
काठमाडौँ, भदौ १८,
बक्सिङका चन्द्रबहादुर थापा मगर र कराँतेकी एरिका गुरुङ एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८२ का सर्वश्रेष्ठ खेलाडी बनेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च९एनएसजेएफ० ले बिहिबार भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको ब्लू पभेलियन हलमा आयोजना गरेको स्पोट्र्स अवार्डको २३ औँ संस्करण कार्यक्रममा चन्द्रबहादुरले वर्षका उत्कृष्ट पुरुष र एरिकाले वर्षकी उत्कृष्ट महिला खेलाडीको अवार्ड जितेका हुन् ।

एरिका लगातार तेस्रो पटक वर्ष महिला खेलाडी घोषित भएकी हुन् । यसैगरी कराँतेकी मनिषाकुमारी बोहरा वर्षकी उत्कृष्ट युवा खेलाडी, कराँतेका कुशल श्रेष्ठ वर्षका उत्कृष्ट प्रशिक्षक र भलिबलकी मिना सुनारले पिपल्स च्वाइसको अवार्ड जिते । यी पाँचै विधाका विजेताले पल्सर बाइक मोटरसाइकल पुरस्कार प्राप्त गरे । यसैगरी अन्य चार विधा पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डबाट सम्मानितलाई जनही एक लाख रुपियाँ पुरस्कार प्रदान गरियो ।

संयुक्त अरब इमिरेट्सको दुबईमा सम्पन्न अन्तर्राष्ट्रिय बक्सिङ महासंघ (आइबा) पुरुष विश्व च्याम्पियनपसिपमा काश्य पदक जितेर इतिहास बनाएपछि चन्द्रबहादुर उत्कृष्ट वर्ष खेलाडीको हकदार बनेका हुन् । उनी विश्व बक्सिङमा पदक जित्ने पहिलो र एक्लो नेपाली बक्सर हुन् । यस अवार्डका लागि दीपेन्द्रसिंह ऐरी (क्रिकेट), सोमबहादुर कुमाल (एथ्लेटिक्स), प्रदीप बैजाली मगर (कराते) र सद्भाव आचार्य (गल्फ) पनि मनोयनमा परेका थिए । गोल्छा समूहका अध्यक्ष अमिताभ अग्रवालले चन्द्रबहादुरलाई अवार्ड प्रदान गरे ।

वर्षकी उत्कृष्ठ महिला खेलाडी २०८२ विधामा एरिकाले करातेकै सानुमाया थिङ र सविना श्रेष्ठ, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, फुटबलकी साबित्रा भण्डारी ९साम्बा० लाई पछाडि पारिन् । एरिकाले गतवर्ष मोरक्कोको रावतमा सम्पन्न कराते वान प्रिमियर लिगको ६८ केजीमाथि तौल समूहमा काश्य पदक जित्न सफल भएकी थिइन् । टर्कीको इस्तानबुलमा भएको डब्लुकेएफ कराते वान प्रिमियर लिग रजत पदक, चीनमा सम्पन्न डब्लुकेएफ कराते वान प्रिमियर लिगमा रजत पदक, मलेसियाको क्वालालम्पुरमा सम्पन्न डब्लुकेएफ कराते वान सिरिजमा स्वर्ण र थाइल्यान्ड ओपनमा एकल र टिम फाइटमा स्वर्ण जितेकी थिइन् ।
मनिषा उत्कृष्ट युवा खेलाडी
करातेकी मनिषा कुमारी बोहरा एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको उत्कृष्ट युवा वर्ष खेलाडी बनेकी छन् । उक्त विधामा करातेका रेहान जाबेद, बक्सिङका अर्पिल राना, चेसका पुरुषोत्तम सिलवाल र क्रिकेटका रौनक श्रीवास्तव मनोनयनमा परेका थिए । गत वर्ष मनिषाले चिनमा भएको एसियन २३औं क्याडेट, जुनियर तथा यु–२१ कराते च्याम्पियनसिपमा काश्य पदक जितेकी थिइन् । श्रीलंकामा सम्पन्न नवौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा मनिषाले नेपाललाई दुई स्वर्ण पदक दिलाइन् ।
कुशल उत्कृष्ट प्रशिक्षक
