गण्डकी प्रदेशमा ९७.५० प्रतिशत धान रोपाई सम्पन्न, कुन जिल्लामा कति प्रतिशत !

-


     पोखरा क्लिक     
     श्रावण २९ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,
पोखरा २९, साउन,

यस बर्ष लगातार जसो बर्षा हुँदा कास्की सहित गण्डकी प्रदेशका अन्य जिल्लामा ९७.५० प्रतिशत धान रोपाई सम्पन्न भएको छ । यही साउन २७ गतेको तथ्याङको आधारमा गण्डकी प्रदेशमा ९७.५० प्रतिशतले ९३ हजार ६ सय ५१ हेक्टर क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको गण्डकी प्रदेशको कृषि बिकास निर्देशनालयले पोखराक्लिकलाई जनाएको छ ।

यस बर्ष गण्डकी प्रदेशका दुई जिल्ला लमजुङ र म्याग्दीमा शतप्रतिशत धान रोपाई भएकोे गण्डकी प्रदेशको कृषि बिकास निर्देशनालयका कृषि प्रसार अधिकृत एवं सूचना अधिकारी विनोद शर्माले बताउनु भयो । गण्डकी प्रदेशमा ४ लाख ७९ हजार ६ सय १७ हेक्टर क्षेत्रमा खेतियोग्य जमिन रहेकोमा बर्षे धान रोप्न योग्य क्षेत्रफल भने ९६ हजार ५३ हेक्टर मात्र जमिन रहेको उहाँले जनाउनु भयो ।

गण्डकी प्रदेशका ११ जिल्ला मध्य हिमालपारीका दुई जिल्ला मनाङ र मुस्ताङमा धान खेति खासै हुने गरेको छैन् । प्रदेशका ९ जिल्ला मध्य हालसम्म दुई जिल्ला लमजुङ र म्याग्दीमा शतप्रतिशत धान रोपाई भएको छ भने नवलपरासि र गोर्खामा ९४ प्रतिशत मात्र धान रोपाई भएको उहाँले जनाउनु भयो ।

गोर्खामा १० हजार १ सय ४० हेक्टर क्षेत्रफलमा धान रोपाई हुदै आएको छ भने हालसम्म ९४.३० प्रतिशत धान रोपाई भएको कार्यालयले जनाएको छ । लमजुङमा ११ हजार ८ सय ७५ हेक्टरमा र म्याग्दीमा पनि शतप्रति धान रोपाई हुँदा ३ हजार ७ सय ४१ हेक्टर क्षत्रफलमा धान रोपाई भएको छ ।

त्यस्तै तनहुँमा ९९.०० प्रतिशतले ७ हजार ५ सय ९७ हेक्टर क्षेत्रफलमा धान रोपाई भएको छ भने कास्कीमा ९८.९६ प्रतिशतले १६ हजार ५० हेक्टर क्षेत्रफलमा धान रोपाई भएको कार्यालयका कृषि अधिकृत रन्जना पोखरेलले पोखराक्लिकलाइ बताउनु भयो ।

पर्वतमा ९९.०० प्रतिशतले ७ हजार ४ सय ५०, स्याङजामा पनि ९९.०० प्रतिशतले १४ हजार २ सय ४६ र बागलुङमा ९७ प्रतिशतले ५ हजार ५ सय ३६ हेक्टर क्षत्रफलमा धान रोपाई भएको उहाँले जनाउनु भयो । कास्कीमा प्रायः गरी जेठोबुढो, पहेले, एक्ले, खुमल ४, १०, गौरिया, बयर्नी, सेतो र लामो भिनुवा, मार्सी, बिरिमफुल, कालो र टुंडे झिनुवा, वर्णशंकर–यू एस ३१२ लगायतका जातका धान खेति हुदै आएको छ ।



This will close in 20 seconds