मन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्यमा सुधार अबको केही दिनमै डिस्चार्ज हुने

-


     पोखरा क्लिक     
     फागुन ४ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,
पोखरा ४, फागुन,

पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहमा भएको बेलुन विस्फोट हुँदा घाइते हुनु भएको नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेल र पोखराका मेयर धनराज आचार्यको स्वास्थ्यमा क्रमिक सुधार हुदै आएको छ । कीर्तिपुरको र्कीर्तिपुर अस्पतालमा उहाँहरुको शनिबार देखि सघन उपचार कक्ष (आईसियू) मा उपचार हुदै आएके छ भने उहाँहरुको स्वास्थ्यमा समेत क्रमिक सुधार हुदै आएको अस्पताल श्रोतले जनाएको छ ।

मन्त्री पौडेल र मेयर आचार्यको अनुहारमा करिब ५ देखि ६ प्रतिशत जलन भएकोले श्वासनली र फोक्सोमा असर पर्न सक्ने भएकोले केही दिन उच्च निगरानीमा राखेर उपचार गर्नुपर्ने अबस्था रहेको उपचारमा संलग्न डा.बिशाल कार्कीले बताउनु भयो । यही अबस्थामा उहाँहरुको स्वास्थ्यमा सुधार आएको खण्डमा अबको केही दिनमै डिस्चार्ज गर्न सकिने उहाँले पोखराक्लिकलाई बताउनु भयो । उहाँहरुको व्लड प्रेसर, अक्सिजनको मात्रा , पिसाप, फोक्सो नर्मल अबस्थामा रहेको डा. कार्कीले जनाउनु भयो ।

उहाँहरुकोे उपचारमा प्रा.डा.वि.डी. झा, डा. प्रविन गिरी लगायतको सघन उपचार कक्षको टोली खटिनु भएको छ भने त्यसै गरी प्रा.डा. शंकरमान राई, डा. बिशाल कार्की, डा.मनिष यादव लगायतको टोली जलन विशेषज्ञहरुको उपचारमा लाग्नु भएको छ । त्यस्तै डा. प्रयुस अयौल लगायतको टोली आकस्मिक उपचारमा र रिना गौचन, निर्मला कुंवर, तृष्ण महर्जन लगायतका नर्सिङ टोली मन्त्री पौडेल र मेयर आचार्यको उपचारमा संलग्न हुनु भएको अस्पतालले जारी गरेको प्रेस विज्ञेप्तिमा उल्लेख गरिएको छ ।
यसैबिच प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्री पौडेल र मेयर आचार्यलाई भेटघाट गर्दै स्वास्थ्य अबस्था बारे बुझ्नु भएको छ । उहाँहरुको उपचारमा बिषेश ध्यान दिन आग्रह गर्दै प्रधानमन्त्री ओलीले मन्त्री पौडेल र मेयर आचार्यको शिघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभयो ।

राष्ट्रपति रामचन्द्र पौडेलले समेत मन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अबस्थाको बारेमा बुझ्न र भेटघाट गर्न अस्पताल पुग्नु भएको थियो । उक्त घटनाको बिषयमा सत्य तथ्य बाहिर ल्याउन र घटनाको बास्तविक बारे सार्वजनिक गर्न छानबिन गर्न आठ सदस्यीय समिति गठन भएको छ । नेपाल सरकार गृहमन्त्री रमेश लेखकले कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानबिन समिति गठन गरेका हुन् । समितिलाई १५ दिनभित्रमा छानबिन प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको छ ।

मन्त्रीस्तरीय निर्णयबाट गठित समितिमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलिया, सशस्त्र प्रहरीका २४ नम्बर गण बाहिनीका प्रमुख सूर्यप्रसाद तिमिल्सिना, राष्ट्रिय अनुसन्धान कास्की जिल्ला कार्यालयका उप अनुसन्धान निर्देशक सुरेशकुमार तिवारी सदस्य र कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्री सदस्य सचिव रहेको समिति गठन गरिएको हो । समितिमा एक जना विष्फोटक पदार्थ विज्ञ समेत सदस्यका रुपमा रहने व्यवस्था गरिएको छ ।

समारोहमा उद्घाटनको क्रममा बेलुन उडाउने क्रममा मन्त्री पौडेल र मेयर आचार्य संगै आतिसवाजी जस्तै झिलिमिलि बत्तिको झिल्कोले बेलुनमा आगो लागेसंगै एकै पटक ठुलो आवाज सहित आगोको ज्वालाले उनीहरुको अनुहार हातमा जलन भएको थियो । उक्त वेलुनमा नाइट्रोजन ग्याँस भएकोले आगोको झिल्को परेका कारण बेलुन पट्कदै वेलुनमा भएको नाइट्रोजन ग्याँसमा एकै पटक आगो लागेको थियो । छानबिन समिति गठन गरेपछि गृहमन्त्री लेखक अस्पताल पुगेर उहाँहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको थियो । यस बिषयमा सम्बन्धित पक्षसंग छलफल गरेर घटनाको बारेमा प्रतिवेदन तयार गर्ने कास्कीका प्रमुख जिल्ला अधिकारी पाण्डेले पोखराक्लिकलाई बताउनु भयो ।