
पोखरा,
नेपाल दलित मोर्चा गण्डकी प्रदेश समितिको एकता बैठक बिहीबार पोखरामा सम्पन्न भएको छ। ‘नेपाली विशेषताको वैज्ञानिक समाजवादको आधार, राज्यका सबै निकायमा दलितका लागि विशेषाधिकार’ भन्ने नारासहित सम्पन्न बैठकले कुबिर बि।क।लाई संयोजक र टंक बि।क।लाई सहसंयोजक चयन गरेको छ।
बैठकमा नेपाल दलित मोर्चाका केन्द्रीय इन्चार्ज तथा प्रतिनिधि सभा सदस्य गणेश बि।क।ले दलित समुदायको सर्वाङ्गीण विकासका लागि दलित विकास प्राधिकरण गठन गर्नुपर्नेमा जोड दिए। संविधान सभा सदस्य परशुराम रम्तेलले दलितको विशेषाधिकार सुनिश्चित गर्न निरन्तर संघर्ष आवश्यक रहेको बताए।बैठकले गण्डकीका ११ वटै जिल्लाका दलित भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पुनर्स्थापना, दलित अधिकार ऐनअनुसार संरचना गठन, राज्यका विभिन्न निकायमा दलितको अनिवार्य सहभागिता तथा जातीय विभेदका घटनामा दोषीमाथि कारबाही गर्न माग गरेको छ।
त्यस्तै, बाढीपहिरोमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली, घाइतेको निःशुल्क उपचार तथा बेपत्ताको खोजी–उद्धार तीव्र बनाउन सरकारसँग माग गर्दै बैठकले संविधान संशोधनअघि राजनीतिक दल तथा सरोकारवालासँग सार्थक परामर्श गर्नुपर्ने प्रस्तावसमेत पारित गरेको छ।




