मुलुक भत्कानबाट बचाउदै ट्याकमा ल्याएका छौं मन्त्री गुरुङ

-


     पोखरा क्लिक     
     पौष १३ गते २०८१ मा प्रकाशित


पोखरा १३, पुष,

नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले मुलुकलाई भत्कानबाट बचाउदै हाल ट्याकमा ल्याएको बताउनु भएको छ । कास्कीको माछापुच्छ«्रे गाउँपालिका–१ टुसेमा हालै निर्माण भएको नाना मोहन ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको आज (शनिबार) उद्घाटन गर्दै उहाँले मुलुक भत्कान लागेको अबस्थाबाट हाल ट्याकमा ल्याएको बताउनु भएको हो ।

मुलुकमा अझै केही समय सन्तुलन राखेर काम गर्नुपर्ने बताउदै मन्त्री गुरुङले राजश्व केही बृद्धि देखि पुंजिगत खर्च बढ्न थालेको जनाउनु भयो । पुंजिगत खर्च नभई देशमा रोजगार सृजना नहुने उहाँको तर्क थियो । सहकारी छानविन समितिले दिएको प्रतिवेदनको आधारमा दोषी ठहरिएका सबैको छानविन गर्ने उहाँले बताउनु भयो ।

प्रमुख राजनीतिक दलहरूको सहमतिमा संविधान संशोधन गरिने मन्त्री गुरुङले जनाउनु भयो । संविधान संशोधनका निम्ति संविधानको समीक्षा गरिने उहाँले जनाउनु भयो । प्रतिनिधिसभा र राष्ट्रिय सभाका समितिमा विचाराधीन विधेयकहरू शीघ्र अनुमोदन गर्ने र रोकिएका विधेयक मापदण्ड तयार गरी यथाशीघ्र टुङ्गो लगाउने सरकारको योजना रहेको मन्त्री गुरुङको भनाई थियो ।

प्रदेश र स्थानीय तहका लागि आवश्यक कानुन चाँडै निर्माण गर्न प्रक्रियागत काम सरकारले अघि बढाएको उहाँले उल्लेख गर्नु भयो । ज्येष्ठ नागरिकको हकहित र अधिकार संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताउदै मन्त्री गुरुङले उक्त केन्द्रको बाँकी केही भौतिक संरचना निर्माणमा सरकारले सहयोग गर्ने वचन दिनु भयो ।

त्यस अवसरमा स्वीट्जरल्याण्डका एहमान स्टिफटङको रु पाँच करोड आर्थिक सहयोगमा निर्माण भएको दिवा सेवाकेन्द्र भवन आमा स्मृति प्रतिष्ठानलाई हस्तान्तरण गरिएको थियो । भवन निर्माणका लागि स्थानीय कर्णबहादुर गुरुङले आफ्ना स्वर्गीय आमा नाना र बुबा मोहनको स्मृतिमा चार रोपनी जग्गा प्रदान गर्नु भएको थियो । कोरोनाका कारण उक्त भवन निर्माणमा केही समय ढिला भएको बताइन्छ ।