धार्मिक एवं पर्यटकीय गन्तव्य विन्ध्यवासिनी मन्दिरमा घटस्थापना देखि नवदुर्गा महोत्सव हुने

-


     पोखरा क्लिक     
     असाेज १४ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,

पोखरा १४, असोज,

धार्मिक एवं पर्यटकीय गन्तव्य विन्ध्यवासिनी मन्दिरमा यस वर्ष पनि विन्ध्यवासिनी नवदुर्गा महोत्सव २०८१ हुने भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा नेपालीहरुको महान पर्व विजयादशमीको अवसरमा घटस्थापना (असोज १७ गते) देखि नवमीसम्म (असोज २५ गते) सम्म उक्त महोत्सव हुने भएको सोमबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत जानकारी गराइएको हो ।

उक्त महोत्सवको उद्घाटनको अवसरमा पोखरामा बृहत शोभा यात्रा निकालिने भएको समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले बताउनु भयो । नेपालका विभिन्न चार्ड पर्वहरुमा विभिन्न गतिविधि गर्दै आएको समितिले २०६४ सालदेखि विन्ध्यवासिनी नवदुर्गा महोत्सवलाई निरन्तरता दिँदै आएको उहाँले बताउनु भयो । घटस्थापनाको दिन असोज १७ गते नवदुर्गा शोभायात्रा निकालिनेछ भने दिउँसो देखि ज्ञानमहायज्ञ सुरु हुने भएको छ ।

शोभायात्रामा नवदुर्गाका ९ रुपमा सिंगारिएका नवकन्यासहितको रथ, झाँकी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्काउट, राष्ट्रिय सेवा दल, बटुकहरु, जलकलशसहित मातृशक्ति, विभिन्न आमा समूहहरु, सामाजिक, धार्मिक, जातीय, सांस्कृतिक, बैंक वित्तीय तथा सहकारी, शैक्षिक संघसंस्था, भजन समूह, उद्योग वाणिज्य तथा वस्तुगत संघ लगायत सर्वसाधारणको उपस्थिति हुने भएको सचिव तिर्थ श्रेष्ठले पोखराक्लिकलाई बताउनु भयो । विगतदेखि शक्तिस्थलका रुपमा पुँजिदै आएको हालको विन्ध्यवासिनी मन्दिर आजभन्दा झण्डै अढाइ शताब्दी पुरानो रहेको अनुमान छ । खासमा विन्ध्यवासिनी यस क्षेत्रको शैक्षिक, स्वास्थ्य, प्राशासनिक, सांस्कृतिक गतिविधिको केन्द्रका रूपमा चिनिने गरेको छ ।

समिति अन्र्तगत विन्ध्यवासिनी गुरुकुल विद्याश्रम पनि सञ्चालित छ । २०५१ सालमा स्थापित विद्याश्रममा कक्षा ६ देखि १० सम्म निशुल्क आवासीयरुपमा अध्यापन कार्य सञ्चालित छ । अशक्त र ज्येष्ठ नागरिकको लागि लिफ्ट सुविधा समेत छ । विन्ध्यवासिनी ज्येष्ठ नागरिक मिलन केन्द्रसमेत संचालन भएको छ भने गत बर्ष बर्ष देखि विन्ध्यवासिनी प्राकृतिक चिकित्सालय संचालन हुदै आएको छ । अघिल्ला बर्षको तुलनामा यस बर्ष पनि दैनिक मन्दिरको भेटि तथा दक्षिणा निकै कम संकलन हुने गरेको समितिले दाबी गरेको । अन्य समयमा दैनिक एक लाखसम्म संकलन हुने भेटि हाल ३८÷४० हजार मात्र संकलन हुने गरेको बताइन्छ ।