दाँत सचेतनाको ज्योति बाल्दै स्वयम्सेवी संस्था

- दन्त शिविरको तेस्रो दिनसम्म २६० लाभान्वित

-


     असफल गौतम    
     श्रावण १५ गते २०८१ मा प्रकाशित


नेपाली समाजमा दाँतको सचेतनाप्रतिको दृष्टिकोण कमजोर त छनै । दाँतमा समस्या देखिए तापनि अन्देखा गरेर बस्ने परम्परा पनि दिन प्रतिदिन बढ्दो क्रममा रहेको छ ।

यसका पछाडि विविध कारण छन् । किनकि, एक त प्रत्येक नागरिकमा दाँतप्रतिको दृष्टिकोणमै समस्या छ । अर्कोतर्फ उपचार पद्धति पनि खर्चिलो । यी कारणले रोग लागेर उपचार भन्दा पनि दबाएर बस्न बाध्य भएको अवस्था छ ।
यस्तै अवस्थाका दाँतका बिरामी आइतवारदेखि कास्कीको पुरुन्चौरमा सञ्चालित दन्त तथा कानको सचेतना शिविरमा फेला परेका छन् ।

यो सबै कुराको चाँजोपाँचो भने राज्यले नभएर स्वयम्सेवी संस्थाले मिलाएका हुन् ।

भारती भवन माध्यमिक विद्यालयको प्राङ्गणमा नेपाल रेडक्रस सोसाइटी पोखरा–१९ उपशाखा र नेलम्बो नेपालको आयोजनामा सञ्चालित शिविर बिहीवारसम्म सञ्चालन हुने कार्यक्रम संयोजक माधवप्रसाद गौतम बताउँछन् ।
साउन १३ गतेदेखि सञ्चालित उक्त शिविरमा पहिलो दिनमा ८३ जना दोस्रो दिनमा ८७ जना र तेस्रो दिनमा ९० जनाले सेवा लिएका छन् ।

दाँतका विषयमा रहेको अनविज्ञता, उपचार प्रक्रिया र पद्धतिबाट विद्यार्थी तथा शिक्षक निकै लाभान्वित भएको भारती भवन युवा रेडक्रस सर्कल शिक्षक नायक वासुदेव तिवारी बताउँछन् ।
तिवारीले थपे– विद्यार्थीमा केही वर्षदेखि नै समस्या देखिएर पनि उपचारतर्फ नलागेको अवस्थामा विद्यार्थी केन्द्रित शिविरले विद्यालय परिवारलाई ठूलो राहत मिलेको छ ।
नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले नेपालमा अन्य शिविर भन्दा दन्त शिविर आर्थिक र प्राविधिक हिसाबले खर्चिलो, बढी परिश्रम पर्ने भए तापनि स्वास्थ्य सचेतनामा दाँतको सचेतना निकै महत्वपूर्ण भएकाले लक्षित वर्गका लागि शिविर सञ्चालन गर्दै आएको बताए ।

शिविरमा दाँतको परीक्षण, दाँत निकाल्ने, दाँत भर्ने, दाँत सफा गर्ने, दाँतको जरैदेखि उपचार गर्ने, दाँतको एक्सरे गर्ने, गिजाको उपचार गर्नेलगायत दाँतसम्बन्धी सम्पूर्ण सचेतना कार्यक्रम सञ्चालन गरिएको र कानका बारेमा पनि सचेतना गरिएको डा दीक्षा क्षत्री बताउँछिन् ।
डा. दीक्षा क्षत्रीको नेतृत्वमा शमिका बस्नेत, रुपेश गुरुङ, प्रतिक्षा बस्नेत, अञ्जु वि.क. रितिक च्वाइँ र मुक्तबहादुर माल र स्वास्थ्यकर्मी विपना थापासहित आठ जना स्वास्थ्यकर्मीको टोली शिविरमा खटिएको नेलम्बो नेपालका कार्यक्रम संयोजक भीमप्रसाद भण्डारी बताउँछन् ।

शिविरमा १२ जनाको जरैदेखिको उपचार भइसकेको र ५ जनाको उपचार दोस्रो चरणमा चलिरहेकोसमेत कार्यक्रम संयोजक भण्डारीले पोखरा क्लिकलाई जानकारी दिए ।
शिविर सम्पन्न गर्न वडा कार्यालय, नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको पनि सहकार्य रहेको सोसाइटीका सल्लाहकार सविन जिसीले जानकारी दिए ।
शिविरको बिहीवार अपरान्ह वडाध्यक्ष पुष्पेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा समापन गर्ने तयारी रहेको उपशाखा सभापति नवराज पौडेल बताउँछन् ।

स्मरण रहोस् नेलम्बो नेपालले सञ्चालन गरेको दन्त शिविरको पहिलो चरणको उपचार पनि निश्चित समयपछि फलोअप शिविर पनि सञ्चालन गरेर परीक्षणमा पूर्णता दिँदै आएको छ ।