार ५ सय घर परिवार रहेका छन् ।