साहित्य रत्न कल्याण पन्त र रूना साहित्य पुरस्कार असफल गौतमलाई अर्पण

-


     पोखरा क्लिक     
     भाद्र १ गते २०८१ मा प्रकाशित


पोखरा १, भदौं,

साहित्य रत्न पुरस्कारबाट कल्याण पन्त र रूना साहित्य पुरस्कारबाट असफल गौतम पुरस्कृत हुनु भएको छ । गीताञ्जली साहित्य परिवार पोखरा–११, रामघाटद्वारा सञ्चालित गीताञ्जली साहित्य रत्न पुरस्कार यस वर्ष साहित्यकार पन्त र मुक्तक विधा केन्द्रित रुना साहित्य पुरस्कार साहित्यकार एवं पत्रकार गौतमलाई शनिबार पोखरामा आयोजित एक समारोहबीच अर्पण गरिएको हो ।

साहित्यका माध्यमबाट राष्ट्रियस्तरमा योगदान दिएका स्रष्टालाई प्रोत्साहित गरिने उद्धेश्यले सञ्चालित दुवै पुरस्कारको राशि जनही २५ हजार नगदसहित सम्मान पत्र रहेको अध्यक्ष भानु भण्डारी क्षितिजले बताउनु भयो ।

रुना साहित्य पुरस्कारबाट यस अघि रत्न शमशेर थापा, शंकर ज्ञवाली र लक्ष्मण थापा पुरस्कृत हुनु भएको छ भने गीताञ्जली साहित्य रत्न पुरस्कारबाट तेजनाथ घिमिरे, डा. जगमान गुरुङ, तारानाथ पाखे, डा. नारायणप्रसाद अधिकारी, रुद्रबहादुर थापा, प्रा.डा. कुसुमाकर न्यौपाने, प्रा.डा. जगन्नाथ रेग्मीलगायत सम्मानित भई सक्नुभएको छ ।

चर्चीत लोकदोहोरी गायिका हरिदेवी कोइरालाले उहाँहरूलाई सम्मान गर्दै प्रतिभा छनौट समितिले उचित पात्र छनौट गरेको बताउनु भयो । साथै उहाँले, नेपाली कला, संस्कृति र भाषाको साहित्यिक क्षेत्रबाट संरक्षण गर्नुपर्ने बताउनु भयो ।
गीताञ्जली साहित्य रत्न पुरस्कार संस्थाद्वारा स्थापित-सञ्चालित पुरस्कार हो भने रूना साहित्य पुरस्कार मुक्तकमणि तीर्थराज अधिकारी परिवारद्वारा बाबा नारायणदत्त र आमा रूक्मिणाको स्मृतिमा स्थापित अक्षयकोषबाट सञ्चालित रहेको गीताञ्जली साहित्य परिवारका अध्यक्ष भानु भण्डारी क्षितिजले जानकारी दिनुभयो ।

प्रा.डा. जगन्नाथ रेग्मीको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिको सिफारिसलाई समिति र पुरस्कार संस्थापकले सर्वसम्मत स्वीकृत गरेको थियो ।

राइनास नगरपालिका–८, लमजुङमा जन्मेका कल्याण पन्त लघुकथाका कृति प्रकाशन, अनुसन्धानमूलक लेखन, खगोल तथा ज्योतिष विज्ञान र पत्रकारितामा क्रियाशील हुनुहुन्छ । उप-प्राध्यापकका रूपमा पृथ्वीनारायण क्याम्पसमा प्राध्यापनरत रहनुभएका उहाँसँग विभिन्न ग्रन्थको सम्पादन अनुभवसमेत छ । पन्तका ‘समय सन्दर्भ’ र ‘प्रसाद’ दुई लघुकथा कृति प्रकाशित छन् । यस अघि उहाँ विभिन्न सम्मान पुरस्कारबाट पुरस्कृत हुनु भएको छ ।

पुतलीबजार नगरपालिका–७, स्याङ्जामा जन्मेका असफल गौतम आफूलाई नेपाली वाङ्मय र सञ्चारका क्षेत्रमा सर्जक, सङ्गठक, समालोचक, अन्वेषकका रूपमा स्थापित गराउन साधनारत स्रष्टा हुनुहुन्छ । लोकगीत, समीक्षा, गजल, मुक्तक, हाइकु, इतिहासविधासहित विविध विधाका दर्जन बढी कृति प्रकाशित गरिसकेका उहाँ दर्जनौं सम्मान पुरस्कारबाट विभूषित हुनुहुन्छ ।

