पोखरा, ११ असार,
पोखरामा सोमवारदेखि शुरु भएको पाँचौं गिरिजाप्रसाद कोईराला राष्ट्रिय पुरुष हक्की च्याम्पियनसिप अन्तरगत मंगवारका खेलमा विभागीय टोली हावी भएका छन् । पोखरा रंगशाला स्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको प्रतियोगिताका खेलहरुमा विभागीय डर्बीको नेपाली सेनाले मधेश प्रदेशलाई ६–० गोल अन्तरले पराजित गर्यो । नेपाली सेनाका लागि दीपेन्द्र अयर प्रदीप राजवंशी, राजेन्द्र कार्कीले गोल गरेका थिए । सो खेलमा नेपाली सेनाका रोशन चौधरी प्लेयर अफ द म्याच भए ।
यसैगरी अर्को खेलमा नेपाल प्रहरीले कोशी प्रदेशलाई ४–१ गोल अन्तरले पराजित गर्यो । पुलिसका लाग महेश धामी, सागर आचार्य, रोमन राणा र सुरज बोहोराले गोल गरेका थिए । कोशी प्रदेशको तर्फबाट रिसब चौधरीले एक मात्रै गोलले अग्रता दिलाएका थिए । सो खेलमा नेपाल प्रहरीका महेश धामी प्लेयर अफ द म्याच बने ।
यसैगरी अर्को खेलमा कर्णाली प्रदेशले वागमती प्रदेशलाई २–० गोेल अन्तरले पराजित गरेको छ । कर्णालीका लागि दुवै गोल जीवन रावतले गरेका थिए । खेलमा रावत नै प्लेयर अफ द म्याच घोषित भए । अर्को खेलमा गण्डकी प्रदेशले लुम्बिनी प्रदेश विरुद्ध फराकिलो जीत हात पारेको छ । गण्डकीले लुम्बिनीलाई १०–० गोल अन्तरले पराजित गरेको हो । गण्डकीका लागि असिम बहेकले ३ गोल गरेका थिए । यसैगरी पवन परियार, कुशल नेपाली, प्रेम बिके तथा मोहन पुनले गण्डकीलाई सहज जित दिलाएका थिए ।
सो खेलमा गण्डकीका कुशल नेपाली प्लेयर अफ दि म्याच भए । सोही प्रतियोगिता अन्तरगत भएको अर्को खेलमा पनि कर्णाली प्रदेश विजयी बनेको छ । कर्णालीले मधेश प्रदेशलाई २–० गोल अन्तरले पराजित गरेको हो । कर्णालीको लागि उज्जवल राजत र जीवन रावतले गोल गरेका थिए भने, उज्जवल रावत प्लेयर अफ दि म्याच घोषित भएका थिए । मंगलवार नै भएको अर्को खेलमा नेपाल प्रहरीले लुम्बिनी प्रदेशलाई ८–१ गोल अन्तरले पराजित गरेको छ । नेपाल प्रहरीका लागि रोमन राना, सागर आचार्य, महेश धामी, सुरेश जोशीले गोल गरेका थिए भने, लुम्बिनीका लागि अदनाल अन्सारीले एकमात्र गोल गरेका थिए ।
नेपाल हक्की संघको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा भएको प्रतियोगितामा विभागीय दुई नेपाली सेना र नेपाल प्रहरी तथा छ वटा प्रदेशका टीमको सहभागिता रहेको छ । प्रतियोगितामा गण्डकी प्रदेश हक्की संघले व्यवस्थापनको पाटो हेरिरहेको छ । प्रतियोगिताको विजेताले ५० हजार नगद, उप विजेताले ३० हजार र तेस्रो हुने टीमले १५ हजार नगद ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । खेलाडीले विभिन्न ७ वटा विधामा ५÷५ हजार नगद पुरस्कार व्यक्तिगत रुपमा प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताका विजेता तथा उपविजेता टीमलाई बुधवारको फाईनल पछि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्ने आयोजकले जनाएको छ ।