१९ औं असारे रोपाई महोत्सवमा भलिवल सहितका खेलकुद गतिविधि हुने

-


     पोखरा क्लिक     
     असार १२ गते २०८१ मा प्रकाशित



दीननाथ बराल,
पोखरा १२, असार,

१९ औं संस्करणको असारे रोपाई महोत्सव २०८१ मा हिलोमा भलिवल सहितका विभिन्न खेलकुद प्रतियोगिता हुने भएको छ । पोखरा पर्यटन परिषदको आयोजनामा पोखराको फेवाफाँटमा हुने उक्त महोत्सवमा हिलोमा भलिवल, हिले दौड, पत्रकारको लागि हिले दौड, लगायतका प्रतियोगिता हुने भएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।

हिलोमा हुने भलिवल प्रतियोगितामा बिजेता टिमले १२ हजार र उपविजेताले ६ हजार प्राप्त गर्ने भएको परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनु भयो । रस्सा कसी तर्फको प्रतियोगिताको विजेतालाई ५ हजार र दोश्रो हुनेलाई ३ हजार प्रदान गरिने भएको महोत्सव संयोजक तारानाथ पहारीले बताउनु भयो । खेतियोग्य जमिनलाई संरक्षण गरि बाजो जग्गामा खेति गर्न प्रोत्साहन गर्न उक्त महोत्सवले सहयोग पुग्ने उहाँले जनाउनु भयो । कृषि क्षेत्रको प्रबर्द्धन सहित पर्यटन क्षेत्रको बिकासमा टेवा पुग्ने उद्वेश्यले उक्त महोत्सव हुने भएको “पोखरा सबै मौसमका लागि भन्ने मूल नाराका साथ “रोपाई महोत्सव“ विगतका बर्ष देखि पोखरा क्षेत्रका विभिन्न स्थानहरुमा उक्त महोत्सव आयोजना गर्ने क्रममा यस बर्ष फेवाफाँटमा उक्त महोत्सव मनाउने भएकोे अध्यक्ष श्रेष्ठले उल्लेख गर्नु भयो ।

पोखरा वरिपरि भएका खेती योग्य जमिनलाई संरक्षण गर्दै लैजाने, कृषकलाई आफ्नो पेशा प्रति उत्प्रेरित गर्नका साथै असार १५ का दिन “हिलोमा एक पटक त टेक्न् पर्छ है“ भन्ने भनाइलाई समेत जीवन्त तुल्याउने अभिप्रायले उक्त महोत्सवलाई निरन्तरता दिएको अध्यक्ष श्रेष्ठले जनाउनु भयो । महोत्सवमा करिब ४ सय बिदेशी पर्यटक सहभागी हुने भएको अध्यक्ष श्रेष्ठले दाबी गर्नुभयो । महोत्सवमा करिब १० हजार पर्यटक सहभागी गराउने आफुहरूको लक्ष्य रहेको उहाँले जनाउनु भयो । स्थानीय देविलाल लामिछानेले फेवाफाँटमा उत्पादन हुने जेठोबुढो धान उत्पादनमा कमी हुँदै आएको बताउनु भयो । उक्त महोत्सव आफ्नो क्षेत्रमा हुनुले खेतियोग्य जमिनलाई बाजो नराख्न सहयोग पुग्ने उहाँले जनाउनु भयो ।

कृषिप्रधान मुलुक नेपाल र कृषि बाली मध्ये धान मुख्य बाली संगै नेपालका अधिकांश जनताहरुका भान्छाको प्रमुख परिकार हो । त्यसमाथी जेठो बुढो पोखराको पहिचान बनेको छ । तिव्र शहरीकरणमा कारण मुख्य खाद्यान्न बालीका रूपमा प्रयोग गरिंदै आएको धान खेती विगतका केही समय यता खस्कंदै गरेको अवस्थामा छ । बिरुवा फाँट, कुंडहर फाँट, चाच्छेवढ्या, सेदिवगर, फेवा फाँट, अर्मला फाँट, महतगौडा, लामाचौर, लेखनाथ, काहुँखोला, पामेफटि जस्ता पोखरा महानगरपालिका भित्रका खेती योग्य जमिनको खण्डीकरणले उत्पादनमा ह्रास आईरहेको छ । खेती योग्य जमिनसंगै सिमसार, रामसार क्षेत्रको संरक्षण प्राकृतिक पोखराको सौन्दर्यलाई जोगाउन चुनौती बन्दै गईरहेको छ । यसको जगेर्नाको लागि सन्देश दिन पनि पोखरा पर्यटन परिषदले विगतमा जस्तै यस वर्ष असारे रोपाई महोत्सव आयोजना निरन्तरता दिन गइरहेको परिषदले जनाएको छ ।समितिको सह–संयोजकमा हरिराम अधिकारी र जीबनराज सापकोटा रहनु भएको छ ।

परिषद तथा स्थानीय आयोजकको रूपमा पोखरा महानगरपालिका वडा नं २३ मार्गी. बगर टोल विकाश संस्था रहेका छन। कार्यक्रमको प्रवर्द्धकक रूपमा गण्डकी प्रदेश सरकार नेपाल पर्यटन बोर्ड तथा पोखरा महानगरपालिका रहेका छन् । महोत्सवमा सास्कृतिक तथा मनोरन्जनात्मक कार्यक्रम हुने भएको छ । नेपाली ख्याती प्राप्त राष्ट्रिय कलाकार समिक्षा अधिकारी, प्रजापति पराजुली, निर्जला गुरुङ्ग, बालकाशी गुरुङ्ग लगायतको प्रस्तुती रहने भएको महासचिव सञ्जयकान्त सिग्देलले बताउनु भयो ।