पहिरोमा परी आमा, बाबु सहित परिवार गुमाउनु भएको पवन परियारलाई स्वदेश तथा विदेशबाट ३४ लाख संकलन

-


     पोखरा क्लिक     
     श्रावण २६ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,

पोखरा २६,, साउन,

दीदी बाहेक पोखरामा पहिरोमा परी परिवारका सबै सदस्य गुमाउनु भएका पोखरा १९ का पवन परियारको आवास निर्माणको लागि स्वदेश तथा विदेशबाट सहयोग रकम आउने क्रम जारी रहेको छ । पोखरा महानगरपालिका वडा नं.१९ मा गत असार २७ गते राति १०ः०० बजे गएको पहिरोमा परि परिवारका दीदी बाहेक सबै सदस्यहरू गुमाउनु भएका परियारलाई स्वदेश तथा विदेशबाट रकम आउने क्रम जारी रहेको पोखरा १९ का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डेले पोखराक्लिकलाई बताउनु भयो ।

उहाँका अनुसार परियारको राहत स्वरुप हालसम्म ३४ लाख राहत संकलन भएको छ । विभिन्न लायन्स क्लवहरुबाट १७ लाख, जिल्ला प्रशासन कार्यालय कास्कीबाट ५ लाख, जापानमा रहनु भएको पोखरा १९ का स्थानियको बिषेश पहलमा संकलित २ लाख रुपैया पवन परिवारले प्राप्त गर्नु भएको अध्यक्ष पाण्डेले जनाउनु भयो । पवनको दिदी भेना सहित पहिरोमा परी निधन भएकोले दुई परिवारको रुपमा पोखरा महानगरपालिकाले जनही ५०÷५० हजारको दरले सहयोग गर्ने भएको छ ।

पवन परियारलाई पछिल्लो समयमा अमेरिकामा रहेका पोखरा १९ का बासिन्दाहरूले सङ्कलन गरी पठाएको ८ लाख २ हजार २ सय रुपैया राहत रकम सहयोग प्राप्त भएको छ । उक्त रकम पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले हालै आयोजित एक समारोहका बिच पहिरो प्रभावित परियारलाई हस्तान्तरण गर्नु भएको हो ।

पहिरोका कारण अभिभावकत्व गुमाउनु भएको परियारको पठनपाठन सहयोगार्थ पोखरा महानगरपालिकाले थप व्यवस्थापन गर्ने मेयर धनराज आचार्यले बताउनुभयो । राहत वितरण कार्यक्रममा मेयर आचार्य सहित पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिना, पोखरा १९ का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डे लगायत वडाका जनप्रतिनिधिहरू, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, अमेरिका बस्ने १९ बासीका आफन्तहरू, स्थानीय बासिन्दाहरू लगायतको उपस्थिति रहेको थियो ।

असार २७ गते राति गएको पहिरोमा परि जापानमा रहेकी एक दीदी बाहेक सबै ५ जना सदस्य गुमाउनु भएको परियारको आवास निर्माणमा सहयोग गर्ने गरी सहयोग रकम आउने क्रम जारी रहेको अध्यक्ष पाण्डेले जनाउनु भयो । उहाँका अनुसार परियारको रहात स्वरुप हालसम्म करिब ३४ लाख रुपैया आर्थिक संकलन भएको छ ।

पोखरा १९ पुरुन्चौरका तल्लोकोट टारीका ४६ बर्षका कुल बहादुर परियार उहाँका छोरी ज्वाई स्याङजा निवासि २५ बर्षका अस्मित परियार, कुलबहादुरकी ४३ बर्षकी श्रीमती मनकुमारी परियार, कुलबहादुरकी आमा ८५ बर्षकी लक्षिमा परियार, १५ बर्षकी छोरी प्रशना परियार, स्याङजा घर भई माइत आउनु भएको समयमा छोरी २० बर्षकी प्रभा परियारको मृत्यु भएको थियो ।