स्मरणीय कुरा असफल गौतम, नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र बैंक तथा वित्तिय संस्था परिसंघ नेपालको सहकार्यमा नेपाल बिजनेश इन्स्टिच्यूटद्वारा सञ्चालित देशभरका हजारौं पत्रकार सहभागी राष्ट्रियस्तरको अनुसन्धानात्मक लेख प्रतियोगितामा प्रथम भएर एकलाख नगदसहित पुरस्कृत हुनु भएका पत्रकारसमेत रहनु भएको छ ।

गीताञ्जली साहित्य रत्न पुरस्कारबाट पुरस्कृत प्रतिभा कल्याण पन्तले आख्यान विधाको लघुकथा क्षेत्रमा रहेको आफ्नो क्रियाशीलतालाई थप अगाडि बढाउन सम्मानले प्रोत्साहन मिलेको बताउनु भयो ।

रुना साहित्य पुरस्कारबाट पुरस्कृत प्रतिभा असफल गौतमले आफू साहित्यको विद्यार्थी मात्र रहेको बताउँदै, गौरवपूर्ण संस्थाको सम्मानले आफूलाई थप जिम्मेवार बनाएको धारणा व्यक्त राख्दै संस्था र पुरस्कारका संस्थापकप्रति आभार व्यक्त गर्नुभयो ।


यसैगरी, संस्थाद्वारा बालप्रतिभाको प्रोत्साहनका लागि साहित्यकार तिलक पौडेल स्यार्कोटेद्वारा स्थापित तुलसी मुवा अहिल्या बालप्रतिभा पुरस्कार इडिभा खतिवडालाई प्रदान गरिएको छ । प्रोत्साहन पुरस्कारको राशि एक हजार एक सयसहितको रहेको छ । उक्त पुरस्कारबाट यसअघि स्मृति ओझा, लक्ष्मण आचार्य, सिर्जन ज्ञवाली, दिपशिना पौडेल र पिर्यदर्शन पहारी पुरस्कृत हुनु भएको संस्थाका सचिव नरेन्द्र रानाभाटले बताउनु भयो ।

समारोहमा साहित्यकार वसन्त चालिसेले असफल गौतम र शंकर ज्ञवालीले कल्याण पन्तको व्यक्ति विवरण प्रस्तुत गर्दै सत् पात्रलाई सम्मान गरिएको धारणा राख्नुभयो ।
सोही समारोहबीच, मुक्तकमणि तीर्थराज अधिकारीको १० औं कृति ‘सारवत’ मुक्तकसङ्ग्रहको लोकार्पण गरिएको छ ।
कृतिको समीक्षा गर्दै प्रा.डा जगन्नाथ रेग्मीले नाम जस्तै काम गर्ने एउटा साहित्यिक, सामाजिक तीर्थका रूपमा तीर्थराज अधिकारीलाई चिनाउनु भयो ।
कृतिका सर्जक मुक्तकमणि तीर्थराज अधिकारीले आफूले गर्दै आएका नियमित र निरन्तर कार्यको निरन्तरतामा लाग्दै गरेको बताउनु भयो । उहाँले आफूले उल्लेख कार्य गरे जस्तो नलागे तापनि विभिन्न सम्मान पुरस्कार प्राप्ति हुनुका साथै अनेसास केन्द्रीय समितिबाट साधनाको स्वर्ण वर्ष मुक्तकमणि तीर्थराज अधिकारी कृति प्रकाशित गरिनुका साथै मुक्तकमणि सम्मान अर्पण गरेर आफूलाई प्रोत्साहन गरेकोमा आभार व्यक्त गर्नुभयो ।
नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले साहित्यिक कार्यक्रममा सहभागी हुनु खुला विश्वविद्यालयबाट अथाह ज्ञान आर्जन गर्नु जस्तै रहेको बताउनु भयो ।
पोखरा प्रज्ञा-प्रतिष्ठानका संस्थापक कुलपति पद्मराज ढकालले अधिकारीले आफ्नो पेन्सनबाट आएको रकम सेवाका क्षेत्रमा खर्च गरेर साहित्य सिर्जनाका क्षेत्रमा अतुलनीय योगदान पु¥याउनु भएको उल्लेख गर्नुभयो । साथै, उहाँले नेपाली साहित्यलाई विश्व साहित्यमा पु¥याएर विभिन्न सम्मान पुरस्कारबाट पुरस्कृत अधिकारीका गीतमा आफूले पनि स्वर दिन पाउनु गौरवको विषय रहेको बताउनु भयो ।

समारोहमा, संगम सांस्कृतिक परिवारका कलाकारले सांस्कृतिक प्रस्तुतीसमेत राखेका थिए । धर्मराज पौडेल अल्पायु, चन्द्रावती वाग्लेलगायतले शुभकामना मन्तव्य तथा रचनाप्रस्तुत गनुभएको थियो ।