
दीननाथ बराल
पोखरा ५, मंसिर
पोखरा महानगरपालिका सहित देशका ६० वटा स्थानिय तहमा ऊर्जामैत्री भवन निर्माण गर्न सुरु भएको छ । युरोपियन युनियन अन्तर्गत स्वीच एसिया कार्यक्रमको अनुदानमा बिल्डिङ इनर्जी इफिसियन्सी इन नेपाल (बिन) द्वारा घर तथा भवन निर्माणमा हुने ऊर्जा खपतबारे गरिएको अध्ययन प्रतिवेदनमा ऊर्जामैत्री भवन बनाउन सकिएमा आर्थिक, वातावरणीय र स्वास्थ लाभ लिन सकिने भएसंगै त्यस्ता भवनहरु बनाउन पोखरा सहित ६० पालिकाले सुरु गरेको हो ।

ऊर्जामैत्री भवन बनाउदा सुरुमा ५ प्रतिशत लागत खर्च भए पनि त्यसमा बार्षिक ४० हजार भन्दा बढी उर्जा बचत हुने विन परियोजनाकी सिनियर आर्किटेक दिब्या आचार्यले बताउनु भयो । घर तथा भवन निर्माण गर्दा भौगोलिक अवस्थिति, हावापानी, उचाइ र तापक्रम अनुसार डिजाइन गरिनु आवश्यक हुने उहाँले पोखराक्लिलाई जनाउनु भयो । ऊर्जाको दक्षतापूर्ण प्रयोग बढाउन निर्माण हुने घर तथा भवन डिजाइनमा ध्यान दिनुपर्ने उहाँको भनाई छ ।
यसमा बढ्दो सहरीकरण र बजार मागअनुसार भवनको डिजाइन कसरी गर्नेदेखि स्थानीय जलवायु, बढ्दो ऊर्जा खपत लगायतलाई विषयलाई समेटिएको आर्किटेक आचार्यले जनाउनु भयो । परियोजनाले ऊर्जा प्रभावकारी भवन निर्माणलाई प्रोत्साहन गर्न वित्तीय स्रोतमा पहुँच पुर्याउने उद्देश्यले वाणिज्य बैंकहरूसँगको साझेदारीमा वित्तीय साधनको विकास गरी ऊर्जा प्रभावकारी भवन निर्माण क्षेत्र र वाणिज्य बैंकहरूबीच सम्बन्ध स्थापना गरेको छ ।
ऊर्जामैत्री भवन बनाउदा ग्लोवल आईएमई बैंकले ७.९९ प्रतिशतमा कर्जा लगानी गर्ने भएको बैंकका डिपुटि म्यानेजर नारायण पौडेलले बताउनु भयो । हालै पोखरामा उक्त भवनको बारेमा जानकारी गराउने उद्धेश्यले आयोजित छलफल कार्यक्रममा बोल्दै उहाँले उक्त भवन बनाउदा बैंकले ९ वटा क्याटागोरी मध्य कम्तिमा ४ वटा क्याटागोरी पूरा गर्नेकालाई मात्र कर्जा लगानी गर्ने जनाउनु भएको हो । उक्त कर्जा अन्य कर्जाको तुलनामा १ प्रतिशत सहुलियत भएको बैंकले जनाएको छ ।




