
पोखरा, फागुन १०,
पोखरामा शनिबार फोहोर संकलन दौड प्रतियोगिता आयोजना गरिएको छ । ‘स्वच्छ देश, हाम्रो परिवेश’ भन्ने नाराका साथ फोहोर संकलन दौड गरिएको हो । पालिखेचोकस्थित प्रतिभा माविमा भेला भएका तीनहजार बढी युवालाई सहभागि गराएर सहरको फोहोर संकलन गर्दै दौड्ने प्रतियोगिता आयोजना गरिएको थियो ।

मैनादेवी फाउन्डेसनको आयोजना तथा पोखरा महानगरपालिका, प्रतिभा मावि, टार्गेट एजुकेसनल कन्सल्टेन्सी लगायत विभिन्न संघ संस्थाको सहकार्यमा भएको दौडको शुभारम्भ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरेका थिए । दौड उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले यस्ता दौडले आम नागरिकमा फोहोर नगर्नका लागि जागरण ल्याउन सहयोग पुग्ने बताए । सहरमा देखिने फोहोर मात्र नभएर नागरिक भित्रको नकारात्मक सोचलाई बदल्न पनि यस्ता कार्यक्रमले सघाउने उनले बताए । फोहोर संकलन दौडले आमनागरिकमा सरसफाईको महत्व अझै बढि बुझ्न र व्यवहारमा लागु गर्न प्रेरित गरेको पनि उनले बताए ।
‘सडकमा देखिएको फोहोर मात्र होईन हरेक नागरिकले आफु भित्रको नकारात्मक सोचलाई पनि सफा गर्न जरुरी छ,’ मुख्यमन्त्री पाण्डेले भने, ‘सकारात्मक सोचले पनि बातावरण सफा राख्न सघाउँछ ।’ सबै नागरिक मिलेर सरसफाईलाई दैनिकीको हिस्सा बनाउँदा स्वच्छ पोखरा, स्वच्छ गण्डकी प्रदेश र सिंगो देशलाई नै स्वच्छ बनाउन सकिने उनले बताए । वातावरणीय प्रभाव र पर्यावरणमा देखिएको असर न्यूनिकरण गर्नु, प्रदुषण रहित वातावरण सिर्जना गर्नु सबैको दायित्व रहेको उनको भनाई छ ।
‘अब सफाई गर्नुभन्दा फोहोर हुन नदिने अभियानमा सबै लाग्नुपर्छ,’ मुख्यमन्त्री पाण्डेले भने, ‘फोहोर सफा गर्ने भन्दा पनि फोहोर नै हुन नदिनेतर्फ ध्यान दिनुपर्छ। बाटोमा फोहोर फ्याकेर झ्यालबाट हेरेर बस्दै महामनगरलाई गालि गर्ने अवस्थाको अन्त्य गर्नुपर्छ ।’ प्रतिभा माविका प्राचार्य किरण सापकोटाका अनुसार युवापुस्तामा हरियालीको महत्व, जलवायु परिवतर्नको र स्वच्छ सहरबारे जानकारी दिलाउनका लागि विभिन्न निकायसँगको सहकार्यमा कार्यक्रम गरिएको हो । विद्यालयस्तरका विद्यार्थी सहितको यो सहभागिताले नयाँपुस्तामा हरियाली प्रवद्र्धनको महत्वबारे ज्ञान बढ्ने अपेक्षा रहेको उनले बताए ।