अन्तर्राष्ट्रिय कराँतेमा एरिकालाई सफलता माथि सफलता दिलाउन महत्वपूर्ण भूमिका खेल्ने प्रशिक्षक कुशल श्रेष्ठ एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । गत वर्ष रेहान जाबेद र मनिषा कुमारी बोहोराको उपलब्धिमा पनि उनको विशेष योगदान रहेको थियो । कुशलले एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड जितेको यो दोस्रो पटक हो । दुई वर्ष अगाडीको २१ औं संस्करणमा पनि उत्कृष्ट प्रशिक्षक घोषित भएका थिए । यस विधामा बक्सिङका दीपक महर्जन, करातेका मण्डेकाजी श्रेष्ठ, क्रिकेटका स्टुआर्ट ल र नेत्रहीन महिला क्रिकेट प्रशिक्षक पुरन सिंह खत्री मनोनयनमा थिए ।
सुषमालाई पारा एथलिट सम्मान
नेपाललाई प्रथम दृष्टिविहिन महिला टी २० क्रिकेट को फाइनलसम्म पुर्याउन विशेष योगदान दिने सुषमा तामाङलाई पारा एथलेट सम्मान २०८२’ सम्मान प्रदान गरिएको छ । सुषमा पुर्णरुपमा दृष्टि गुमाएकी अर्थात बी वान क्याटगोरीकी क्रिकेट। हुन् । भारत र श्रीलंकाको सहआयोजनामा भएको पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपको पहिलो संस्करणमा नै नेपाल उपविजेता बन्यो । उनी ’बी वान’ क्याटगोरीको ’प्लेयर अफ द सिरिज’ घोषित भएकी थिइन्।
मल्ललाई स्पेसल अवार्ड
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ मा धु्रवविक्रम मल्ललाई स्पेसल अवार्डबाट सम्मान गरिएको छ ।
२०४८ सालमा आफुले खोलेको बालाजु कराते डो एकेडेमीमार्फत मल्लले एक से एक उत्कृष्ट अन्तर्राष्ट्रिय कराते खेलाडीहरु जन्माएर आफूलाई अब्बल प्रशिक्षक सावित गरेका छन् । एसियाली खेलकुदका काश्य जित्ने विमला तामाङदेखि साग खेलकुदमा स्वर्ण पदक दिलाउने दर्जनौं पदकधारी खेलाडी उनले नेपाली करातेलाई दिएका छन् ।अल्ट्रा म्याराथन मिरा राई जस्ता विश्व चर्चित खेलाडी उनका उत्पादन हुन्। उनी खेलाडीलाई सिकाउने मात्र होइन, आर्थिक अभाव भएकाहरुलाई निशुल्क रुपमा पढाउने, हुर्काउने र अन्तर्राष्ट्रिय प्रतियोगिता सम्म पुर्याउने गरिरहेका छन् ।
शाहीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड
ब्याडमिन्टनमा जीवन समर्पण गर्ने कुमार मोहन बहादुर शाही एनएसजेएफ लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन्।
८३ वर्षीय शाही एसियाली खेलकुद खेल्ने ब्याडमिन्टनका पहिलो पुस्ताका खेलाडी हुन् । उनी ब्याड्मिन्टनसँगै फुटबल, टेबल टेनिस, टेनिस र ब्याडमिन्टनका उम्दा खेलाडी थिए । सन् १९७२ मा भएको आमन्त्रण ब्याड्मिन्टन प्रतियोगितामा शाही त्यतिबेलाका विश्व नम्बर एक खेलाडी चिनका ली लाई पराजित गरेका थिए। उमेरले पाकोपन भएपनि कोर्टसँगको उनको सम्बन्ध टुटेको छैन। उनी अझै ¥याकेट समातेर कोर्टमा उत्रिन्छन् । उनको यो अनवरत यात्रा नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत बनेको छ ।
मीनाले जितिन् पिपल्स च्वाइस
