
दीननाथ बराल,
पोखरा ५, कार्तिक,
नेपाली सेनाबाट निवृत्त भई यूएईको सार्जा पोर्ट हाप म्याराथन दौड प्रतियोगितामा ह्याट्रिक पूरा गर्न सफल कास्की रुपा गाँउपालिकाका धावक अर्जुन गोदार आज बिहान देखि काठमाण्डौंबाट पोखरा तर्फ दौडेर आउदै हुनुहुन्छ । काठमाडौँको दशरथ रंगशाला देखि सुरु भएको उक्त दौड करिब २ सय किलोमिटरको दौड उहाँले तीन दिन भित्र पूरा गर्ने लक्ष्य सहित आजबाट उक्त दौड सुरु गर्नु भएको हो ।

आज बिहान ५ः१७ बजे काठमाण्डौंबाट दौड सुरु भएको विकास खड्काले काठमाण्डौंबाट पोखराक्लिकलाई जानकारी गराउनु भएको छ । काठमाडौँको दशरथ रङ्गशालाबाट सुरु गरी उक्त प्रतियोगिता ३ दिनको दौरानमा पोखरा रङ्गशालामा आएर समापन गर्ने गोदारको लक्ष्य रहेको छ । दैनिक ७० किलोमिटर दौड पूरा गर्ने उहाँको योजना रहेको छ । उहाँलाई मोटरसाइकल राइडर सहितको एक टोलीले आवश्यक मेडिकल सहितको सुविधा समेत उपलब्ध गराइएको छ । आफ्नो व्यक्तिगत खर्चमा उक्त दौड पूरा गर्ने उहाँको लक्ष्य रहेको छ ।

कास्की रूपा गाउँपालिका १ फल्याङकोट निवासी ४४ वर्षीय गोदार नेपालको निकै चर्चित रुटमा पर्ने काठमाडौँदेखि पोखरासम्मको क्षेत्रमा सडक दुर्घटना बढी भएर धेरैको जनधनको क्षेती भएकोले शान्तिको कामना सहित स्वास्थ्यको लागि खेलकुद भन्ने नाराका साथ उक्त दौड पूरा गर्ने अठोट गर्नु भएको बताउनु हुन्छ ।
नेपाली सेनाको हवल्दार पदबाट निवृत भएका गोदार विगत ११ बर्ष देखि युएईको सार्जा पोर्टमा काम गर्दै आउनु भएको छ भने हाल केही दिनको बिदामा नेपाल आएको सन्र्दभमा उक्त दौडमा पुरा गर्ने अभियामना जुट्नु भएको हो । उहाँले हप्तामा कम्तिमा १ सय ५० किलोमिटर दौडदै आउनु भएको थियो । केही समय अघिदेखि काठमाडौँ पोखरा रूटमा दौडेर पार गर्ने लक्ष्य लिनु भएको गोदारले मौसम र प्राविधिक कारणले गर्दा बल्ल समय उपयुक्त भएको बताउनु भएको छ ।
पोखरा म्याराथनमा सहभागी हुने लक्ष्य लिनु भएको गोदारले केही समय अगाडि पोखरामा आयोजना भएको क्रस कन्ट्री पर्वतीय दौड प्रतियोगितामा समेत सहभागी हुनु भएको थियो । आफ्नो एकल दौड भएकोले गर्दा मेडिकल सहित स्वयम सेवकहरु गरी ६ जना आफ्नो दौडको अभियानमा जुट्ने उहाँले बताउनु भयो ।