‘युवापुस्ताले जलवायु परिवर्तनबारे उत्तिसारो चाँसो राखेको छैन । जलवायु परिवर्तनको असर नजानिदो तरिकाले परिरहेको छ, तर, त्यसमा नयाँ पुस्ताले ध्यान दिएको छैन,’ सापकोटाले भने, ‘युवालाई नै जागरुक गराउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो ।’ मैनादेवी फाउन्डेसनका अध्यक्ष केपी खनालले स्वच्छ, सुन्दर र हरियाली सहर बनाउने अभियानलाई आत्मसात गर्दै आम नागरिकमा सरसफाइप्रति जागरुक गराउन दौड आयोजना गरिएको बताए । वातावरण संरक्षण र स्वच्छतामा युवा, विद्यार्थी र नागरिकलाई सचेत र एकजुट बनाइ फोहोर नगर्न प्रेरित गर्ने उद्देश्यले दौड गरिएको उनको भनाइ छ । दौड पाँच किमी सडकमा भएको हो । पोखराको नदीपुरस्थित प्रतिभा माविबाट सुरु भएको फोहोर संकलन दौड पालिखेचोक, महेन्द्रपुल, नयाँ बजार, पृथ्वीचोक, सभागृहचोक, न्युरोडहुँदै पुन प्रतिभा माविमा पुगेर समापन भएको हो ।
मैनादेवी फाउन्डेसनले लामो समयदेखि ‘स्वच्छ देश हाम्रो परिवेश’ भन्ने नाराका साथ सामाजिक सचेतना र पर्यावरणका क्षेत्रमा कार्यक्रम गर्दै आएको छ । हरियाली प्रवद्र्धन, जलवायु परिवर्तन र स्वच्छ सहरका निम्ति ३ हजार भन्दा बढी युवाको सहभागितमा फोहोर संकलन दौड आयोजना गरिएको फाउन्डेसनले बताएको छ ।फाउन्डेसनका अध्यक्ष केपी खनालले स्वच्छ, सुन्दर र हरियाली सहर बनाउने अभियानलाई आत्मसात गर्दै आम नागरिकमा सरसफाइप्रति जागरुक गराउन दौड आयोजना गरिएको बताए । वातावरण संरक्षण र स्वच्छतामा युवा, विद्यार्थी र नागरिकलाई सचेत र एकजुट बनाइ फोहोर नगर्न प्रेरित गर्ने उद्देश्यले पोखरामा पनि दौड गरिएको खनालको भनाई छ ।
दौडमा दुई जनाको जोडी बनाएर फोहोर संकलन गर्नुपर्ने नियम छ । एक घण्टाको दौडमा प्रतियोगिले संकलन गरेको फोहोरलाई जोखेर सबै भन्दा धेरै फोहोर संकलन गर्नेलाई पुरस्कार वितरण गरिने फाउन्डेसनका सदस्य सृष्टि घिमिरेले बताउनुभयो । विभिन्न विद्यालय र तथा कलेजका विद्यार्थी नेपाल प्रहरी, नेपाली सेना, लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि दौडमा सहभागी भएका थिए ।
वातावरण संरक्षणमा आम नागरिकमा जागरुक गराउन मैनादेवी फाउन्डेसले देशका अन्य सहरमा पनि यस्ता कार्यक्रम गरेको छ । फोहोर नगर्नका लागि सेचत गराउने उद्देश्य फाउन्डेसनको छ । प्रतियोगितामा प्रथम हुनेले ५० हजार, दोश्रोलाई २५ हजार र तेश्रोलाई १५ हजार रुपैयाँ पुरस्कार दिइएको छ। फाउन्डेसनले यसअघि यस्तै कार्यक्रम काठमाडौंमा तीनपटक र चितवनमा एकपटक आयोजना गरेको थियो।
दौडमा दुईजनाको जोडी बनाएर फोहोर संकलन गर्नुपर्ने नियम बनाइएको थियो । एकघण्टाको दौडमा प्रतियोगिले संकलन गरेको फोहोरलाई तौलेर सबै भन्दा बढी तौल फोहोर संकलन गर्नेलाई पुरस्कार वितरण गरिने फाउन्डेसनले बताएको छ । विभिन्न विद्यालय तथा कलेजका विद्यार्थी नेपाल प्रहरी, नेपाली सेना, लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि दौडमा सहभागी भएका थिए ।