भलिबलकी मीना सुनारले यस वर्षको पिपल्स च्वाइसको अवार्ड जितेकी छन् । खल्ती बाइ आइएमइबाट प्राप्त भोटिङ, मञ्चका सदस्यको मत, फेसबुक लाइक र प्रमुख प्रशिक्षकको मतका आधारमा मिना विजेता बनेकी हुन् । उनलले सर्वाधिक २९.४ प्रतिशत मत प्राप्त गरेकी थिइन् । यस अवार्डको मनोनयनमा एमएमए फाइटर रविन्द्र ढाँट, फुटबलकी पुजा राना, कराँतेकी सानुमाया थिङ र क्रिकेटका शेर मल्ल पनि प्रतिस्पर्धामा थिए । दोस्रो स्थानमा रहेका रविन्द्रले २४.५३ प्रतिशत मत र तेस्रो रहेका रहेकी सानुमायाले १८।४८ प्रतिशत मत प्राप्त गरे ।
नायकनलाई एसियन स्पोर्ट्स जर्नलिस्ट्स अवार्ड
एनएसजेसफले हरेक वर्ष एसिया भरिबाट एकजना खेल पत्रकारलाई सम्मानित गर्दै आएको छ । यस वर्ष भारतका खेल पत्रकार सबा नायकन एसियन स्पोर्ट्स जर्नलिस्ट्स अवार्डबाट सम्मानित हुनुभएको छ । अन्तर्राष्टिय स्पोर्ट्स जर्नलिस्ट फेडरेसन्स एआइपिएसका केन्द्रीय सदस्य तथा एआइपिएसका उपाध्यक्ष नायकनसँग दि हिन्दु, इन्डियन एक्सप्रेस र टेलिग्राफमा काम गरेको अनुभव छ । उहाँको अवार्ड एआइपिएस एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशीले ग्रहण गरेका थिए ।
अवार्डको निरन्तरताले खेलाडीको मनोबल बढाएको छ ः मन्त्री पोखरेल
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड आयोजनामा निरन्तरताले खेलाडीलाई वर्षौदेखि मनोबल दिँदै आएको बताएका छन् । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को समारोह कार्यक्रममा मन्त्री पोखरेलले यो अवार्ड वर्षौदेखि खेलाडीहरूका लागि मनोवल वृद्धिको माध्यम बनिरहेको महसुस गरेर आफ्नो मन्त्रालय उपस्थित भएको बताए ।
त्यसैले पनि यस किसिमको कार्यक्रम निरन्तरता आवश्यक महसुस गरेको उनले उल्लेख गरे । विषम् परिस्थितिका कारण अहिले सामान्य रूपमा आयोजना भएको अवार्ड आगामी संस्करण भव्य रूपमा मनाउने मन्त्री पोखरेलले बताएका छन् । उनले २०औं एसियन गेम्स संघारमा रहेकाले सबै खेलका खेलाडीलाई शुभकामना दिँदै राज्यले सीमित श्रोत साधन उपलब्ध गराए पनि खेलाडीले देशको नाम उचो राखेको धारणा व्यक्त गरे । खेलकुदको विशेष महत्व रहेको भन्दै मन्त्री पोखरेलले अहिले केही खेलकर्मी बाढी पीडित क्षेत्रमा पनि खटेको भन्दै प्रशंसा गरेका छन् ।
बाढी पीडितका कारण धेरै विद्यालय पूर्ण क्षति भएको र खेलकुदमा पनि त्यसको असर परेको उनले बताए । परिवार र समाज नै गुमाएको अवस्थामा खेलकुदले मानसिक स्वास्थ्यमा मनोबल बढाउने मन्त्री पोखरेलले आशा व्यक्त गरे । अहिले खेलकुद कर्मी बाढी पीडित क्षेत्रमा खटिएको हुँदा सबैलाई उनले धन्यवाद दिए । विभिन्न खेल संस्थाले विपित परिस्थितमा आर्थिक सहयोग पु¥याएको भन्दै मन्त्री पोखरेलले प्रंशसा गरेका छन् । उनले रसुवामा गएको बाढीबाट धेरै जनधनको क्षतिमा हुँदा अहिले देश विषम् परिस्थितिबाट गुज्रिरहेको र शोकमा डुबेको बताए ।
भदौ २२ गते देशको झन्डा आदी झुकाउने निर्णय गरेको जानकारी दिए । अहिले सरकार र राज्यका विभिन्न निकायहरू उद्दारमा नै केन्द्रीत भइरहेको मन्त्री पोखरेलले उल्लेख गरे । अहिले आफ्नो मातहतको मन्त्रालयको प्रभावित क्षेत्रमा शिक्षा र खेलकुदलाई कसरी अस्थायी निकासामा ध्यान दिएको उनको भनाइ छ । सबै जना एकजुट भएर देश पुर्नत्थानमा जोड्न मन्त्री पोखरेलले आग्रह गरेका छन् ।




